अवकाश नलिनु जीवनमा
अवकाश हुनु भनेको त्यस पश्चात जीवनमा कामै नगर्नु भन्ने हैन । हामी कुनै अफिस वा व्यवसायमा काम गर्छौं र यदि त्यस संस्थामा काम गर्ने इच्छा नभएपछी राजिनामा दिई वा अवकाशका लागि तोकिएको समयावधि सकिएपछी अवकाश प्राप्त गर्ने गर्छौं । यसरी हामीले गरिरहेको कामबाट मात्र अवकाश प्राप्त गरेका हौँ, जीवनका अरु कामहरुबाट हैन । अवकाश पछी पनि हामी एउटा नयाँ उत्साह र उमंगका साथ् कुनै नयाँ काम गर्न सक्छौं र यस्तो गर्नु पनि पर्दछ ।
रोजगारदाता कम्पनीहरुले रोजगारीको अवधी सम्बन्धी नियम लागु गरेका हुन्छन् । कुन उमेरमा जागिरमा लिने र कुन उमेरमा जागिरबाट अवकाश दिने भनेर । सोहि अनुरुप नै रोजगारदाताहरुले तोकेको उमेर पुगेपछि श्रमिक वा कर्मचारीहरुले जागिर र अवकाश पाउने गर्दछन् । तर अवकाश पाउने कुनै पनि कर्मचारीले अव काम गर्ने उमेर सकियो भनेर कदापि सोच्नु हुन्न । अवकाश पश्चात पनि रोजगारी र स्वरोजगारीका अवसरहरु खोजि र सृजना गर्नु अत्यन्त आवश्यक हुन्छ । पानी तान्ने मेशिन्लाई एक महिना जति नचलाई राखेर पछी चलाउने हो भने धेरै जसो त्यस्ता मेशिनहरु खिया लागि नचल्न सक्छन् । त्यस्तै हाम्रो हात खुट्टा र शरीरका सम्पूर्ण अंगहरु क्रियाशील भइरहेनन् भने यीनीहरुको पनि सक्रियतामा ह्रास आउँछ र हामी थला पर्न पुग्दछौं । त्यसैगरी हाम्रो दिमागले अग्रगामी नयाँ नयाँ सोच लिने, त्यसमा काम गर्ने र रमाउने गर्न सक्दैनौं । विगतका आफ्ना कामहरुलाई मात्र सम्झेर बस्न थाल्यौं भने हाम्रो दिमाग र संग संगै शरीर पनि रोगी हुन पुग्दछ ।
मैले वि.सं.२०२९ साल असोजमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गर्दातिर ६० वर्षको उमेर पूरा भएपछी अवकाश हुने व्यवस्था थियो । पछी त्यसलाई ५८ वर्ष गरिएको थियो । तर वि.स. २०६२ सालतिर सेवा अवधि ३० वर्ष पूरा भएको वा ५८ वर्ष उमेर पुगेका मध्ये जुन अवस्था पहिले आउँछ सेवाबाट अवकाश हुने गरि कर्मचारी विनियमावलीमा संशोधन गर्ने गृहकार्य शुरु गरिएको थियो । पुराना अनुभवी, तालिम तथा सीप भएका कर्मचारीहरु हटाई नयाँ पुस्ताहरुलाई मौका दिई नेपाल राष्ट्र बैंकको गुणस्तर बढाउने त्यसबेलाका व्यवस्थापकको सोच एकातर्फ थियो भने २० वर्षको उमेरमा सेवामा प्रवेश गरेको मैले ३० वर्षपछी अर्थात् ५० वर्षको उमेरमा नै आफूले थप्दै गरेको ज्ञान र सीपलाई अवकाशे जीवनमा निरर्थक बनाउनु मुर्खता सम्झेंको थिएँ मैले ।
२०६२ श्रावन १ गते देखि ३० वर्ष सेवा अवधि वा ५८ वर्ष उमेर पछी स्वत: अवकाश हुने विनियमावलीमा संशोधन गर्नु झन्डै एक वर्ष अघि देखि स्वेच्छिक अवकाश योजना लागु भएको थियो । जुन योजना अन्तर्गत स्वेच्छिक अवकाश लिनेहरुलाई केहि थप आर्थिक सुविधा दिने व्यवस्था गरिएको थियो । म भने आफ्नो अवकाशको अवधि छोट्टीदै गर्दा पटक पटक स्वेच्छिक अवकाशको योजनाहरुलाई वेवास्ता गर्दै आइरहेको थिएँ । तर २०६२ सालमा दिएको त्यो सानो आर्थिक सुविधाबाट पनि वन्चित हुन नपरोस भनेर योजनाको अन्तिम दिन स्वेच्छिक अवकाशको लागि निवेदन दिन बाध्यतावश तयार भएको थिएँ ।
