घरजग्गा व्यवसायको वृद्धिदर स्थिर रहने
यो वर्ष जमिनको खण्डीकरण रोक्न सरकारले नयाँ कित्ताकाटमा रोक लगाएको, राष्ट्र बैंकले यो क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गरेको र लगानीयोग्य रकम नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह रोकेपछि चालु आर्थिक वर्ष घरजग्गा व्यवसायको लगभग स्थिर रहने एक सरकारी प्रतिवेदनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार यो वर्ष रियल इस्टेट, रेन्टिङ तथा व्यावसायिक गतिविधि क्षेत्रको वृद्धिदर ५.२४ प्रतिशत रहनेछ । गत वर्षको सोही अवधिको तुलनामा यो ०.४३ प्रतिशत विन्दुले कम हो । गत आर्थिक वर्ष यो क्षेत्रको वृद्धिदर ५.६७ प्रतिशत थियो । सहरी क्षेत्रमा घरजग्गाको कारोबारमा आएको बढोत्तरी तथा व्यावसायिक कारोबारमा आएको सामान्य वृद्धिले यस क्षेत्रको वृद्धिदर सकारात्मक रहे पनि गत वर्षको तुलनामा वृद्धिदर लगभग स्थिर रहने विभागले जनाएको छ । तर, चालु आर्थिक वर्ष यस्तो वृद्धिदरमा अघिल्ला वर्षहरूमा जस्तो बढोत्तरी नआउने विभागको अनुमान छ ।
घरजग्गा क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) पुर्याउने योगदानमा भने चालु आर्थिक वर्ष सुधार आउने देखिएको छ । गत वर्ष जीडीपीमा यो क्षेत्रको योगदान ११.०९ प्रतिशत रहँदै आएकामा यो वर्ष बढेर ११.३७ प्रतिशत पुग्ने विभागको अनुमान छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले घरजग्गा कर्जामा केही कडाइ गरेको छ । यसकारण पनि घरजग्गा व्यवसाय अपेक्षित रूपमा फस्टाउन नसकेको विज्ञहरू बताउँछन् । उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह बढोस् र सट्टेबाजी क्रियाकलापमा वित्तीय साधन केन्द्रित नहोस् भन्ने जारी भएको एक निर्देशनमा भनिएको छ ।
यसैगरी गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ११.३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा करिब २१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
गत फागुनसम्म ओभरड्राफ्ट कर्जा ११.३ प्रतिशतले बढेको छ । जसमध्ये व्यक्तिगत ओभरड्राफ्ट शीर्षकमा प्रावह भएको धेरै रकम घरजग्गामा गएको राष्ट्र बैंकले सार्वजनिक रूपमा बताउँदै आएको छ ।

No comments