घडी र जीवन एउटै "सफलता उसले पाउँछ, जसले समयलाई पर्खदैन !"
- सुदर्शनप्रसाद अधिकारी
घडी जसरी टिक टिक गर्दै निरन्तर अघि बढिरहन्छ, त्यसरी नै जीवन पनि लगातार आफ्नै गतिमा अगाडी बढिरहनु पर्दछ । घडी एउटा मेसिन हो र निरन्तर अघि बढ्ने गरेर उसलाई व्यवस्थापन गरिएको हुन्छ त्यसैले त घडीको निरन्तरता सधैं एउटै हुन्छ । ठिक काम, ठिक तरिकाले ठिक समयमा गरेमा सफलता हासिल नहुने कुरै हुन्न । तर मानिसको जीवनमा निरन्तर अघि बढिरहन अनेकौं समस्याहरु तगारो बनेर सामुन्ने आइरहेका हुन्छन् । प्राकृतिक, मानवीय व्यवहार, आफ्नो निर्णय आदि कारणहरुबाट समस्याहरु जीवनका गोरेटोहरुमा यात्रहरुलाई बिथोली दिन आइ नै रहेका हुन्छन् । तर आफ्नो जीवनमा आउने यसप्रकारका अनेकौं अवरोधहरुलाई पराजित गर्दै घडीको सुइले झैं सधैं अग्रगामी हुन सकेमा हामी हाम्रो जीवनमा सफल अनि अझ सफल हुँदै जान सक्दछौं ।
अल्पाइन डेभलपमेन्टका ५२ जना संस्थापकहरु मध्ये ३ जनाले नेपाल राष्ट्र बैंकबाट इजाजत लिने क्रममा जम्मा गर्नुपर्ने धरौटी रकम जम्मा गरिरहेका थिएनन् । संस्थापकले प्रस्तावित वित्तीय संस्थामा लगानी गर्छु भनी प्रतिबद्धता अनुरुपको रकम मध्ये विभिन्न चरणहरुमा क्रमश: ५ प्रतिशत, ४५ प्रतिशत र ५० प्रतिशत रकम नेपाल राष्ट्र बैंकमा वा उसले तोकेको अन्य बैंकको खातामा धरौटी गर्नु पर्ने व्यवस्था थियो । पहिलो चरणको ५ प्रतिशत रकम सबैले निवेदनसंगै जम्मा गरेता पनि दोस्रो चरणको ४५ प्रतिशत ३ जनाबाट जम्मा हुन सकिरहेको थिएन । सबैबाट तोकिएको रकम जम्मा नभएसम्म प्रस्तावित विकास बैंकको इजाजत प्रक्रिया अगाडी नबढ्ने राष्ट्र बैंकको नियम थियो । अर्कोतिर नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढिरहेको प्रति विश्व बैंकको असन्तुष्टी बढिरहेको थियो र इजाजत रोक्न नेपाल राष्ट्र बैंक बाध्य हुन सक्ने अवस्था थियो । यस्तो स्थितिमा केहि संस्थापकहरुले आफ्नो प्रतिबद्धता अनुरुप रकम जम्मा नगरेका कारण इजाजत प्रक्रिया अवरुद्ध हुन दिनु उचित थिएन ।
जीवनमा निरन्तर अघि बढीरहन अन्य व्यक्ति माथि विश्वास गर्नु र विभिन्न खाले जोखिमहरू उठाई रहनु सामान्य यथार्थ हो । प्रतिबद्धता अनुरुप धरौटी जम्मा नगर्ने ३ जना संस्थापकहरु मध्ये १ जनासंग नगद नभएकाले, एकजनासँग तत्काल रकम नभएकाले र तेस्रो संस्थापकले करकापमा लगानी गर्ने प्रतिबद्धता दिएको भएर पनि उनीहरु ३ नै जना प्रस्तावित विकास बैंकमा नियमानुसार पैसा जम्मा गरिरहेका थिएनन् । इजाजत प्रक्रियालाई अवरुद्ध हुन नदिन मैले