Add

Add

म गर्न सक्छु !


                                           
                                            सुदर्शनप्रसाद अधिकारी 

कोहि मानिस जन्मदै सबै कुरा जानेर पर्फेक्ट भएर जन्मेको हुँदैन, जीवनका आरोह अवरोहहरुमा आउने हरेक आयामहरुले नै मानिसले क्रमिक रुपमा आफूलाई निखार्दै लाने हो । जीवनका यिनै अनगिन्ति उकाली ओरालीहरुमा आउने अनेकौं समस्या र चुनौतीहरुसंग निडरताका साथ् जुझ्दै त्यहि अप्ठ्याराहरुबाट सहि अवसरको पहिचान गरि आफूलाई सफलता तर्फ उन्मूख गराउने अदम्य साहस तथा दक्षता भने मानिसमा हुनै पर्दछ । आफूलाई र आफ्नो जीवनलाई प्रगतिपथ तर्फ उन्मुख गराउने या अवनति तर्फ लैजाने त्यो कुरा भने आफैंमा निर्भर हुने गर्दछ । आफ्नो जीवनमा आउने कुनै पनि कठिन भन्दा कठिन अवसरहरुलाई हिम्मतका साथ लगनशील भएर त्यसको सामना गर्दै जाने हो भने हामी ढिलो या चाँडो आफ्नो गन्तव्यमा अवश्य नै पुग्न सक्छौं । कठिन कार्यलाई पनि म गर्न सक्छु भन्ने मेरो आँट र साहसले गर्दा नै म आज सफलताको शिखर तर्फ निरन्तर अगाडी बढिरहेको छु । 

यसै क्रममा एकदिन म भन्दा अघि बिएचएफ बैंकको तालिमा फ्रान्कफर्ट गईसकेका गभर्नरका सचिवका रुपमा कार्यरत भोलाराम श्रेष्टले मलाई गभर्नर कार्यालयमा बोलाई अर्को हप्ता गभर्नर एसियन क्लियरिंग युनियनको मिटिंगमा इरान जानु पर्ने बताए र इरानको दुतावास नेपालमा नभई भारतको दिल्लीमा भएको हुँदा "आजै तपाईं दिल्ली गई इरानको दुतावासबाट भिसाको सम्पूर्ण डकुमेन्टहरु बुझाई पर्सि सम्ममा भिसा ल्याउनु पर्ने भयो, सक्नुहुन्छ ? भनेर सोधेका थिए । एकछिन त म अकमक्क परेको थिएँ । आजसम्म दिल्ली नगएको र यसप्रकारको काममा आफू कहिल्यै नहिडेको भएर पनि मनमा दुविधा छाएको थियो । फेरी कथमकदाचित मैले उक्त काम पूरा गर्न नसकेमा गभर्नर मिटिंगका लागि इरान जान नपाउने र मेरो पनि जागिरे जीवनमा नकारात्मक असर पर्ने पक्का थियो । तरपनि त्यत्तिका कर्मचारीहरुमा गभर्नर कार्यालयले मलाई उक्त कामका लागि योग्य ठानेकाले मैले उक्त चुनौतीका लागि आफू तयार हुनैपर्ने सोचें र म सक्छु भनिदिएको थिएँ । त्यसपछि उनले गभर्नरको सम्पूर्ण डकुमेन्ट र परराष्ट्र मन्त्रालयको सिफारिश मेरो हातमा थमाउँदै साँझ ५ बजेको फ्लाइट भएको र ३ बजे भित्र एयरपोर्ट पुगिसक्नु पर्ने र पर्सी मेरो रिटर्न टिकेट रहेको समेत बताएका थिए । 

मैले त्यो दिन हतारिदै अफिसको काम सकाएर आफ्नो रूमबाट केहि सामान लिएर समयमा नै एयरपोर्ट पुगेको थिएँ । मनमा अनेकौं प्रश्नहरु अनुत्तरित भएर सलवलाई रहेका थिए आफूले लिएको जिम्मेवारीलाई लिएर तरपनि मनमा हिम्मत लिएर दिल्ली एयरपोर्टमा ल्याण्ड भएपछी ट्याक्सी लिएर पाहाडागंज स्थित एउटा होटलमा बसेको थिएँ । भोलिपल्ट समयमा नै दुतावास पुगें र एकजना अफिसरलाई आफूले ल्याएको परराष्ट्र मन्त्रालयको सिफारिश पत्र बुझाएको थिएँ । उनले त्यसको आधा घण्टा भित्र नै इरानी दुतावासको नाममा सिफारिश पत्र दिएका थिए । उक्त सिफारिश पत्र सहित केहि बेरमा नै म इरानी दुतावासमा पुगेर सम्पूर्ण डकुमेन्टहरु बुझाए पछी एकजना भिसा शाखाका कर्मचारीले एसविआई बैंकमा गएर भिसा फी बुझाउन खाता नं. दिएर पठाएका थिए । मैले भिसा फी बुझाएको आधि घण्टा भित्र नै मेरो हातमा इरानका लागि भिसा लागेको गभर्नरको पासपोर्ट परेको थियो । 

