Add

Add

आकर्षक प्रस्तुतिकरण नै मार्केटिंगको मुटु !


                                                                                                                  
                                                          - सुदर्शनप्रसाद अधिकारी 

बजारमा आफ्नो वस्तु विक्री गर्नका लागि विक्री गर्न खोजिएको वस्तु र विक्रेताको प्रस्तुतिकरण आकर्षक हुन अत्यन्त जरुरी हुन्छ । फलफूल विक्रेताले विक्री गर्न राखिएका फलफूलहरुलाई नियमित रुपमा कपडाले पुछेर टल्काई रहनु आवश्यक छ । त्यसैगरी कपडा पसलमा वत्तिको यस्तो व्यवस्था गरिएको हुन्छ कि त्यहाँ कम आकर्षक कपडा वा पोशाक पनि बत्तिको प्रकाशका कारण आकर्षक र सुन्दर देखिन्छ । गहना पसलहरुमा त झन् सजावट र प्रकाशको ठूलै भूमिका रहेको हुन्छ । प्रस्तावित विकास बैंकमा लगानी गर्न हेटौंडामा मार्केटिंग गरेर काठमाडौं फर्केको २ हप्ता बितिसक्दा पनि हेटौंडाबाट कसैको लगानी सम्बन्धि प्रस्ताव आएको थिएन । मिटिंग हुँदा लगानी गर्न इच्छुक हुनेहरुलाई पुन फोन गरेर लगानीका लागि सम्झाउन खोज्दा सबैको आ आफ्नै बहाना सुन्नु परेको थियो भने कतिले त लगानी नगर्ने समेत भनिदिएका थिए । आफ्नो प्रयास विफल हुन थालेको देखेर म केहि निराश हुन थालिसकेको थिएँ । 

ग्रामिण विकास बैंकमा कार्यरत रहँदा जापान सरकारको सहयोगमा टोकियो स्थित तालिम केन्द्र एओटीएसले आयोजना गरेको "कर्पोरेट म्यानेजमेन्ट इन साउथ एशिया" विषयको तालिममा म छनौट भएको थिएँ । झन्डै ९० प्रतिशत खर्च जापान सरकारको अनुदान रहेको उक्त तालिममा नेपालबाट दुई जना बैंकिंग क्षेत्रबाट र दुईजना उत्पादन क्षेत्रबाट गरि ४ जनाले प्रतिनिधित्व गरेका थियौं । नेपालको एउटा प्रतिष्ठित औषधि उधोगका मार्केटिंग अफिसर पंकज तिवारी पनि हामी ४ जनाको नेपाल समूहमा सम्मिलित रहेका थिए । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भने जस्तै मार्केटिंग अफिसरको रुपमा उनि खुब बोलिरहन्थे । उनका हरेक शब्दहरु रमाइला र उत्पादनशील हुने गर्दथे । 

विकास बैंकमा लगानी गर्न हेटौंडामा गरिएको मार्केटिंग लगभग असफल नै भइसकेको थियो । मैले मार्केटिङ्गका अनुभवी पंकज तिवारीलाई सम्झें र उनलाई भेट्न गएँ । उनीसंगको भेटमा प्रस्तावित विकास बैंकको हेटौंडामा मैले गरेको मार्केटिंगको बारेमा सविस्तार सुनाएँ । मेरो कुरालाई ध्यान दिएर सुनेपछि उनले मलाई भनेका थिए – " पाइन्ट सर्ट लगाएर एउटा झोला भिरेर तपाईं एक्लै बैंक खोल्ने भन्दै उक्त बैंकमा लगानी गर्नका लागि मार्केटिङ्ग गर्दै हिड्नु हुँदा तपाईंलाई कसले विश्वास गर्छ ? बैंकमा लगानी गर्न मानिसहरु अनिच्छुक भएका होइनन्, उनीहरुले तपाईंको व्यक्तित्वमा बैंक खोल्ने क्षमता नदेखेर तपाईंको व्यक्तित्व माथि चैं अविश्वास गरेका हुन् ।" त्यसपछि उनले मलाई एउटा कार किन्ने सुझाव दिए र सुट टाई लगाएर आफ्नो गाडीमा स्थानीय केहि लब्ध प्रतिष्ठित व्यक्तिहरु सहित अलि स्तरीय होटलमा राखेर मिटिंग गर्न सल्लाह दिएका थिए । उनको उक्त सल्लाहमा म लगभग सहमत भएको थिएँ । 

