Add

Add

पार्किङ्ग समस्या !


केहिदिन देखि मकवानपुर उधोग वाणिज्य संघको आह्वानमा पार्किङ्ग समस्यालाई लिएर बजार बन्द गरिएको छ । यस अघि हेटौंडा मूख्य बजार र राप्ती रोडको एकापट्टी गरिदै आएको पार्किङ्ग अब गर्न नपाइने भन्दै हेटौंडा उपमहानगर पालिकाले नो पार्किङ्ग क्षेत्र घोषणा गर्दै पार्किङ्ग गर्न निषेध गरेपछि उक्त क्षेत्रमा व्यापार/व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुको पक्षमा मकवानपुर उधोग वाणिज्य संघले विरोध स्वरूप ज्ञापनपत्र, धर्ना र बजार बन्द सम्मको आह्वान गर्दै आइरहेको छ । 

हालै पार्किङ्ग निषेध गरिएका दुवै क्षेत्रका सडकहरु साँगुरा राजमार्ग अन्तर्गत रहेका छन् । बजार क्षेत्रको साँगुरो राजमार्गमा झन् सवारी साधन पार्किङ्ग गर्दा यातायात संचालनमा बाधा पुगिरहेको स्थानीय सरकारको भनाइ रहेको छ । त्यस्तै, पार्किङ्गको सुविधा नभएमा ग्राहकहरुलाई किनमेलका लागि आफ्नो पसल सम्म आउन कठिनाइ पुग्ने र व्यापारमा कमि आउने व्यवसायीहरुको भनाइ रहेको छ । पसल अगाडी आफ्नो साधन रोकेर किनमेल गर्दै आइरहेको हाम्रो बानीमा परिवर्तन भइ पार्किङ्ग स्थलमा वाहन पार्किङ्ग गरि "वाक एण्ड सप" गर्ने बानीको विकास हुन अझ निकै समय लाग्ने देखिन्छ । साथै स्थानीय निकायले पनि नो पार्किङ्गको व्यवस्था माथि कडाई गर्नु पूर्व पार्किङ्गको उपयुक्त स्थानहरुको खोजि गरि पार्किङ्गको व्यवस्था गर्दै जानु पर्ने देखिन्छ । 

सडक बजार क्षेत्रमा घर निर्माणको इजाजत दिदा अनिवार्य अन्डर ग्राउण्ड पार्किङ्ग समेत निर्माण गर्नु पर्ने नियम लागु गर्न अब ढिला गर्न नहुने देखिन्छ । राष्ट्रिय राजमार्गमा पार्किङ्ग गर्न पाउनु पर्छ भन्ने पक्ष र राजमार्गमा यातायात निर्वाध रुपमा गुड्नु पर्छ भन्ने दुवै पक्ष एक ठाउँमा बसेर अल्पकालीन र दिर्घकालिन विकल्पहरुको खोजी गरि वर्तमान पार्किङ्ग समस्यालाई यथाशिघ्र समाधान गर्न तर्फ ध्यान केन्द्रीत गर्न जरुरी देखिन्छ । साथै, सबै भन्दा महत्वपूर्ण कुरा भनेको बुद्ध चोकबाट दक्षिणको मेन रोड र पश्चिमको राप्ती रोड राष्ट्रिय राजमार्ग हो की बजार क्षेत्र हो यसको पनि सरकारी निकायले सिघ्र टुंगो लगाउन जरुरी छ । 



No comments

Powered by Blogger.