मेरो काम सकिएकाले अर्को एकदिन बस्न उपयुक्त नठानी म भोलिको आफ्नो रिटर्न टिकेटलाई आजै साझको लागि मिलाउन कनाटप्लेस स्थित आरएनएसीको अफिस पुगेको थिएँ र फ्लाइट त्यहि दिनका लागि मिलाउन सफल भएको थिएँ । बाकि रहेको बीचको समयलाई उपयोग गर्दै कनाटप्लेस स्थित गोलबजारमा गएर केहि सपिंग गरि यथा समयमा नै इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल पुगेको थिएँ । साँझको ७.३० बजेको हुनुपर्छ म काठमाडौं ल्याण्ड भएपछी भोलाजीलाई काम सम्पन भएको र आफू फर्किसकेको जानकारी गराएको थिएँ । दिएको समय भन्दा अगाडी नै आफ्नो जिम्मेवारी पूरा गर्न सफल भएकोमा भोलाजीले पनि अचम्मित हुँदै कृतज्ञता व्यक्त गरेका थिए । 

लगानी शाखाले विदेशी केन्द्रिय बैंक तथा वाणिज्य बैंकहरुसंग कारोबार गर्ने भएकाले अंग्रेजी भाषामा मेरो दक्षता हुनु अनिवार्य थियो । त्यसैले मैले द काठमाडौं पोष्ट र द राइजिंग नेपाल दैनिक पत्रिका नियमित रुपमा पढ्न थालेको थिएँ भने अर्कोतर्फ अर्थशास्त्रमा स्नाकोत्तरको प्राइभेट परीक्षार्थीको रुपमा पनि तयारी गरिरहेको थिएँ । देशको आर्थिक क्षेत्र, वित्तीय क्षेत्र र मुद्रा तथा पूँजी बजारलाई समेटेर द काठमान्डौ पोष्टमा नियमित साप्ताहिक रुपमा एउटा कोलम लेख्ने सोच बनाएर द काठमाडौं पोष्टका आर्थिक व्युरो प्रमुख प्रतिक प्रधानलाई भेटको थिएँ । उनले पनि मेरो उत्साहलाई देखेर मलाई प्रोत्साहित गर्दै मेरो लेख नियमित छापिदिने सहमति जनाएपछि मैले नियमित रुपमा प्रत्येक सोमबारका लागि वित्त/बजार पानामा कोलम लेख्न थालेको थिएँ । यसबाट मलाई वित्त र बजारको गतिविधि बारे अपडेट हुने, अंग्रेजी भाषामा दखल बढ्दै जाने र मासिक रुपमा केहि पारिश्रमिक समेत पाउने अवस्थाको सृजना भएको थियो । वि.सं. २०५२ साल देखि २०५९ साल सम्म मैले उक्त कोलमका लागि प्रेषित गरेको लेख नियमित रुपमा प्रकाशित भएको थियो । त्यतिबेलाको देशको प्रमुख तथा अग्रणी अंग्रेजी पत्रिकामा नियमित रुपमा कोलम लेख्नु मेरो लागि सानो चुनौती थिएन तर पनि मेरो म गर्न सक्छु भन्ने साहस र कडा मेहनतले नै मलाई त्यो कार्यमा पनि सफलता दिलाएको थियो । 