नेपाल राष्ट्र बैंकबाट मैले अवकाश लिई सकेको भएतापनि मैले त्यतिबेला काम गरिरहेको पश्चिमान्चल ग्रामीण विकास बैंकमा रहेको नेपाल राष्ट्र बैंकको शेयर हस्तान्तरण सम्बन्धी काम केहि बाकी नै रहेकाले नेपाल राष्ट्र बैंकले आफ्नो प्रतिनिधिको रुपमा संचालक पदमा मलाई यथावत पुन मनोनयन गरेको थियो ।उक्त मनोनयन कै कारण मेरो अवाकाशे जीवनको शुरुवात हुन एक वर्षका लागि पछी सरेको थियो । नेपाल राष्ट्र बैंकको सेवाबाट निवृत्त भईसकेता पनि ग्रामीण विकास बैंकको सेवामा अझै कार्यरत थिएँ तर पनि त्यहि बेला देखि नै अवकाशपछिको जीवनलाई फेरी कसरी सक्रिय बनाउने भन्ने कुराहरुले मनलाई पूर्ण रुपमा बिथोल्न थालिसकेको थियो । ५० वर्षकै उमेरबाट नै अवकाशे जीवन जिउन थाल्नु मेरो लागि मृत्युको दिन गनेर बस्नु सरह नै थियो जुन मलाई कदापि स्वीकार्य थिएन ।
ग्रामीण बैंकमा रहेको शेयर विक्री हस्तान्तरण गर्ने, बैंकलाई वित्तीय रुपमा सुदृढ गर्ने र शेयर विक्री पश्चात बैंकको नयाँ शेयरधनीहरु सहितको नयाँ संचालक समितिको निर्वाचन गर्ने जस्ता कामहरुमा म यति धेरै व्यस्त हुन थालेकी ग्रामीण बैंकबाट अवकाश पाएपछि के गर्ने भन्ने योजना बनाउन तिर समय नै दिन सकिन । नेपाल राष्ट्र बैंकको शेयर विक्री पछी महिला समूह मध्ये निर्वाचन प्रक्रिया मार्फत दुई जना संचालक, नेपाल सरकारको तर्फबाट मनोनयन भई आएका एक जना र नेपाल राष्ट्र बैंकको १० प्रतिशत शेयर खरिद गर्ने निर्धन उत्थान बैंकका मनोनित प्रतिनिधि एक जना गरि ४ जना नयाँ संचालको सपथ ग्रहण, अध्यक्षको नियुक्ति र पहिलो बैठक सम्पन्न गरि उक्त बैंकको सेवाबाट राजिनामा दिई म काठमाडौं फर्केको थिएँ ।
,विहान ९ बजे खाना खाएर सुकिला राम्रा लुगा लगाएर अफिस जाने र अफिसमा आफ्नो सीप र ज्ञानको माध्यमबाट आफ्नो जिम्मेवारीको उत्पादकत्व बढाउने मेरो ३४ वर्षे नियमितताको क्रम भंग भएको थियो । तर पनि आफूलाई निस्क्रिय बनाउन चाहन्न थें । त्यसैले आफूलाई केहि न केहि काममा सक्रिय राख्न नै दैनिक जसो म सिंहदरवार प्लाजा स्थित नेपाल स्टक एक्सचेन्जमा विहान ११ बजे गई दिनभरी शेयर खरिद गर्ने वा विक्री गरि केहि आय आर्जन गरेर आफूलाई व्यस्त बनाउने प्रयास गर्न तर्फ लागेको थिएँ । त्यस समयमा देशमा नयाँ बैंक तथा वित्तीय संस्थाहरु स्थापना गर्ने लहर नै चलेको थियो ।