ग्रामीण विकास बैंकमा कार्यरत रहँदा मैले ड्राइभिङ्ग सिकिसकेको थिएँ । भैरहवाको प्रहरी कार्यालयमा ड्राइभिङ्ग ट्रायल दिएर कार,जीप चालक अनुमतिपत्र प्राप्त पनि गरिसकेको थिएँ । तर तत्काल कार किनेर चढ्ने सोच भने त्यतिखेर बनाइसकेको थिईन साथै मसंग नयाँ कार खरिद गर्ने पैसा पनि थिएन । आफूसंग भएको पैसा प्रस्तावित बैंकमा लगानी गर्नु पर्ने थियो । मेरो त्यो आर्थिक अवस्था सुनिसकेपछि पंकज तिवारीले राम्रो कन्डिसनको सेकेन्ड ह्याण्ड कार किन्न सल्लाह दिएका थिए । साथै उनले द काठमाडौं पोष्टमा राम्रो कन्डिसनको सेकेन्ड ह्याण्ड मारुती ८०० सिसिको कार चाहियो भनेर विज्ञापन दिन भनेपछी मैले त्यसै गरेको थिएँ । विज्ञापन गरेकै विहान युएनडिपी र एशियन डेभलपमेन्ट बैंकमा काम गर्ने कार मालिकहरुले विज्ञापन अनुरुपकै कार आफूहरुसंग भएको भन्दै फोन गरेका थिए । तत्पश्चात म र पंकज कार हेर्न र किन्न नै भनि पुल्चोक स्थित युएनडिपी अफिसमा पुगेका थियौं भने कार लिई जावलाखेलको ओरालो उकालोमा टेस्ट ड्राइभका लागि गएका थियौं । कार हामीले चाहे अनुरुप कै सफा, पिकअप र कन्डिसन पनि राम्रो भएकाले मूल्यमा केहि बेलाको छलफल पछी ४ लाख २५ हजारमा लिने दिने सहमति भएपछी कार किनेर हामी फर्केका थियौं । 

हेटौंडामा देवेन्द्र अर्याललाई पहिलेका सहित नयाँ करिब १० जना अरु सम्भावित इच्छुक लगानीकर्ताहरु समेतलाई सम्मिलित गराएर केहि दिन भित्रमा नै मिटिंग बोलाउन भनेको थिएँ । मिटिंगको मिति र भेन्युका लागि राप्ति होटल तय भएपछी ज्वाईंलाई लिएर म दामन पालुंगको बाटो हुँदै आफ्नै कारमा हेटौंडा झरेको थिएँ । भोलिपल्ट विहानै ७ बजे टाई सुट लगाएर आफ्नो साथमा ज्वाईं र दिपक दाई (जेठान) लाई साथमा लिएर लगानी मिटिंगका लागि राप्ति होटलमा कारबाट ओर्लिएको थिएँ । मिटिंगमा प्रस्तावित विकास बैंकका बारेमा आवश्यक व्रिफिंग गरिसकेपछि बैंक खोल्नका लागि हामीसंग पैसा नपुगेर तपाईंहरु समक्ष यो प्रस्ताव लिएर आएको हुँदै होइन । विकास बैंक हेटौंडामा नै खुल्ने भएपछी स्थानीय व्यक्तिहरुको पनि लगानी रहोस् भन्ने हाम्रो चाहना हो भने लगानी गर्न पाउने तपाईंहरुको हक पनि भएकाले मात्र तपाईंहरु समक्ष यो लगानी प्रस्ताव राखेका हौँ भनेको थिएँ । साथै अब पनि पर्खिने समय नभएका कारण आजै अहिले नै व्यक्तिगत विवरण सहितको निवेदन पेश गर्ने लगानीकर्ताहरुलाई मात्र समावेश गरिने कुरालाई स्पष्ट पारेको थिएँ । 

