एयरपोर्ट र भ्यू टावर सम्भावित क्षेत्रको अवलोकन
प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ को पदमपोखरी क्षेत्रमा स्थलगत भ्रमण गरेका छन् । केही समयअघि प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री सहितको टोली समेत पदमपोखरीमा पुगेर चक्रपथ निर्माण गर्ने लगायतका कुरामा चासो व्यक्त गर्दै पदमपोखरी–हेटौँडा–तिनताप्के चक्रपथको सम्भाव्यता समेत अध्ययन गरेका थिए ।
वडा नम्बर १२ मुख्यमन्त्री डोरमणि पौडेलको समेत निर्वाचन क्षेत्रमा पर्ने भएका कारण अहिले पदमपोखरीमाथि प्रदेश सरकारको विशेष ध्यान गएको बुझिएको छ । हेटौंडाबाट नजिकै रहेर पनि विकासका गतिमा पछाडि परेको पदमपोखरीमा जनप्रतिनिधिहरु आएसँगै भएका केही विकासका प्रयासहरु र विभिन्न मागहरुका बारेमा समेत प्रदेश सरकारसम्म चर्चा चल्न थालेपछि पदमपोखरीमा विकासको सम्भाव्यता अध्ययनमा मन्त्रीहरुले चासो देखाएको जानकारहरु बताउँछन् ।
जनप्रतिनिधिहरु सहितको टोलीले मन्त्रीद्वयलाई पदमपोखरीका सहकारी तथा विकास सम्भावित क्षेत्रको अवलोकन गराएका थिए । मन्त्रीद्वयले हेटौँडा १२ हात्तिगौँडा तथा वडा नम्बर १३ पदमपोखरी क्षेत्रमा अवस्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्था, गुप्तेश्वरी कृषि सहकारी, ग्रामिण स्वावलम्बन कृषि सहकारी लगायतको अनुगमन गरी त्यहाँको अवस्थाको बारेमा जानकारी समेत लिएका बुझिएको छ ।
स्थलगत भ्रमणका क्रममा एक समय पदमपोखरीमा एयरपोर्ट बन्ने भनेर चर्चामा आएको क्षेत्रको समेत मन्त्रीद्वयले अवलोकन गरेका छन् । स्थानीय चुनाव तथा प्रदेश चुनावका समयमा यस क्षेत्रबाट चुनावमा होमिएका उम्मेदवारहरुले पदमपोखरीमा एयरपोर्ट निर्माणको सम्भावनाको बारेमा ठूलो बहस खडा गरेका थिए । तर पछि त्यो विषयले कुनै निरन्तरता पाएको थिएन ।
केही जानकारहरुका अनुसार पदमपोखरीमा प्राविधिक रुपमा एयरपोर्ट बन्न नसक्ने भन्ने अष्पष्ट जानकारी दिएको भएता पनि अहिले त्यसको बारेमा सबै मौन छन् । एयरपोर्टसँगै पदमपोखरीमा मेडिकल कलेज बन्ने भन्ने बारेमा समेत बहस चलेको थियो । मन्त्रीद्वयले अवलोकनको क्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ ठूलोथली नजिकै रहेको भ्यू टावर निर्माण गर्ने सम्भावित क्षेत्रको समेत अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा पदमपोखरी क्षेत्रमा विकासको ठूलो सम्भावना रहेको बताउँदै मन्त्रीद्वयले पदमपोखरी विकासको पूर्व तयारीमा जुट्नुपर्ने समेत बताएको बुझिएको छ । पदमपोखरीमा सरकारी लगानी लैजान सके विकासको ठूलो सम्भावना रहेको मन्त्रीहरुले बताएका छन् । त्यसका लागि आफूहरु पनि लागी पर्ने बताउँदै उनीहरुले विशेष योजना बनाएर पदमपोखरीको विकास गर्नुपर्ने बताएका छन् ।
वडा नम्बर १२ का लागि प्रदेश सरकारले सडक पूर्वाधार निर्माण तर्फ ७० लाख तथा खानेपानीका लागि करिब १ करोड बजेटको समेत व्यवस्था गरेको बुझिएको छ । यस अघि मन्त्री ,पूर्व सांसद, उपमहानगरपालिकाका उपमेयर सहित पदमपोखरी पुगेका हेटौँडा १२ को रमन्टार र हेटौँडाको तिनताप्के जोड्ने निर्माणाधिन पुल तथा हेटौँडा ९ लामसुरे र हेटौँडा १३ पदमपोखरी जोड्ने कुख्रेनी खोलामा निर्माणाधिन पुलको समेत निरिक्षण गरेका थिए । पदमपोखरीमा पर्यटनको सम्भावना तथा प्रदेशले पुर्याउनु पर्ने योजनाहरु, हेटौँडा १३ पदमपोखरीमा अवस्थित महेन्द्र उच्च माविमा प्राविधिक शिक्षालय निर्माण गर्ने तथा उच्च माविमा प्राविधिक शिक्षालय निर्माण गर्ने र इन्जियनिरङ कलेजको समेत सम्भाव्यता अध्ययन गरेका थिए ।

No comments