यसै बीच केहि साथीहरुले मेरो राष्ट्र बैंकको २९ वर्षको अनुभव र ग्रामीण बैंकको ४ वर्षको कार्यकारी निर्देशकको कार्य अनुभव भएकाले फाइनान्स कम्पनी वा तीन जिल्ला कार्यक्षेत्र रहने विकास बैंक खोल्न प्रस्ताव गरेका थिए । फाइनान्स कम्पनीको साँघुरो कार्यक्षेत्र भएका कारण तिन जिल्ले विकास बैंक खोल्ने कुरामा पूर्ण तत्परताका साथ् लागि पर्न सहमति जुटेको थियो । त्यतिबेला तीन जिल्ले विकास बैंक खोल्न रु. ५ करोडको पूँजी चाहिने व्यवस्था थियो । ५ करोडको ६७ प्रतिशत संस्थापकबाट र बाँकी ३३ प्रतिशत सर्वसाधारणको लगानीबाट पूरा गरिने कुरामा सहमति भएको थियो । ५ करोडको ६७ प्रतिशत अर्थात् ३ करोड ३५ लाख संस्थापकहरुबाट जुटाउनु पर्ने थियो ।
स्वेच्छिक अवकाश हुँदा नेपाल राष्ट्र बैंकबाट रु. २३ लाख पाएको थिएँ मैले । जसमध्ये १९ लाख प्रस्तावित विकास बैंकमा लगानी गर्ने निर्णय गरें र बाकि कामहरुमा जुटेको थिएँ म । अन्य संस्थापक खोज्ने, प्रस्तावित विकास बैंकको सम्भाव्यता अध्ययन गराउने र चाहिने डकुमेन्टहरु संकलन गर्ने जिम्मा मलाई नै दिईएको थियो । त्यतिबेला मकवानपुरमा कुनै पनि विकास बैंक नभएकाले हेटौंडामा प्रधान कार्यालय रहने गरि हिमाल विकास बैंक लिमिटेड खोल्ने मेरो प्रस्तावलाई साथीहरुले सहर्ष स्वीकारेका थिए । हामीले विकास बैंक खोल्ने सहमति जुटाई रहँदा विश्व बैंक र आइएमएफका प्रतिनिधिहरुले बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढ्न थालेकोमा नेपाल राष्ट्र बैंक समक्ष चिन्ता व्यक्त गर्न थालेको अवस्था थियो ।
विकास बैंक नभएको तर ठूलो सम्भावना भएको मकवानपुर जिल्लामा विकास बैंक स्थापनार्थ प्रस्तावमा नेपाल राष्ट्र बैंक बढी नै सकारात्मक हुने मेरो अनुभव थियो । चक्रपथ महाराजगंज, काठमाडौं स्थित रिचमण्ड बेकरीमा सम्भावित संस्थापकहरुसंग प्रस्तावित विकास बैंकमा लगानी गर्न प्रस्ताव गरियो । उक्त बैठकमा करिब २ करोड ५० लाख लगानीको प्रतिबद्धता आएपछि बाँकी लगानीका लागि हेटौंडाका स्थानीयहरुमा आह्वान गरिने निर्णय भए पश्चात म हेटौंडा आएको थिएँ । हेटौंडामा विकास बैंक खोल्ने भएपछी हेटौंडेली सहयोग र समर्थनका निमित्त पनि स्थानीय संस्थापकहरुको आह्वान गर्नु अपरिहार्य थियो । एकजना विज्ञलाई सम्भाव्यताको अध्ययन प्रतिवेदन तयार गर्ने जिम्मेवारी सुम्पेर म हेटौंडाका लगानीकर्ताहरुको खोजीमा होमिएको थिएँ । मकवानपुर, चितवन र काभ्रेपलान्चोक जिल्लाहरुलाई कार्यक्षेत्र प्रस्ताव गरिएकोले चितवन र काभ्रे जिल्लाका लगानीकर्ताहरुको खोजीमा म नारायणगढ़ र बनेपामा पनि गएको थिएँ ।
हेटौंडाका देवेन्द्र अर्याललाई सम्भावित लगानीकर्ताहरुको भेला गराई दिन अनुरोध गरेको केहि दिन पश्चात नै होटल लिडोमा करिब २० जना लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैठक बसिएको थियो । हेटौंडामा विकास बैंक खोल्ने मेरो प्रस्ताव प्रति उपस्थित सम्पूर्ण हेटौंडेलीहरु निकै नै सकारात्मक देखिएका थिए भने उपस्थित अधिकांशले आफूले सक्ने जति लगानी गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । यसरी हामीले हेटौंडामा पहिलो विकास बैंक खोल्ने सपनालाई सार्थकतामा उतार्ने प्रयास गरेका थियौं ।


No comments