सानोबाटै शुरु
कुनै पनि व्यवसाय गर्दा एकैचोटी ठूलो लगानीबाट गर्नुपर्छ भन्ने मानसिकतालाई त्यागेर सानो लगानीबाट नै व्यवसायको शुरुवात गर्दा पनि उपयुक्त हुन्छ । सानो राम्रो भन्ने भनाईलाई व्यवसायमा चरितार्थ गराउन सक्नु व्यवसायीको लगन र कला हो । शुरुमा सानो लगानीबाट व्यापार/व्यवसाय वा उद्योग शुरु गरि त्यसबाट हासिल भएको सफलता र अनुभवबाट त्यहि व्यवसायमा लगानी थप्दै मध्यम अनि ठूलो बनाउँदै लैजान सकिन्छ । एउटा व्यवसायमा सफल हुने उधमी साधारणतया अन्य व्यवसायमा पनि सफल हुने सम्भावना अधिक रहेको हुन्छ । अक्सर यहाँ एउटा सफल व्यवसायीले अर्थतन्त्रका अन्य विभिन्न क्षेत्रहरुमा एकसाथ लगानी गरिरहेको पाइन्छ ।
देशको अर्थतन्त्रमा साना व्यवसाय वा उद्यमहरुको पनि यथेष्ठ योगदान रहने गरेको छ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा विभिन्न ठूला र साना बैंक वा वित्तीय संस्थाहरुको उपस्थिति उत्तिकै उल्लेखनीय मात्रामा रहँदै आएको छ । बैंक वा वित्तीय संस्थाहरुलाई केहि संस्थाहरुको समूहले लगानी गरि संस्थापना गरिरहेको हुन्छ । संस्थाको कारोबार गर्न सर्वसाधारणहरुबाट निक्षेप संकलन गरि सोहि निक्षेप रकम उद्योग व्यापार र अन्य उत्पादनका क्षेत्रहरु लगाएत आवश्यक व्यक्ति वा संस्थाहरुलाई ऋण दिने प्रचलन छ ।
बैंक वा वित्तीय संस्थाहरुका संस्थापकहरुले हामीले पूँजी लगानी गरि जोखिम उठाउँदै संस्थापना गरेको संस्था भएकाले यो हाम्रो बैंक वा वित्तीय संस्था हो भन्ने सोच राख्ने गरेको पनि पाइन्छ । तर अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाको नियमक निकायले संस्थापकहरुले थोरै पूँजी लगानी गरि कम्पनी संस्थापना मात्र गरेको हो, यसको कारोबारका लागि आवश्यक पर्ने बचत सर्वसाधारणबाटै संकलने गर्ने भएकाले यो पब्लिकको बैंक हो भन्ने गरिएको छ । वास्तवमा यसमा शेयरधनीले भन्दा सर्वसाधारणहरुले बहन गर्ने जोखिम अत्यधिक बढी हुन्छ । त्यसैले पनि नियमक निकायले एकदमै सुक्ष्म तवरले बैंक तथा वित्तीय संस्थाहरुको नियमित अनुगमन गरिरहेको हुन्छ । केन्द्रिय बैंकको फितलो अनुगमनका कारण पनि विगतमा केहि बैंक तथा वित्तीय संस्थाहरुमा संस्थापक वा व्यवस्थापनको लापरवाही र गलत नियतबाट संस्थाहरु रुग्ण भई लिक्विडेसनमा गएका उदाहरणहरु पनि निकै छन् ।
मकवानपुर, चितवन र काभ्रेपलाञ्चोक जिल्लाहरुमा कार्यक्षेत्र रहने गरि हेटौंडामा स्थापना भएको अल्पाइन डेभलपमेन्ट बैंक लि.को चुक्ता पूँजी रु.५ करोड मध्ये संस्थापकहरुले ६७ प्रतिशत अर्थात रु. ३ करोड ३५ लाख लगानी गरि कारोबार शुरु गरिएको थियो । बाँकी ३३ प्रतिशत अर्थात् रु. १ करोड ६५ लाख सर्वसाधारणहरुमा शेयरको प्राथमिकता निष्काशन जारी गरि संकलन गर्नु पर्ने थियो । त्यहिताका नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको चुक्तापूँजी शतप्रतिशतले वृद्धि गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैंकले