आशा लाग्दो शुरुवात !
भरखरै गठन हुँदै गरेको मन्त्रीमण्डलमा काम गर्ने र लूभ नगर्ने मंतीहरुलाई समावेश गरिएकोमा जनता हर्षित देखिएका छन् । हाल देशमा व्याप्त भ्रष्टाचार, ठगि, ढिलासुस्ती, नीतिगत बेइमानी जस्ता विभिन्न विकृतिहरुबाट नेपाली जनताहरु वाक्कदिक्क भैरहेको बेला अहिलेको मन्त्रीमण्डलमा समावेश गरिएका केहि व्यक्तित्वहरुका कारण अब देशमा केहि राम्रो र निष्पक्ष काम हुने कुरामा सम्पूर्ण नेपालीहरुको मानसपटमा केहि आशाको दियो बलिरहेको छ । 
देशमा अहिले सडक छ तर मोटर गुडाउन निकै गाह्रो र जोखिमपूर्ण छ, सरकारको ढुकुटीमा पैसा छ तर विकास छैन । मित्र राष्ट्रहरुले बनाई दिएका  उधोगहरु बन्द गराएर बेरोजगारी बढाईएको छ । आधारभूत सेवाहरु जस्तै शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा व्यापक व्यापारीकरण हुँदै गएकाले साधारण जनताहरुको पहूँच भन्दा धेरै पर पुगेका छन् ती क्षेत्रहरु । यी र यस्ता अनेकौं जटिलताहरु र व्याथितिहरु बर्षौं देखि देशमा मौलाउँदै आईरहेको छ । यस्ता कुरितिहरुलाई मिलाउन साँच्चै अहिले देशमा एउटा इमान्दार, कर्मठ र दूरदृष्टि भएको केन्द्र सरकार र प्रदेश सरकारको खाँचो रहेको छ । 
प्रदेश सरकारले पनि आफूसंग भएका स्रोत र साधनहरुको उच्चतम उपयोग गरि प्रदेश- प्रदेश बीच आपसी मनमुटाव भन्दा पनि विकासमा चाँही प्रतिस्पर्धा गराउन सके मात्र संघिय शासन व्यवस्थाको औचित्य रहने प्रष्ट छ । अब नेता र मन्त्रीहरुले जनता माझ गैर यो गर्छु र त्यो गर्छु भनेर ठूला ठूला भाषण मात्र छाँट्नु भन्दा काम गरेर चाँही जनतालाई आश्वस्त पार्न तर्फ लाग्दा नै उपयुक्त हुने देखिन्छ । 
चुनावी माहोल अब ५ वर्षको लागि सकिएको छ त्यसैले अबको यो ५ वर्ष सम्ममा काम गरेर जनाताको दिल र दिमागमा ठाउँ बनाउन सक्नु नै नेताहरुका लागि उपयुक्त विकल्प रहेको छ । ठूला ठूला भाषणी आश्वासन र प्रतिवद्धताहरु त चुनावमा भोट तान्न जनताको आखाँमा धूलो झर्ने हत्कण्डा मात्र हुन् । अब पनि काम भन्दा कुरा मात्र ठूलो गरेरै बस्ने हो भने नेताहरुले आफ्नो खुट्टामा आफैंले बन्चरो हानेको सावित हुनेछ । महत्वाकांक्षी गफ मात्र दिएर मिडिया र सामाजिक संजालहरु केहि समयको लागि तताउनुको सट्टा देशमा विकराल रुपमा फैलिएको व्यथितिहरुलाई हटाउँदै एउटा स्वावलम्बी, सुशासित र समृद्ध राष्ट्रको रुपमा देशलाई अघि बढाउन अहिलेको सरकार इमान्दार र क्रियाशील बन्न सकोस्, हाम्रो शुभकामना !!
 
 
 
 
 
 
 

No comments