बढ्दै महंगी
आर्थिक वर्ष २०७५/७६ को सरकारी बजेट र मौद्रिक नीतिले उपभोक्ता मुद्रास्फितिलाई ६.५ प्रतिशतको सीमा भित्र राख्ने लक्ष्य लिएको भएतापनि महंगी यो सीमा भन्दा धेरै बढी हुने देखिन्छ । कम्जोर आन्तरिक उत्पादन, बढ्दो मुनाफाखोरी, बिचौलिया व्यापारीहरुको मनोमानी र सरकारी ढुलमूल नीतिहरूले वस्तु तथा सेवाहरुको मूल्य बढ्ने क्रममा रहेको छ । नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वको मुख मै दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रुपमा बढाईएको छ । अर्कोतर्फ अमेरिकी डलर भारतीय मुद्राको तुलनामा बलियो हुँदै गएको र भारतीय तथा नेपाली मुद्राको स्थिर विनिमय दरका कारण नेपाली मुद्रा पनि अमेरिकी डलरको तुलनामा हाल सम्मकै सबैभन्दा कमजोर हुँदै गएकाले भारत वा तेस्रो मुलुकबाट आयातित सम्पूर्ण वस्तु तथा सेवाको मूल्य आगामी दिनहरुमा अझै आकाशिने निश्चित नै छ ।
अमेरिकी डलर बलियो र नेपाली रुपियाँ कमजोर हुँदा आया महँगो र निकाशी प्रोत्साहित हुने हो । तर हाम्रो देशमा निर्यात भन्दा आयात १७ गुणा बढी भएकाले फाइदा भन्दा नोक्सान बढी हुने देखिन्छ । मूल्य अभिवृद्धि न्यून भएका निकाशीजन्य उधोगहरु समेत महँगो डलरको कारण उत्पादन लागत बढ्न गइ प्रतिस्पर्धा गर्न नसकी समस्यामा पर्न सक्ने देखिन्छ । अर्कोतर्फ, देशले विगतमा लिएका बैदेशिक ऋणहरुको सावाँ तथा ब्याजमा खर्च विनिमयदरको कारण बढ्ने देखिएकाले यसले चालु आर्थिक वर्षको बजेट खर्चमा पनि वृद्धि हुने निश्चित छ । उपभोग्य वस्तुहरुको आन्तरिक उत्पादन बढाई आत्मा निर्भर हुने र आयातित वस्तुहरुको मोह घटाउँदै लगिएमा कम आय भएका जनता बढ्दो महंगीको मारबाट केहि जोगिन सक्थे होला ।

No comments