रेमिटयान्सले पनि थेग्न सकेन व्यापार घाटा
अहिले व्यापार घाटाको क्रम तीव्र गतिमा चुलीइरहेको देखिन्छ । गएको नौ महिनामा मुलुक भित्रिएको रेमिटयान्स भन्दा व्यापार घाटा करिब ३ खर्ब रुपैयाँले बढी देखिएको छ । घट्दो रेमिटयान्स वृद्धिदर र तीव्र रूपमा बढ्दो आयातले व्यापार घाटा फराकिलो बन्दै गएको विज्ञहरु बताउँछन् । राष्ट्र बैंकको तथ्यांकअनुसार नौ महिनामा रेमिटयान्समार्फत ५ खर्ब ४० अर्ब रुपैयाँ मुलुक भित्रिएको छ भने सोही अवधिमा व्यापार घाटा ८ खर्ब १६ अर्ब रुपैयाँ छ । यसका आधारमा हेर्दा रेमिटयान्स आप्रवाहभन्दा व्यापार घाटा २ खर्ब ७६ अर्ब रुपैयाँले बढी छ ।
अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर फराकिलो बन्दै गएकाले अवस्था चुनौतीपूर्ण बन्दै गएको अर्थविद्हरूले जनाएका छन् ।
चालु आर्थिक वर्षको नौ महिनामा रेमिटयान्समार्फत ५ खर्ब ४० अर्ब ३८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ५.६ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स वृद्धिदर ६.३ प्रतिशतले बढेको थियो । यसैगरी समीक्षा अवधिमा खुद ट्रान्सफर आय ६ खर्ब २१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.९ प्रतिशतले बढेको थियो । यद्यपि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुन: श्रम स्वीकृतिबाहेक) गएको नौ महिनामा ६.८ प्रतिशतले घटेको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.२ प्रतिशतले घटेको थियो ।
यसैगरी चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा यस्तो व्यापार घाटा करिब २२ प्रतिशतले बढी हो । सोही अवधिमा आयात निर्यात अनुपात ६.८ प्रतिशत कायम छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ७.६ प्रतिशत थियो ।
गएको नौ महिनामा ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा निर्यात ८.२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.१ प्रतिशतले बढेको थियो । वस्तुगत आधारमा अलैंची, धागो, पोलिस्टर यार्न, अदुवा, तारलगायत वस्तुको निर्यात बढेको छ । तर, जुस, जीआई पाइप, ऊनी गलैंचा, पस्मिनालगायत वस्तुको निर्यात घटेको छ । भारततर्फको निर्यात ६.९ प्रतिशत, चीनतर्फको ५८.९ प्रतिशत र अन्य मुलुकतर्फको ७.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । तर, कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरी वेयर्स, सानो अलैंची, जिंक इनगोटलगायत वस्तुको आयात घटेको जनाइएको छ ।


No comments