पूँजी वृद्धि गर्ने समय सीमा पुराना बैंक तथा वित्तीय संस्थाहरुलाई ५ वर्ष र नयाँ इजाजत पाएकाहरुको लागि ३ वर्ष तोकिदिएको थियो । जसअनुसार अल्पाइन डेभलपमेन्ट बैंकले पनि ३ वर्ष भित्रमा चुक्ता पूँजी १० करोड पुर्याउनु पर्ने थियो । तर उक्त समयको अवस्थामा बैंकको चुक्ता पूँजी ३ करोड ३५ लाख मात्र भएकाले पूँजीको आधारमा अल्पाइन डेभलपमेन्ट बैंक निकै सानो थियो । पूँजीको आकार सानो भएकाले कारोबारको आकार र खर्च पनि सानोबाटै शुरु गर्नु व्यवस्थापनको बाध्यता नै थियो । अल्पाइनले ठूलो संस्थागत बचत स्विकार्नु वा ठूलो कर्जा प्रवाह गर्नु उक्त समयमा जोखिमपूर्ण नै थियो । तर ठूला वाणिज्य बैंकहरु र पुराना स्थानीय फाइनान्स कम्पनीहरुको आधिपत्य रहेको मकवानपुरको वित्तीय बजारमा छिरी आफ्नो हिस्सा बनाउन अग्रगामी बजार रणनीति लिनु पनि अत्यन्त जरुरी थियो । बजारलाई आकर्षण गर्न सर्वप्रथम हाम्रो सेवाहरु सरल र ग्राहकमैत्री हुनु आवश्यक थियो । यस कुरामा सबै कर्मचारीहरुलाई विशेष सजग पनि गराइएको थियो ।
हामीले कारोबार शुरु गरेको केहि दिन पश्चात नै बडा दशैंको आगमन भएको थियो । त्यहि अवसर पारेर हाम्रो विकास बैंकले ग्राहकहरुलाई आकर्षित गर्ने बचत र कर्जाका प्रोडक्टहरु सहित अन्य सेवाहरुको जानकारी समेत समावेश गरेर पम्प्लेट तयार गरेका थियौं । हामीले हाम्रो विकास बैंकको मूलमन्त्र “सबैको लागि सधैंका लागि सरल बैंकिङ्ग” भन्ने निर्धारण गरेका थियौं । यहि नारा भएको ब्यानर र पम्प्लेट सहित हामी सबै कर्मचारीहरु घटस्थापना देखि फूलपातीको दिनसम्म स्थानीय भुटनदेवी मन्दिरमा विहान ४ बजे देखि नै व्यापक प्रचारप्रसारका लागि उपस्थित हुने गरेका थियौं । स्थानीय २ वटा एफ एम र स्थानीय दैनिक पत्रपत्रिकाहरुमा समेत हामीले आक्रामक प्रचारप्रसार गरेका थियौं ।
हेटौंडाको स्थानीय बैंक तथा वित्तीय संस्थाहरुले कुन शिर्षकमा कर्जा दिदैनन भनी बुझ्दा हायर पर्चेज शिर्षक अन्तर्गत मोटर साइकलमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले कर्जा नदिने गरेको पाइए पछी हाम्रो विकास बैंकले मोटर साइकलमा नै कर्जा प्रवाह गर्ने तयारी गर्यौं । यसका लागि स्थानीय मोटरसाइकलका दुई वटा आधिकारीक विक्रेताहरुबाट कर्जा किस्ताहरु नियमित गराउन सहयोग गर्ने लिखित प्रतिबद्धता सहित विक्रेताको सिफारिशमा धमाधम प्रति मोटरसाइकल रु. १ लाखसम्म कर्जा प्रवाह गर्न थालियो । मोटरसाइकल कर्जा लिनेहरूबाट अनिवार्य रुपमा बचतखाता खोल्न लगाइएको थियो । झन्डै ३०० जति मोटरसाइकलमा कर्जा कर्जा प्रवाह गरेपछि बैंक शाखामा दैनिक ग्राहकहरुको उपस्थिति बाक्लो देखिन थालेको थियो ।
