अब आर्थिक क्रान्ति !
देशमा गणतान्त्रिक शासन व्यवस्था बहाल भएको छ । नयाँ संविधान अनुरुप संघ, प्रदेश र स्थानीय निकायको चुनाव हालै सफलता पूर्वक सम्पन्न भएको छ । छिमेकी राष्ट्र भारतका प्रधानमन्त्रीद्वारा केहि दिन अघि मात्र भएको नेपाल भ्रमणका क्रममा एक वर्ष भित्र तीन तहको चुनाव सम्पन्न गर्न सफल भएकोमा नेपालको मुक्तकण्ठले प्रसंशा गर्नुहुँदै बधाई समेत दिनु भएको थियो ।
आधा शताब्दी भन्दा बढी अवधि पछी मुलुकले दुई तिहाईंको नजिक बहुमत पाएको सरकार केन्द्रमा पाएको छ । खुला बजारमुखी र प्रतिस्पर्धी अर्थ व्यवस्था हामीले अंगाली सकेकाले शासनमा वामपन्थी या दक्षिणपन्थी जो सुकै रहेता पनि नीति एउटै हो । सुशासन, विकासप्रतिको दूरदृष्टि, उत्पादनमुखि योजनाहरु जस्ता मुलुकलाई विकासशील पथमा डो¥याउने आधारहरुलाई समयबद्ध कार्यान्वयनमा जोड दिन सकेमा मुलुकले छोटो समयमा नै आर्थिक विकासमा फड्को मार्न सक्दैन भन्ने कुरै हुँदैन ।
गणतान्त्रिक शासन व्यवस्था, नयाँ संविधान र स्थायी सरकार गठन गर्न धेरै जनधन र समय खर्चिई सकेको छ । अब देशमा आर्थिक समृद्धि ल्याउन, विकासको पथमा निरन्तर लम्किन र सम्पूर्ण नेपालीहरुलाई नयाँ शासन व्यवस्थाको परिवर्तित मिठो आभाष दिलाउन आर्थिक क्रान्तिको आवश्यक छ ।
विकासलाई अवरोध पु¥याउनु प्रतिपक्षीको धर्म होइन । अब मुलुकलाई समृद्ध बनाउन पक्षी र प्रतिपक्षी भन्दा नी सबैजना विशुद्ध आर्थिक पथमा लम्किएका रथका दुई पाँग्रा हुन जरुरी छ । अब पनि मुलुकले आर्थिक समृद्धि हासिल गर्न सकेन भने देश अझै धेरै वर्ष पछाडी धकेलिन कत्ति पनि बेर लाग्दैन । कुरा ठूलो र काम सानो गर्नु भन्दा उपयुक्त दुरगामी आर्थिक योजनाहरु बनाएर काम चाहिं ठूलो गरेर देखाउने समय आएको छ ।

No comments