ती ३ नै जना संस्थापकहरुको प्रतिबद्धता अनुरुपको ४५ प्रतिशत धरौटी रकम जम्मा गरि उनीहरु उपर विश्वास गरेर केहि वित्तीय जोखिम पनि उठाएको थिएँ । इजाजत प्रक्रिया अघि बढ्दै स्वीकृतिको नजिक लेटर अफ इन्टेण्ड दिनु अधि धरौटीको अन्तिम किस्ता ५० प्रतिशत रकम जम्मा गर्ने क्रममा पनि उपरोक्त ३ जना संस्थापकहरुको रकम समेत मैले नै जम्मा गरिदिनु परेको थियो ।
वहाँहरुका लागि मैले जम्मा गरिदिएको धरौटी रकम केहि महिना पछी मैले फिर्ता पाएको थिएँ । निरन्तर अघि बढिरहेको समयसंगै इजाजतको काम पनि अघि बढाउनका लागि मात्र मैले वहाँहरुको प्रतिबद्धता अनुरुपको लगानी रकम जम्मा गरिदिएको थिएँ । समय खेर नफाली समयको सदुपयोग गर्न सकिएकाले पनि नेपाल राष्ट्र बैंकमा प्रस्तावित विकास बैंकले दर्ता गरेको करिब ९ महिनामा नै इजाजत पाएको थियो ।
कम्पनि रजिस्टारको कार्यालयमा दर्ता भएको अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडको संचालक समितिले २०६४ भाद्र २ गते देखि मलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । पछी संचालक समिति अन्तर्गतको कर्मचारी व्यवस्थापन उपसमितिले पश्चिमान्चल विकास बैंकका कमल नेपाल लगाएत पहिले कुनै पनि बैंक वा वित्तीय संस्थामा काम नगरेका ७ जना सहायक स्तरमा २०६४ आश्विन १ गते देखि नियुक्ति गरेको थियो । नेपाल राष्ट्र बैंकबाट डेभलपमेन्ट बैंकको कारोबार गर्ने इजाजत केहि दिन भित्र आउने सम्भावना रहेकाले नयाँ नियुक्त भएका ७ जना सहायकहरुलाई बैंकिङ्ग कारोबारको विभिन्न तालिमहरु दिन शुरु गरेको थियो । वाणिज्य बैंकिङ्ग रिटेल कर्जा प्रवाहको प्रक्रियाहरुको ज्ञान मलाई पनि पर्याप्त नभएकाले हेटौंडा स्थित लुम्बिनी बैंक लिमिटेडका कर्जा प्रमुखलाई कर्जा सम्बन्धि तालिम दिन अनुरोध गरेको थिएँ । असोज १ गते देखि बैंकिङ्ग कारोबार सम्बन्धि नियमित तालिमहरु संचालन हुन थालेको थियो ।
असोज १६ गते नेपाल राष्ट्र बैंकबाट अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडलाई बैंकिङ्ग कारोबार गर्ने इजाजत प्राप्त भएको थियो भने यो बिचमा बैंकको कर्पोरेट कार्यालय र मूख्य शाखा कार्यालय संचालनका सबै पूर्वाधारहरु लगायत अन्य सम्पूर्ण तयारी पूरा भईसकेको थियो । साथै कर्मचारीहरु पनि १६ दिन अघि देखि नै तालिममा संलग्न भईरहेका हुँदा हामी लगभग कारोबार शुरु गर्न तयारी अवस्थामा नै थियौं । ज्योतिषबाट नयाँ कारोबार शुरु गर्ने शुभ साइत हेर्न लगाउँदा इजाजत पाएको २ दिन पछी नै अर्थात असोज १८ गतेका लागि साइत जुरेकाले हामीले त्यहि दिन बिहानै पूजापाठ आदि गरी बैंकिङ्ग कारोबारको शुरुवात गरेका थियौं ।
