उपभोक्ता मुद्रास्फीतिदर बढ्यो
गत चैतमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ५.३ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यो साढे एक प्रतिशत विन्दुले बढी हो । गएको नौ महिनामा तरकारी तथा अन्य खाद्य पदार्थको मूल्यमा भएको छिटफुट वृद्धिका कारण उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा केही उच्च रहन गएको हो ।
०७३ चैतमा यस्तो वृद्धिदर ३.८ प्रतिशत थियो । चालु आर्थिक वर्षको नौ महिनामा औसत मूल्यवृद्धिदर ४.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ‘खासगरी आयातित वस्तु तथा देशभित्र उत्पादन भएको वस्तुमा भएको मूल्य वृद्धिका कारण समग्र मूल्य वृद्धिदर बढ्न गएको हो,’ राष्ट्र बैंकले भनेको छ । यद्यपि चालु आर्थिक वर्ष वार्षिक औसत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) प्रक्षेपणभन्दा कम नै रहने राष्ट्र बैंकले दाबी गरेको छ । चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ७ प्रतिशतभित्रै राख्ने राष्ट्र बैंकको प्रक्षेपण छ ।
गत वर्षको तुलनामा यो वर्ष तरकारी, फलफूलजन्य वस्तुहरू र दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्य बढेकाले खाद्य पदार्थ समूहको मूल्य वृद्धिदर ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.७ प्रतिशत रहेको थियो । यसैगरी गैर खाद्य पदार्थ समूहको मूल्य वृद्धिदर ५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यो समूहको मूल्य वृद्धिदर ६.३ प्रतिशत थियो

No comments