मिटिंगमा प्रश्नोत्तरको क्रममा मेरा छोराछोरीले बैंकमा जागिर पाउँछन् कि पाउँदैनन्, मेरो फर्निचरको पसल छ, बैंकलाई आवश्यक फर्निचर मेरैबाट लिने कि नलिने, हामीलाई चाहिए जति ऋण दिने कि नदिने जस्ता यावत प्रश्नहरु सोधीइएका थिए । उक्त प्रश्नहरु पछी मैले उनीहरुलाई स्पष्ट शब्दमा शेयरधनीहरुले बैंकबाट आफ्नो लगानीको प्रतिफलको अपेक्षा गर्ने र बैंकलाई सफलता पूर्वक संचालन गर्न सक्ने योग्य संचालकको चयन गर्न आफ्नो मताधिकारको प्रयोग गर्ने र आवश्यक भए सुझाव दिने हो भनेर सम्झाएको थिएँ । त्यस्ता सुविधाहरु पनि उपभोग गर्ने सोचले मिटिंगमा आएकाहरु बाहेक उपस्थित लगभग सम्पूर्णले आफ्नो लगानीको प्रतिबद्दता सहित व्यतिगत विवरण र नागरिताको प्रतिलिपि सहित निवेदन बुझाएका थिए । उक्त मिटिंगबाट ८५ लाख रुपैयाँ लगानीको प्रतिबद्ध डकुमेन्टहरु उठाएर अर्को मिटिङ्गका लागि नारायणगढतिर लागेको थिएँ । त्यहाँ पनि त्यसैगरी सम्भावित लगानीकर्ताहरुलाई बोलाएर होटल सेंचुरीमा राखिएको मिटिङ्गबाट ३ जनाको लगानी प्रतिबद्धता लिएर काठमाडौं फर्केको थिएँ । केहि दिन पश्चात बनेपाबाट पनि स्थानीय ३ जना लगानीकर्ताहरु प्रतिबद्धता लिएपछि कूल ५२ जना लगानीकर्ताहरु रहने गरि प्रस्तावित विकास बैंकको प्रबन्धपत्र तथा नियमावली बनाउन विज्ञहरुलाई जिम्मा लगाएको थिएँ । 

प्रबन्धपत्र र नियमावली तयार भए लगतै संस्थापकहरुको सहिछाप गराउन हेटौंडा,चितवन,काठमाडौं र बनेपा एकपछि अर्को गर्दै दौडधुप गर्ने क्रम शुरु गरिसकेको थिएँ । आफ्नै साधन भएकाले पनि मलाई काम गर्न केहि सहज भएको थियो । केहि दिन पश्चात नै सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रबन्धपत्र, नियमावली, संस्थापकहरुको व्यक्तिगत विवरण र नागरिकता जस्ता सबै डकुमेन्ट सहित प्रस्तावित हिमाल विकास बैंक स्थापनार्थ नेपाल राष्ट्र बैंकमा २०६३ सालको माघ महिनामा दर्ता गरिएको थियो । तर हिमाल नाम अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग मिल्दोजुल्दो देखिएकाले नाम परिवर्तन गर्न केन्द्रीय बैंकबाट निर्देशन पाएपछि हामी नयाँ नामको खोजीमा जुटेका थियौं । नाम जुराउने क्रममा नै रुमल्लिरहँदा उच्च पहाडी क्षेत्रलाई अंग्रेजीमा अल्पाइन पनि भनिने गरिएकाले हिमालको ठाउँमा अल्पाइन नाम परिवर्तन गरि डकुमेन्टहरु पनि सोहि अनुरुप संशोधन गरेर राष्ट्र बैंक पुगेका थियौं । 

