सुमो सेवाको व्यवस्थापन
सहर भरि जताततै सुमो सेवाको काउन्टरहरु र यात्रुहरु ओसारपसार गर्न सहर भित्र कुदिरहेका सुमो गाडीहरुले गर्दा सहरको ट्राफिक व्यवस्थापन अलि अस्त व्यस्त नै थियो । हेटौंडा उपमहानगरपालिका र सम्बन्धित निकायहरुका कारण अहिले चौकीटोलको ओरालो स्थित रोपवेको घरजग्गामा सुमो सेवाको व्यवस्थापन गरिएको छ । उक्त स्थानमा अझै पनि केहि पूर्वाधार तथा मर्मतको काम गर्न बाँकी नै भएपनि यी कार्यहरु पनि बिस्तारै विकसित हुँदै जाने कुरामा आशावादी हुन सकिन्छ ।
हाल अझै पनि टिकट काट्ने ठाउँ त्यति व्यवस्थित हुन सकेको छैन । कि त एउटै काउन्टरबाट गाडी र यात्रुहरुलाई लाइन लगाएर कम्प्युटराइज्ड टिकट विक्री गर्ने व्यवस्था हुनु पर्यो या त सबै सुमो कम्पनीहरुका लागि अलग अलग काउन्टरको व्यवस्था गर्नु पर्यो । एउटै काउन्टरबाट टिकट विक्री गर्दा सुमो कम्पनीहरुलाई कर्मचारीको कमिशन वा तलबमा केहि बचत हुन्छ भने यात्रुहरुले समान सुविधा पाउनेछन् ।
अहिलेको जस्तो काउन्टर कर्मचारी र चालकको मनोमानी व्यवहारले पहिले आउनेलाई पछिल्लो सिटमा पछी आउनेलाई अगाडीको सिटमा राख्ने व्यवहार स्वत: समाप्त हुनेछ । अझ भाडादरमा थोरै मात्र भएपनि व्यवहारिकता लागु गर्ने हो भने अगाडिको सिटको मागमा पनि तछाडमछाड अलि कम हुन्थ्यो की? जस्तै अहिले एउटा सुमोले हेटौंडाबाट काठमाडौंसम्मको फुल ट्रीप भाडा रु. ३६०० उठाई रहेका छन् । यदि १ नं. सिटको भाडा रु. ५००, बिचको सिटकोभाडा रु. ४२५ र पछाडीको सिटको भाडा रु. ३५० गरिदिने हो भने सुमोले रु. ३६०० नै पाउँदछ तर सिटको लागि हुने गरेको किचलो अलि मत्थर हुन सक्दछ । जे होस् सुमो पार्क सुमो व्यवस्थापन शुरुवातका लागि हेटौंडा उपमहानगरपालिका र सम्बन्धित निकायलाई धन्यवाद दिने पर्दछ । आगामी दिनहरुमा "सुमो पार्क" र हेटौंडा सहर अझै व्यवस्थित हुनेछ आशा राख्न सकिन्छ ।

No comments