नाम र वर्ग अनुरुपको काम
मानिस जन्मेको केहि दिन पश्चात उसका आमाबुवा वा अन्य नातेदारहरुले उसको ध्यान आकृष्ट ग उसलाई एउटा नाम दिएर बोलाउँदछन् र विस्तारै विस्तारै बच्चाले पनि मेरो नाम यो हो र मलाई बोलाइएको हो भनी बोलाउने तर्फ फर्कन्छ र विस्तारै मुस्कुराएर प्रतिक्रिया जनाउँदछ । आमाबुवा वा नातेदारले उसलाई एउटा नाम दिइरहँदा एउटा दुरगामी भावनात्मक सोचले काम गरिरहेको हुन्छ । एउटा बच्चाको नाम "सुर्य" राखिएको छ भने नाम राख्ने नातेदारले यो बच्चा सुर्य जस्तै चम्किलो र सारा जगतको हितकारी होस् भन्ने दुरगामी भावनात्मक कामना व्यक्त भएको हुन्छ । त्यस्तै, कुनै बच्चाको नाम "राम" राखिएको छ भने राम जस्तै ज्ञानी र लोक हितकारी होस् भन्ने दुरगामी भावनात्मक कामना रहेको हुन्छ । यदि कुनै बालिकाको नाम "अप्सरा" राखिएको छ भने ती बालिका अप्सरा जस्तै सुन्दर हुन् भन्ने कामना रहेको हुन सक्तछ ।
राम र सुर्य नाम भएका बालकहरुले विस्तारै बुझ्ने हुँदै गरेपछि मेरो आमाबुवा वा नातेदारले मेरो नाम राम वा सुर्य राखेका छन् भनी आफ्नो सोच, बोली र व्यवहारलाई नाम अनुरुप निर्माण गर्दै लगेमा पछी उ वास्तवमा नै राम वा सुर्य जस्तै प्रभावकारी र हितकारी व्यक्तित्वको रुपमा आफूलाई यो समाजमा स्थापित गर्न सफल हुन सक्तछन् । त्यस्तै, सुन्दरता भगवानको देन हो भनिन्छ । भर्खरै जन्मेका हरेक बच्चाहरु सुन्दर नै हुन्छन् तर अप्सरा नाम राखिएको बालिका पछी अप्सरा जस्तै शारीरिक सुन्दरतामा उत्कृष्ट नहुन पनि सक्छिन् । तर उनले आफ्नो सोच, बोली र व्यवहारको मदतले आफ्नो भित्री सुन्दरताको निर्माण गर्न सफल भईन भने उनी व्यवहारिक जीवनमा पनि अप्सरा हुन सफल हुनेछिन् ।
मेरा आमाबुवाले मेरो नाम सुदर्शन राखिदिनु भएछ । सुदर्शनको शाब्दीक अर्थ असल मानिस असल दर्शन हो । अर्थात् बाहिरबाट र भित्रबाट पनि सुन्दर रुप, सुन्दर विचार(दर्शन) हो । अब म हुर्कंदै जाँदा सुन्दर रुप त हुन सकेन तर मैले आफूमा सुन्दर विचारहरुको निर्माण त गर्न सक्तछु नि त । म सधैं आफूमा सुन्दर विचारहरुको निर्माण गरि आफूलाई सुदर्शन बनाउने प्रयास गरिरहेको हुन्छु । सुदर्शन नाम र विशेषण दुवै हो । कुनै बालिका,महिला, स्त्री भित्री र बाहिरी दुवै रुपमा सुन्दर छिन् भने उनलाई सुदर्शनाको उपमा दिई मुक्त कण्ठले प्रशंसा गर्ने गरिएको पनि देखिन्छ । भगवान गौतम बुद्धका अनुयायीहरुले आफूलाई "सुदर्शन" बनाउने बाटोमा अग्रसर रहेका हुन्छन् र कतिपयको नाम सुदर्शन वा सुदर्शना भनी विशेषण पाएको पनि पाइन्छ ।