त्यसबेला विश्व बैंक र आइएमएफले बैंक तथा वितीय संस्थाहरुको इजाजत रोक्न नेपाल राष्ट्र बैंकलाई दबाव दिन शुरु गरिसकेको थियो । नेपाल राष्ट्र बैंकको संचालक समितिले भने नयाँ निवेदन नलिने तर दर्ता भई पाइप लाइनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको इजाजत प्रक्रिया नरोक्ने निर्णय गरे अनुरुप हाम्रो प्रस्तावित बैंकको प्रक्रिया पनि अधि बढिरहेको थियो । ८ महिनाको प्रतिक्षा पछी इजाजत पूर्वको अन्तिम छलफलमा प्रस्तावित संचालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले बोलाएको थियो । संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा मलाई प्रस्ताव गरेको थियो । समिति र म बीच तत्कालका लागि मासिक तलब ३० हजार मात्र दिने र लिने सहमति भएको थियो । 

नेपाल राष्ट्र बैंकसंगको छलफलमा मकवानपुरमा कुनै पनि विकास बैंक नभएकाले इजाजत दिने कुरामा राष्ट्र बैंक सकारात्मक रहेको अधिकारीहरुले बताएका थिए तर प्रमुख कार्यकारी अधिकृतको तलब अत्यन्त न्यून भएकोमा भने प्रश्न उठाएका थिए । छलफलमा म स्वयम् पनि उपस्थित रहेकाले प्रस्तावित बैंकको सानो पूँजी र सानो बजार भएकाले शुरुवातमा नै धेरै तलब लिनु उपयुक्त नभएको साथै भविष्यमा बैंकको कारोबार वृद्धिसंगै तलबमा पनि सुधार गरिदै जानु पर्ने आफ्नो धारणा राखेको थिएँ । तत्पश्चात नेपाल राष्ट्र बैंकले इजाजत दिने सम्बन्धमा लेटर अफ इन्टेन्ड दिएको थियो । त्यस लगतै हेटौंडाको मेनरोडमा घर भाडामा लिई प्रधान कार्यालय र शाखा कार्यलयका लागि फर्निचर फिक्सचरको काम शुरु गरिएको थियो । 

कर्मचारी आवश्यकता सम्बन्धि विज्ञापन गर्ने, नगद सम्पत्तिको विमा गर्ने जस्ता यावत कामहरुमा व्यस्त भईएको थियो । विमा गर्ने सिलसिलामा प्रस्तावित बैंकका अध्यक्षले एउटा विमा कम्पनीबाट नगदको विमाका लागि प्रस्ताव आएकाले छलफलका लागि जानुपर्ने बताउनु भएको थियो । सोहि अनुरुप म उक्त विमा कम्पनीको मार्केटिंग म्यानेजरसंग छलफल गर्न गएको थिएँ । उक्त कम्पनीको विमा प्याकेज मलाई केहि महँगो लागेकाले पछी अर्कै विमा कम्पनीसंग विमा गरिएको थियो । केहि समय पश्चात बैंकको कारोबार बिस्तार स्लो भएको सन्दर्भलाई जोड्दै बैंकका अध्यक्षले –" तपाईं आफ्नो व्यक्तित्वप्रति त्यति ध्यान दिनुहुन्न त्यसैले गर्दा बिजनेस आउँदैन" भनेका थिए । त्यो विमा कम्पनीमा छलफल गर्न जानु हुँदा सुट टाईमा नगएर सर्ट प्यान्टमा जानु भएको थियो भनेर समेत गुनासो गरेका थिए । आफ्नो वस्तु विक्री गर्नु पर्नेछ भने आफ्नो प्रोडक्टलाई आकर्षक रुपमा प्रस्तुत गर्नुका साथै आफ्नो बोलि, व्यवहार र व्यक्तित्वलाई पनि आकर्षक बनाउन जरुरी हुन्छ तर प्रोडक्ट खरिदकर्ताको व्यक्तित्व आकर्षक हुन जरुरी नहुने कुरा अध्यक्ष समक्ष स्पष्ट पारेको थिएँ । साथै उक्त विमा कम्पनीमा म विमा प्रोडक्ट खरिद गर्न गएको थिएँ, आफ्नो प्रोडक्ट बेच्न हैन भनेर समेत स्मरण गराएको थिएँ । 

No comments

Powered by Blogger.