पूजामा र पूजा पछि प्रसाद ग्रहण गर्न हेटौंडास्थित संस्थापकहरुलाई आमन्त्रण गरिएको थियो । पूजा पछि पूजामा उपस्थित ३ जना संथापकहरु तथा कर्मचारीहरुले प्रसाद लिएपछि १० बज्न अझै केहि समय रहेकाले हामी सबै कर्मचारीहरु मिटिङ्ग कक्षमा कारोबार शुरु गर्ने अन्तिम अभिमुखि कार्यक्रममा संलग्न भयौं । त्यसैबेला केहि संस्थापकहरु प्रसाद लिन आउनु भएको रहेछ । हामीहरु मिटिङ्गमा भएकाले गार्डले टिका र प्रसाद उहाँहरुलाई दिँदा उहाँहरुबाट हामीलाई बोलाएर वास्ता नगर्ने भनेर समेत टिप्पणी भएको रहेछ । हामी कर्मचारीहरु भने त्यहि संगैको मिटिङ्ग कक्षमा सफलता पूर्वक कारोबार शुरु गरि ग्राहकहरुलाई बढी भन्दा बढी कसरी सन्तुष्टी प्रदान गर्न सकिन्छ र हेटौंडा स्थित बैंक तथा वितीय संस्थाहरुको भिडमा यस बैंक प्रति कसरी ग्राहकहरुलाई आकर्षित गराउन सकिन्छ भन्ने विषयमा छलफल गर्दै थियौं ।
संस्थापकहरुसंग आवश्यकता अनुरुप उच्च व्यवस्थापनले आवश्यक सुझाव लिने शेयरधनीहरुलाई उचित प्रतिफल दिने हर सम्भव प्रयास गर्ने र शेयरधनीहरुको प्रतिनिधित्व रहेको संचालक समितिको निर्णय तथा निर्देशनहरु कार्यान्वयन गर्ने व्यवस्थापकको प्रमूख कर्तव्य हो । यस बाहेक व्यवस्थापकले बैंकको सफल व्यवस्थापनमा नै सम्पूर्ण ध्यान केन्द्रित गर्नु आवश्यक हुन्छ । विभिन्न लगानीकर्ताहरुले जोखिम उठाएर गरेको लगानीको सुरक्षा तथा उच्च प्रतिफल दिने कार्यमा नै व्यवस्थापन बढी दत्तचित्त हुनु पर्दछ । वास्तवमा बैंक भनेको बैंकर्सको दिमाग हो । पैसा लगानी गर्दैमा बैंक संचालन हुने हुँदै होइन । बैंकर्सहरुले विहान उठे देखि बेलुकी नसुतेसम्म आफूले जिम्मा लिएको कामको उत्पादनशीलताका लागि चिन्तन गर्ने, कार्यान्वयन गर्ने, काम गर्दै जाँदा हुँदै गएका कमि कमजोरीहरुको पहिचान गरि गल्ति कमजोरीहरुको यथोचित सुधार गर्दै बैंकिङ्ग कारोबारलाई दीगो र भरपर्दो बनाउनु नै व्यवस्थापकको प्रमुख प्राथमिकताको कार्य हो ।
नेपालमा उपलब्ध पेशा वा रोजगरीहरु मध्ये बैंकिङ्ग पेशा अधिकांश रोजगारी खोज्नेहरुको रोजाइमा परेको पाइन्छ । देशभरी छरिएर रहेका वित्तीय बजारमा यो सेवामा दत्तचित्त र समयनिष्ट रही आफ्नो दक्षता अभिवृद्धि गर्दै छोटो समयमा नै आफूलाई उच्च पदमा आसिन गराउने सम्भावना प्रवल रहेको हुन्छ । मात्र आफूलाई घडीको टिक टिक जस्तै जीवनका हरेक पललाई बैंकिङ्ग सेवामा समर्पित गराउन सक्नु पर्दछ ।


No comments