हामीले संस्थापना गरेको विकास बैंकको नाम पहिले "हिमाल" राखिएको थियो । संचालनमा रहेका केहि बैंक तथा वित्तीय संस्थासंग मिल्दो जुल्दो भयो भनी नेपाल राष्ट्र बैंकले नाम परिवर्तन गर्न लगाएको थियो । त्यसपछि हामीले हिमालसंगै मिल्दो जुल्दो अंग्रेजी नाम "अल्पाइन" राख्यौं । हामी संस्थापकहरुले यो विकास बैंकलाई हिमाल जस्तै उच्च,स्वच्छ र अटल बनाउने दुरगामी भावनात्मक सोच बनाएका थियौं । "अल्पाइन"को शाब्दिक अर्थले पनि उच्च पहाड जनाउने भएकाले हामीले यहि नाम राखेका थियौं । अल्पाइन जस्तै आफूलाई उच्च बनाइ राख्न यसले आफ्नो मूलमन्त्र बनायो " सबैका लागि सधैका लागि सरल बैंकिङ्ग" । यहि मूलमन्त्रलाई पछ्याउँदै अल्पाइनका सम्पूर्ण व्यवस्थापन तथा कर्मचारीहरु आफ्नो काम र जिम्मेवारीमा लागि परेका थिए ।
नाम अनुरुपको काम गर्ने अरु बैंक तथा वित्तीय संस्थाहरु पनि छन् । एउटा उदाहरणको रुपमा निर्धन उत्थान बैंकलाई पनि लिन सकिन्छ । गरिब तथा विपन्न वर्गलाई स-साना बचत गर्ने बानीको विकास गर्दै स-साना कर्जाको माध्यमबाट उनीहरुलाई आय आर्जन हुने उधममा संलग्न हुन सघाउ पुर्याउदै उनीहरुको निर्धनताको उत्थान गर्ने दुरगामी भावनात्मक सोच यस बैंकका संस्थापक डा. हरिदेव पन्त लगाएतले लिएका र सोहि अनुरुप देशको गरिबी न्यूनीकरणमा यस बैंकले अग्रणी भूमिका खेलेको पाइन्छ । लघु कर्जा वित्तीय संस्थाकै क्षेत्रमा छिमेकी विकास बैंकले पनि आफ्नो नाम अनुसारकै काम गर्दै आइरहेको छ । गरिब तथा विपन्न वर्गहरुलाई एउटा असल छिमेकीले झैं लघु वित्तीय सेवाहरु पुर्याउने काममा संलग्न रहेको देखिन्छ । अर्को उदाहरणमा स्वावलम्वन, रोजगार, उन्नति आदि नामका लघु वित्त संस्थाहरुले गरिब तथा विपन्न वर्गको उत्थान गर्ने उदेश्यले नै सो अनुरुपको नाम राख्दै स्थापना भएको देखिन्छ । तर रु. ५ करोड पूँजीमा पूर्वाधार विकास बैंक स्थापना हुन्छ भने त्यसैले नाम अनुरुपको काम गर्न सक्तैन । नेपाल इनभेष्टमेन्ट बैंकले आफ्नो नाम अनुरुपको काम गर्न कम्तिमा ३-४ वटा ठूला वाणिज्य बैंकहरुसंग मर्ज भइ ठूलो स्रोत र साधना सम्पन्न हुँदै इनाभेष्टमेन्ट बैंकिङ्ग गर्ने आफ्नो क्षमता बढाउँदै लैजानु पर्ने हुन्छ ।
उहिले वाणिज्य बैंक ऐन अन्तर्गत वाणिज्य बैंकहरु, विकास बैंक अन्तर्गत विकास बैंक र लघुवित्तहरु तथा फाइनान्स कम्पनि ऐन अन्तर्गत फाइनान्स कम्पनीहरु खुलेका हुन् । पछी वि.सं. २०५८ सालमा उपरोक्त सबै ऐनहरुलाई एकिकृत गरि " बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०५८" लागु भएको हो । यस ऐनले देशमा स्थापना भएका वा स्थापना हुने बैंक तथा वित्तीय संस्थाहरुलाई चार वर्गमा वर्गीकरण गरेको हो । क वर्गमा वाणिज्य बैंकहरु, ख वर्गमा विकास बैंकहरु, ग वर्गमा फाइनान्स कम्पनीहरु र घ वर्गमा लघु वित्तीय संस्थाहरु भनी यिनीहरुको न्यूनतम पूँजी, गर्न पाउने कम र कार्यक्षेत्र निश्चित गरिएको हो । साथै क वर्गका वाणिज्य बैंकहरुले मात्र आफूलाई बैंक लेख्न पाउने तथा अन्य