अंग्रेजी महिनाको नयाँ वर्षको अवसरमा होटल एशोसियसन अफ मकवानपुरले २ दिन मूख्य सडकमा फुड फेस्टिबलको आयोजना गरेको थियो । त्यस फेस्टिबलमा बुद्धचोक नजिक हाम्रो बैंकले पनि एउटा स्टल भाडामा लिई “थोपा थोपा बचत” को व्यापक प्रचारप्रसार गरिरहेको थियो । त्यतिबेला बैंक तथा वित्तीय संस्थाहरुमा बचत खाता खोल्न न्यूनतम रु. १ हजार चाहिने थियो तर हामीले रु.५० मा नै थोपा थोपा बचत अन्तर्गत खाता खोल्न सकिने साथै फोटो र नागरिता पछी दिए हुने भन्दै प्रसारप्रसार गरेका थियौं । “नो आइडी नो प्रोबलम, नो फोटो नो प्रोबलम ओपन योर एकाउन्ट विथ अल्पाइन एट फिफ्टी रुपी ओन्ली” भन्ने हाम्रो व्यापक प्रचारप्रसारले दुई दिने उक्त मेलामा झन्डै ५ सय बचत खाताहरु खुलेका थिए । केहिदिन भित्रमा नै ती सम्पूर्ण बचतकर्ताहरुको फोटो र नगरिताहरु संकलन गरि खातालाई सक्रिय बनाउन सफल भएका थियौं । यस बाहेक हरेक कर्मचारीहरु तथा स्थानीय केहि संस्थापकहरुबाट पनि आफ्ना छरछिमेक, साथीभाई,नातागोताहरुलाई बचत खाता खोलाउने अभियानले पनि व्यापकता पाइरहेको थियो ।
त्यस्तै, कर्जा प्रवाह तर्फ पनि गाउँका किसानहरुलाई रु. २० हजार देखि साना व्यवसाय र व्यापार गर्नेहरुलाई रु १० लाख सम्म कर्जा दिने कुरालाई हामीले प्राथमिकता बनाएका थियौं । त्यस्ता ऋणीहरुले पहिले अनौपचारीक क्षेत्रहरुबाट वा सहकारीहरुबाट ऋण लिदै आइरहेका थिए । यसरी सानो ३ जिल्ला कार्यक्षेत्र भएको अल्पाइन डेभलपमेन्ट बैंकले पहिले बैंक वा वित्तीय संस्थाहरु माझ पहुँच नभएका बचतकर्ता र ऋणीहरुलाई नै वित्तीय सेवाहरु प्रदान गर्ने रणनीति लिएको थियो । बचतकर्ता मुख्यतया दुई किसिमका हुन्छन् । भविष्यको लागि बचत गर्ने र व्याज प्रतिफलको लागि बचत गर्ने । अल्पाइन जस्तो सानो र नयाँ बैंकको लागि भविष्यका लागि बचत गर्ने बचतकर्ताहरु नै भरपर्दो हुने भएकाले नै त्यहि प्रकारका बचतकर्ताहरुलाई आकर्षित गर्ने प्रयासमा व्यवस्थापन केन्द्रित भएको थियो । भर्खर व्यवसाय शुरु गरेका, बैंकबाट ऋण नलिएका र ऋण लिन त्यति उत्साहित नरहेका ऋणीहरुमा नै सानो सानो कर्जा दिएर ऋणीहरुको व्यापार/व्यवसाय/उद्योग र अन्य उत्पादनमूलक व्यवसाय वृद्धि गर्न कर्जा लगानी गरिरहेका थियौं । स—साना पूँजी लगानी गरेका संस्थापकहरु र स—साना रकम निक्षेप गरेका बचतकर्ताहरुको हितमा बैंक व्यवस्थापनले एग्रेसिभ बैंकिङ्ग नगरेर टेक अपको तयारीमा रहेको हवाईजहाज रनवेमा नै हिडिरहे झैं अल्पाइन डेभलपमेन्ट बैंकलाई उड्न हतार थिएन ।
त्यतिबेला नयाँ खुलेका वित्तीय संस्थाहरुले संचयकोष, नागरिक लगानीकोष, प्रहरी कल्याणकारी कोष, सेनाको कल्याणकारी कोष, विमा कम्पनी र अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट हारगुहार गरी ठूला ठूला निक्षेप ल्याई मिडिया मार्फत उद्घघाटन कै दिन निक्षेप संकलनमा रेकर्ड बनाउने होडबाजी नै चलेको अवस्था पनि थियो । व्याज प्रतिफलको लागि निक्षेप गरिरहेका यस्ता बचतहरु धेरै दिन टिकाउ नहुने र यस्तो बचत लगानीयोग्य पनि नभई मात्र वित्तीय संस्थाको शोभा बनाउने मात्र हुने देखिएकाले यस्तो बचतमा अल्पाइन डेभलपमेन्ट बैंकले कहिल्यै ¥याल चुहाएन ।


No comments