तरलता सहज बन्दै
करिब डेढ वर्षदेखि तरलता (लगानीयोग्य रकम) अभावको समस्या भोग्दै आएको वित्तीय क्षेत्र पछिल्ला दिनहरूमा सहज बन्न थालेको छ ।यो अवधिमा बैंक तथा वित्तीय संस्थाले कर्जा विस्तार सुस्त बनाएको, सरकारी खर्च बढ्न थालेको, निक्षेप बढ्दो दरमा रहेकोलगायत कारणले तरलता अवस्था सहज बनेको हो । बैंक तथा वित्तीय संस्थामा तरलता सहज बन्दै गए पनि उत्साहित भएर ऋण दिने अवस्था भइनसकेको बैंकरहरूले बताएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार आइतबारसम्म बैंकहरूसँग ३४ अर्ब रुपैयाँ अधिक तरलता (अनिवार्य नगद मौज्दात (सीआरआरबाहेक) छ । यो बैंकहरूले लगानी दिन मिल्ने पैसा हो । अहिले तरलता अवस्था सहज छ, यसकारण बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा रोक्नुपर्ने अवस्था नभएको विज्ञहरु बताउँछन ।
हाल बैंकहरूसँग रहेको ३४ अर्ब रुपैयाँ अधिक तरलतामध्ये राष्ट्रिय वाणिज्य बैंकलगायत २/३ वटा बैंकसँग ५० प्रतिशतभन्दा बढी छ । यसकारण केही बैंकहरू अझै पनि समस्यामा रहेको स्रोतले बताएको छ । वाणिज्य बैंकहरूको कर्जा निक्षेप तथा पुँजी (सीसीडी) अनुपात औसत ७६ देखि ७७ प्रतिशतसम्म छ । करिब डेढ महिनाअघिको तुलनामा अहिलको अवस्था निकै सहज हो । हाल बैंकहरूमा निक्षेप बिस्तारै बढ्न थालेकाले तरलता (लगानीयोग्य रकम) सहज बन्दै गएको नेपाल बैंकर्स संघ बताएको छ ।

No comments