वर्गका विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तले आफूलाई वित्तीय संस्था लेख्न पाउने व्यवस्था उक्त ऐनले गरेको हो । ख वर्गका विकास बैंकहरु, ग वर्गका फाइनान्स कम्पनीहरु र घ वर्गका लघु वित्तीय संस्थाहरुले आफूलाई वित्तीय संस्थाको रुपमा आफ्नो परिचय बनाउनु पर्ने व्यवस्था भएको थियो । आफ्नो वर्ग र कार्यक्षेत्र समेत आफ्नो साइनबोर्डमा उल्लेख गर्नुपर्ने व्यवस्था समेत उक्त ऐनले गरिदियो ।
अल्पाइन डेभलपमेन्ट बैंकले आफ्नो नाम र वर्ग अनुरुप नै काम गर्ने आफ्नो कार्यदिशा निर्धारण गरेको थियो । त्यतिबेला हेटौंडामा एक दर्जन जति नै वाणिज्य बैंकहरु र २ ओटा फाइनान्स कम्पनीहरु संचालनमा थिए । वाणिज्य बैंकहरुले सेवा नदिएका वा वाणिज्य बैंकको पहूँच नभएका सेवाग्राहीहरु नै हाम्रो ग्राहक थिए । त्यस्तै, फाइनान्स कम्पनि भन्दा सरल र सहज सेवाको चाहना राख्ने ग्राहकहरु पनि हाम्रो वित्तीय सेवा उपभोग गर्न उत्साहित भएका थिए । बैंक तथा वित्तीय संस्थाहरुको बाक्लो उपस्थिति भएको सानो हेटौंडा बजारमा पनि हाम्रो प्रतिस्पर्धा कुनै बैंक तथा वित्तीय संस्थाहरुसंग थिएन । हामी हेटौंडा बजारमा मात्र केन्द्रित नभएर चौघडा, कमाने र बस्तीपुरमा एक्सटेन्सन काउन्टरहरु खोलि दिगो र भरपर्दो बैंकिङ्ग सेवाको पहूँच बढाउने अभियानमा जुटेका थियौं ।
बैंक तथा वित्तीय संस्थाहरुलाई क,ख,ग र घ वर्गमा पूँजी र कामको आधारमा वर्गीकरण गरिएकोमा "ख" वर्गका विकास बैंकलाई पूँजी र कार्यक्षेत्रको आधारमा थप ४ वर्गमा वर्गीकरण गरिएको छ । विकास बैंकहरु पूँजीको आधारमा एक जिल्ला कार्यक्षेत्र, तीन जिल्ला कार्यक्षेत्र, दश जिल्ला कार्यक्षेत्र र राष्ट्रिय स्तरको कार्यक्षेत्रमा वर्गीकृत गरिएको छ । त्यसैले हाम्रो मकवानपुर, चितवन र काभ्रेपलाञ्चोक गरि तीन जिल्लाहरुमा कार्यक्षेत्र भएको अल्पाइन डेभलपमेन्ट बैंकले तिन जिल्लाहरुका सदरमुकाममा मात्र आफ्नो कारोवार र सेवा सिमित गरेर बस्ने अवस्था थिएन । तसर्थ, अल्पाइनले शुरुमा नै आर्थिक क्रियाकलाप विकसित हुँदै गरेका ग्रामिण बजारहरुमा आक्रामक रुपमा शाखा तथा एक्सटेन्सन काउन्टरहरु विस्तार गर्ने अभियानमा जुटेको थियो ।
ग्रामीण बजारहरुमा विजुली बत्ति पुगेको भएतापनि टेलिफोन, इन्टरनेट,मोबाइल नेटवर्क आदिको अभाव हुने गर्दथ्यो । कुनै ग्रामीण क्षेत्रमा बजार र कारोवार यथेष्ठ भएतापनि सडक र सुरक्षाको अभाव हुने गरेको छ । यस्ता प्रतिकूल अवस्थामा पनि केहि जोखिम र अप्ठ्याराहरुलाई आत्मसाथ गर्दै आफ्नो कार्यक्षेत्रका तीन वटै जिल्लाहरुकै ग्रामीण क्षेत्रहरुमा शाखाहरु विस्तार गरेका थियौं । अल्पाइनले आफ्नो नामलाई कोसेढुंगा र वर्ग (पूँजी र कार्यक्षेत्र) लाई आफ्नो धरातल मानी काम गर्दै थियो ।


No comments