आँपको खपत दोब्बर, मूल्य भने आधा
हेटौंडा नगरमा आँपको खपत यो वर्ष दोब्बरले बढेको छ भने मूल्य आधा घटेको छ । नेपालमा उत्पादन बढेका कारण यो सिजनमा भित्रने भारतीय आँप भित्रनै नपाएको व्यवसायीहरू बताउँछन् । खोपेगल्ली र बसपार्क स्थित फलफूल थोक व्यावसायिक संघका अनुसार औषतमा दैनिक २ गाडी आँप हेटौंडा थोक बजारमा भित्रिरहेको छ । एक गाडीमा ५ सय पेटी हुन्छ भने एक पेटीको थोक मूल्य अहिले आठ सयको दरले दैनिक बजारबाट मात्र विक्री भैरहेको छ । गत वर्ष सुरुका दुई महिनामा भारत र नेपाली आँपको हिस्सा ५०÷५० प्रतिशत हुथ्यो तर यो वर्ष पूरै सिजन नेपाली आँपमात्र भित्रिएको छ । यति धेरै मात्रामा नेपाली आँपले मात्र बजार भरिएको दशक यताकै पहिलो भएको थोक व्यापारीहरु बताउँछन् ।
आँपले गर्दा अन्य फलफूलको विक्री नै नभएको अनुभव व्यवसायीहरुको छ । सिजनमा सबैभन्दा बढी कारोबार हुने आँप हो माल्दह । तर, नेपाली माल्दह समयमै धेरै मात्रामा भित्रदा भारतीय माल्दह आँपले नेपाली बजारमा प्रवेश नै नपाएको संघले जनाएको छ । बजारमा आइपुग्दाको नेपाली माल्दह आँपको मूल्य र भारतमा भारतीय माल्दह आँपको मूल्य उस्तै पर्न आउने भएकाले भारतीय आँप कम भित्रिएको हो । यो वर्षको आँपको सिजन सुरु भएयता नै मूल्य स्थिर रहेको र अझै डेड सातासम्म मूल्य स्थिर नै रहने अवस्था रहेको व्यवसायीहरुको अनुमान अनुमान छ ।
गत वर्ष प्रतिकिलो ७५ रुपैयाँमा थोक कारोबार भएको आँप अहिले ४० देखि ५५ रुपैयाँमा कारोबार भएको व्यवसायीहरुले जनाएका छन् । खुद्रा मूल्यमा भने बजारमा एक रूपता नभएको उपभोक्तहरु बताउँछन् । यद्यपी गत वर्ष भन्दा यो वर्ष आँपको मूल्य कम नै भएको व्यापारीहरुको दावी छ । भित्रिएको आँप उपभोक्तासम्म पु¥याउने ठेलागाडा, रिक्सा र साइकलमा फलफूल तथा तरकारी विक्री गर्नेमाथि काराबाही थालेपछि व्यवसायीको संख्या घटेपछि थोक व्यवसायीले कम मूल्यमै विक्री गर्नुपर्ने अवस्था आएको जानकारहरु बताउँछन् । आँप पाक्नु अगाडी नै रुख नै किन्नु पर्ने भएकाले कतिपय व्यवसायीले आँपको मूल्य नपाएर घाटा पनि व्यहोरीरहेको बुझिएको छ । यो वर्ष उपभोक्ताले सस्तोमा गुणस्तरीय आँप उपभोग गर्न पाएको व्यापारीहरु बताउँछन् ।

No comments