वि.सं. २०५३ तिर एकदिन मेरो विभागका निर्देशक कृष्ण बहादुर मानन्धरले "अर्थ मन्त्रालयमा बैदेशिक ऋण व्यवस्थापन परियोजनामा काम गर्न ३ महिनाका लागि हाम्रो विभागबाट एकजना अधिकृत मागेको छ, त्यहाँ काम गर्न सक्नु हुन्छ ?" भनी मलाई सोधेका थिए । त्यस्तो कामको मलाई कुनै पूर्व अनुभव नभएता पनि मैले "हुन्छ म गर्न सक्छु" भनिदिएको थिएँ । त्यसै दिन अफिस छुट्नु अघि कर्मचारी प्रशासन विभागले मलाई उक्त परियोजनामा काम गर्न अर्थ मन्त्रालय काजमा पठाएको पत्र बुझाएको थियो । भोलि पल्ट देखि नै राष्ट्र बैंकबाट २ जना, महालेखा नियन्त्रक कार्यालयबाट २ जना, अर्थ मन्त्रालयबाट २ जना र एक जना विदेशी टीम लिडर समेत गरेर हामी ७ जना उक्त परियोजनाको काममा जुटेका थियौं । नेपालले लिईरहेको विदेशी ऋण हिसाबलाई सफ्टवेयरमा राख्ने कामका लागि बेलायती सरकारको डीएफआईडी संस्था मार्फत नेपाललाई अनुदान प्राप्त परियोजना थियो । उक्त परियोजनामा काम गरे वापत परियोजनाले हामीलाई यातायात खर्च र परियोजना भत्ता गरि मासिक रु. ५००० दिने गर्दथ्यो । 

कमन वेल्थ सचिवालयले तयार गरेको डेब्ट म्यानेजमेन्ट एण्ड रेकर्डिङ सिस्टम नामक सफ्टवेयरमा नेपाल सरकारले लिएको विदेशी ऋण सम्बन्धि विवरण हाल्ने काम भईरहँदा परियोजना कार्यालयले हामीलाई भारतको नयाँ दिल्ली र थाइल्याण्डको बैङ्ककमा यहि सफ्टवेयरको संचालन र दक्षताको अवलोकन भ्रमणमा लागेको थियो । यो परियोजना सम्पन्न गर्न बेलायतकै क्राउन एजेन्ट भन्ने संस्थाले जिम्मा पाएको थियो । शुरुमा बैदेशिक ऋण विवरणलाई मात्र उक्त सफ्टवेयरमा राख्ने कार्य शुरु गरिएको भएतापनि क्राउन एजेन्टको अनुरोधमा डिएफआइडीले अनुदान रकम र आन्तरिक ऋणलाई पनि सफ्टवेयरमा नै राख्ने काम थपिदिएको थियो । काम बढे संगसंगै त्यसबीच हाम्रो मासिक भत्ता पनि बढेर १०००० पुगेको थियो । 

लन्डनमा पनि उक्त क्राउन एजेन्टको आवासीय तालिम केन्द्र भएकाले परियोजनाले हामीलाई त्यसबीच २ पटक लन्डन स्थित क्राउन एजेन्टको तालिम केन्द्रमा तालिमका लागि पठाएको थियो । साच्चै यो परियोजनामा काम गर्न थालेपछि मेरो ज्ञान र आर्थिक अवस्थामा निकै सुधार आएको थियो । तीन वर्षको अथक प्रयास पछी बैदेशिक ऋण, अनुदान तथा आन्तरिक ऋणको डाटाबेसहरु महालेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण गरि हामी आ-आफ्नो कार्यालयमा फिर्ता भएका थियौं । 

विदेश भ्रमणबाट बचत भएको रकम र परियोजनाबाट पाउने भत्तालाई मैले क्रमश थोरै थोरै भएपनि शेयरको दोस्रो बजारमा लगानी गर्न थालेको थिएँ । नयाँ कम्पनीहरुबाट पूँजी जुटाउन शेयरको प्राथमिक निष्काशन कार्यमा तिब्रता देखिन थालेको थियो त्यतिबेला साथै बैंकमा बचत गर्ने विकल्पको रुपमा शेयरको दोस्रो बजार क्रमश सक्रिय हुन थालेको थियो । मैले पनि आफ्नो बचत भएको रकमलाई शेयरको प्राथमिक र दोस्रो बजारमा लगानी गर्दै शेयर बजारमा आफ्नो सक्रियता विस्तारै बढाउँदै लगेको थिएँ भने यसैबीच मैले त्रिभुवन युनिभर्सिटीबाट प्राइभेट परिक्षार्थीको रुपमा अर्थशास्त्रमा स्नाकोत्तर पनि पास गरिसकेको थिएँ ।

No comments

Powered by Blogger.