हेटौंडाको अनुमानित बजेट प्रस्ताव
हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७५/७६ का लागि १ अर्ब ६३ करोड ४ लाख ५७ हजार अनुमानित बजेट प्रस्ताव गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयरको अध्यक्षतामा भएको यहिसाता भएको तेस्रो नगरसभा बैठकले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेट समेत प्रस्तुत गर्दै उपमहानगरपालिकाले डेड अर्ब रुपैयाँ भन्दा बढीको बजेट प्रस्तुत गरेको हो । कूल बजेट मध्ये कार्यालय सञ्चालन तथा प्रसासनिक खर्च तर्फ १६ करोड ५९ लाख ६४ हजार अनुमान गरिएको छ । उपमहानगरपालिकाले पूँजिगत तर्फ बिनियोजन प्रस्ताव गर्दा गत नगर सभाबाट स्विकृत गरेको रणनीतिक, नगरस्तरीय ठूला पूर्वाधार र नगरस्तरीय क्षेत्रगत आयोजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएको सम्बन्धित पक्षले जनाएको छ ।
नगरका सम्पूर्ण वडाहरुलाई भूगोल, जनसंख्या, गरिवीको अवस्था र पूर्वाधार संरचनाको वर्तमान अवस्था समेतको आधारमा क र ख वर्गमा विभाजन गरी वडास्तरीय आयोजना तथा कार्यक्रमहरुका लागि मात्र २० करोड ५० लाख बिनियोजन प्रस्ताव गरिएको छ । क्षेत्रगत रुपमा आर्थिक बिकास तर्फ (कृषि, पशु, उद्योग वाणिज्य, पर्यटन, सहकारी र बित्तीय क्षेत्र) कूल २ करोड ६४ लाख रुपैयाँ बिनियोजन गरिएको बुझिएको छ ।
उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले प्रस्तुत गर्नु भएको बजेटमा विकास निर्माणका कामलाई बढी प्राथमिकता दिइएको छ । सामाजिक विकास क्षेत्र अर्न्तर्गत (शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, खाद्य परिक्षण प्रयोगशाला, सँस्कृति प्रवर्द्धन, खेलकुद तथा मनोरन्जन र लैङ्गिक समानता र सामाजिक समावेसीकरण) कूल ६९ करोड १७ लाख विनियोजन गरिएको सम्बन्धित निकायले जनाएको छ । पूर्वाधार विकास क्षेत्र तर्फ (स्थानीय सडक, पुल तथा झोलुङ्गेपुल, सिचाई, भवन तथा शहरी बिकास, सडकबत्ती, उर्जा, खानेपानी पूर्वाधार तथा वडागत आयोजनाहरु समेत) कूल ३७ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसै गरी वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ ७ करोड ३१ लाख विनियोजन गरिएको छ । यसै गरी संस्थागत विकास, सेवा प्रवाह र शुसासन क्षेत्र तर्फ कूल २ करोड १६ लाख विनियोजन गरिएको पनि निकायले जनाएको छ ।
आगामी २ बर्ष भित्र दिर्घकालिन प्रभाव दिने खालका नगरस्तरीय गौरवका आयोजनाहरु सञ्चालन गर्न विनियोजन गरिने बताइएको छ । त्यस्ता आयोजनाहरुको विस्तृत सम्भाव्यता अध्ययन सहित परियोजना निर्माणका लागि १ करोड विनियोजन प्रस्ताव गरिएको बुझिएको छ । यसै गरी सडक मर्मत सम्भार अर्न्तर्गत नगरक्षेत्रका बिभिन्न सडक खण्डको मर्मत सुधारका कार्यक्रमहरु संचालनमा ल्याउने प्रस्ताव गरिएको छ । साथै बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले खाद्य परीक्षण प्रयोगशालाको निर्माण तथा सञ्चालनका लागि बजेट विनियोजन प्रस्ताव गरिएको छ ।

No comments