डीपीआरका लागि कोरियाली कम्पनी छानियो
मुलुकको केन्द्रीय राजधानीबाट तराई–मधेसको निजगढ जोड्ने राष्ट्रिय गौरवको आयोजना दु्रतमार्ग (फास्टट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दक्षिण कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । फास्टट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ग्लोबल प्रतिस्पर्धा गराई कम्पनी छनोट गरेको सम्बन्धित निकायले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि निर्माणको जिम्मा दिन प्रक्रिया सुरु गरेको भारतीय कम्पनी आईएल एन्ड एफएसले समेत फास्टट्रयाकको डीपीआर तयार गरेको भएपनि मूल्यमा सहमति नभएपछि प्रक्रिया अघि नबढेको बुझिएको छ । सेनाले छनोट भएको दक्षिण कोरियाको कम्पनीसँग अबको डेढ साताभित्रै डीपीआर तयार गर्नेसम्बन्धी सम्झौता गर्ने भएको जानकारी उच्च सैनिक स्रोतले दिएका छन् । स्रोतका अनुसार कोरियाली कम्पनीले १० करोड १५ लाख रुपैयाँको लागतमा डीपीर तयार गर्नेछ । सम्झौता भएको चार महिनाभित्रै कोरियाली कम्पनीले डीपीआर तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारीसमेत सैनिक स्रोतले दिएको छ । फास्टट्रयाक निर्माण निर्माणको जिम्ममा पाएको १३ महिनामा सेनाले डीपीआर तयार गर्न कम्पनी छनोट गरेको हो । २०७४ वैशाख २१ मा मन्त्रिपरिषद् बैठकले निर्णय गरी फास्टट्रयाक निर्माण व्यवस्थाको जिम्मा सेनालाई दिएको थियो । द्रुतमार्ग निर्माण गर्न १ खर्ब ११ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
कोरियाली कम्पनीले फास्ट ट्रयाकको डीपीआर तयार पारेर बुझाउनासाथ ग्लोबल प्रतिस्पर्धा गराई कम्पनी छनोट गरी द्रुत मार्ग निर्माण गर्न दिने योजना सेनाको छ । द्रुत मार्ग छिट्टो निर्माण गर्न खण्ड खण्ड गरी निर्माणको ठेक्का दिने तयारीसमेत सेनाले गरिसकेको बुझिएको छ । सेनाले फास्टट्रयाकको दूरी घटाउन छोक्रेडाँडादेखि बाँदरे खोल्सीसम्म करिब १२ किमि खण्डमा तीनवटा सुरुङ निर्माण गर्ने गरी दु्रतमार्गको रेखांकन (एलाइनमेन्ट) परिवर्तन गर्ने भएको सम्बन्धित पक्षले जनाएको छ । ५.६७ किमि सुरुङ निर्माण गर्दा फास्ट ट्रयाकको लम्बाइ तात्त्विक रूपमै साढे तीन किमिभन्दा धेरै घट्ने बुझिएको छ । फास्टट्रयाकको लम्बाइ घटाउनकै लागि सुरुङ निर्माणलाई प्राथमिकता दिइएको जानकारीसमेत सैनिक स्रोतले दिएको छ । छोक्रेडाँडा–महादेव खोल्सीसम्म (३.३ किमि), सिमपानीबेंसी–चालिसे खोल्सीसम्म १.३७ किमि र घट्टेपाखा–बाँदरे खोल्सीसम्म १.४ किमि लम्बाइका तीनवटा सुरुङ निर्माण गर्ने निर्णयमा सेना पुगेको छ । ती सुरुङ समानान्तर दूरीमा गाडी आउजाउ गर्न सक्ने दुइटा मुख भएका ९.५ मिटर चौडाइ र ५.५ मिटर अग्लो हुने जानकारी निर्माणमा संलग्न सैनिक अधिकारीले दिएका छन् । यसरी सुरुङ निर्माण गर्दा फास्टट्रयाकको लम्बाइ साढे तीन किमि घट्ने मात्र नभई ठूला १० वटा पुल र आधा दर्जनभन्दा बढी कल्भर्ट बनाउन नपर्ने जानकारी समेत सेनाले दिएको छ । उक्त सुरुङ निर्माणपछि यसअघि प्रस्तावित ७६ किमिको फास्टट्रयाक ७२.५ किमि लम्बाइको हुनेछ । झन्डै ५.६७ किमि सुरुङको कम्पोनेन्ट थप्दा लागत भने ६ अर्ब ८० करोड रुपैयाँ बढ्ने जानकारी स्रोतले दिएको छ ।


No comments