भोज व्यवस्थापन
आजभोली विवाह, ब्रतबन्ध, वार्षिकोत्सव आदि कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा गर्ने चलन अत्यन्त तीव्र रुपमा बढिरहेको देखिन्छ । यसले होटल तथा पार्टी प्यालेसको व्यावसायिक गतिविधिमा राम्रो फाइदा पुर्याएको हामी प्रष्ट देशना सक्छौं । साथै यस्ता व्यवसायीहरुले सम्बन्धित पक्षसंग खाना तथा व्यवस्थापनको राम्रै रकम लिएका हुन्छन् । आफूले तिरेको रकम अनुसारको राम्रै व्यवस्थापन होला र आफ्ना आफन्त तथा निम्तालुहरुले यस्ता ठाउँहरुमा कार्यक्रम गर्दा राम्रो सेवा पाउलान् र मिठो र यथेष्ट खाना खाई सन्तुष्ट हुन् सकुन् भन्ने चाहना र भरोशा प्रत्येक निमन्त्रणा गर्ने पक्षले गरेका हुन्छन् ।
यसरी कार्यक्रम हुनु भन्दा अघि नै होटेल तथा पार्टी प्यालेसका व्यवसायीहरुसंग बसेर खाना तथा स्न्याक्स तथा अन्य मेन्यु र आउने निम्तालुको संख्या साथै प्रति प्लेट ख्नाको कति रकम लिने जस्ता विषयमा सम्झौता भैसकेको हुन्छ । उदाहरणका लागि मानौं प्रति प्लेट रु. ५०० मूल्य तोकिएको छ भने त्यहाँ प्रत्येक निम्तालुहरुले उठाएको प्लेटमा रु. ५०० बराबरको खानेकुरा लिएको हुन्छन् भन्ने अनुमान गरिएको हुन्छ । तर वास्तवमा त्यो कार्यक्रममा जाने सबै निम्तालुहरु भोक मेटाउन या खाना खाने भनेर गएका हुँदैन् । धेरै जसो निम्तालुहरु बधाई, शुभकामना तथा आशिर्वाद दिने भनेर मात्र गएका हुन्छन् र औपचारिकताका लागि मात्र खानाको लाइनमा गैर प्लेट समाएका हुन्छन् । यस प्रकारका निम्तालुहरुले आफ्नो प्लेटमा ५०० को खाना राखेको पाईदैन । भने धेरैले लामो लाइनका कारण थोरै मात्र खाना राखेर अघि बढिसकेका हुन्छन् र यसरी अघि बढ्नु पर्ने बाध्यता नै हुन्छ ।
खाना अर्डर गरिएको संख्याको लागि प्रति प्लेट ५०० पर्ने परिमाणको खाना बनाएको स्थितिमा आगन्तुकले कम खाना लिएकै कारण खाना फालिनु र आयोजकले तोकिएको संख्याको तोकिएकै दरमा पैसा लिनु सामान्य हो तर खानाको लाइनमा बसेका आगन्तुकले सर्भिंग डीसमा खाना नभएका कारण खानाको कुनै कुनै परिकारहरु प्लेटमा राख्न नपाई लाइनबाट अगाडी बढ्नु पर्ने अवस्थालाई भने " व्यापारिक बेइमानी" भन्न सकिन्छ । गत विहिवार एउटा होटेलमा भएको बिवाह भोजमा खानाका केहि डीसहरु धेरै बेर सम्म खालि रहँदा ठूलो संख्यामा निम्तालुहरु भएकै केहि परिकारमा मात्र चित्त बुझाई निस्किएका थिए । यसरि अगाडी नै आगन्तुकको संख्या,रकम खानाका मेन्यु सहित कन्फर्म गरि अर्डर गरिएको खानामा, खानाका सर्भिंग डीसहरु नै खाली भैरहनु तर पैसा चाहिँ पूरै तिर्नु पर्ने बाध्यता भने अन्यायपूर्ण छ । यो पनि एकप्रकारको व्यापारिक बेइमानी र अदृश्य रुपमा गरिएको भ्रष्टाचार नै हो । हाम्रै अगाडी हुने यस्ता बेइमानीपूर्ण कार्यलाई हामी सबैले मिलेर दुरुत्साहित गनुपर्छ ।

No comments