पशुपालन कर्जामा भारी वृद्धि
चालु आर्थिक वर्षको सात महिनामा पशुपालनमा साढे ८ अर्ब रुपैयाँ थप
कर्जा विस्तार भएको सम्बन्धित निकायले जनाएको छ। गत असारको तुलनामा यो करिब साढे २६ प्रतिशतको वृद्धि हो । बढ्दो व्यवसायीकरण र कृषिमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने
नियामक निकायको निर्देशनले कृषि कर्जा उलेख्य रूपमा विस्तार भएको र समग्र कृषि कर्जा
बढेपछि पशुपालन कर्जाको विस्तार पनि राम्रो भएको जानकारहरू बताउँछन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघसम्म पशुपालन क्षेत्रमा बैंक
तथा वित्तीय संस्थाले ४० अर्ब ९० करोड रुपैयाँ लगानी गरेका छन् । गत वर्षको सोही अवधिको
तुलनामा यो करिब ३० प्रतिशतको वृद्धि हो । गत माघसम्म बैंक तथा वित्तीय संस्थाले कृषि
क्षेत्रमा १ खर्ब १९ अर्ब ७२ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । जसमध्ये
पशुपालनमा प्रवाह भएको कर्जा कुल कृषि ऋणको करिब ३४ प्रतिशत हुन आउँछ । यो कर्जामा
लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको ऋण समावेश नगरिएको बुझिएको छ ।
बैंक तथा वित्तीय संस्थाले कृषि उत्पादन र कृषिजन्य क्षेत्रमा धेरै
ऋण लगानी गरून् भन्ने उद्देश्यले राष्ट्र बैंकले कृषिको क्षेत्रगत सीमा बढाएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत भएको उक्त व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले
कुल कर्जाको न्यूनमत १० प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्छ । अघिल्लो वर्ष यस्तो
सीमा ५ प्रतिशत थियो । 
राष्ट्र बैंकको निर्देशनअनुसार हाल बैंकहरूले कुल कर्जाको न्यूनमत
२५ प्रतिशत तोकिएका उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्छ । जसमध्ये कृषिमा न्यूनतम
१०, जलविद्युत्मा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५
प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा अनिवार्य रूपमा लगानी गर्नुपर्छ
। उक्त सीमा पुर्याउन राष्ट्र बैंकले ०७५ असारसम्मको समय दिएको छ । उक्त अवधिमा तोकिएको
सीमा नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गर्ने बताइसकेको
छ । यद्यपि गत माघसम्म बैंक तथा वित्तीय संस्थाले औसतमा कुल कर्जाको ५.३३ प्रतिशत मात्र
कृषि क्षेत्रमा प्रवाह भएको छ । राष्ट्र बैंकको निर्देशन पालनमा गर्नका लागि बाँकी
तीन महिनामा बैंक तथा वित्तीय संस्थाले औसतमा ४.६७ प्रतिशत थप कर्जा कृषि क्षेत्रमा
प्रवाह गर्नुपर्नेछ । यो बैंक तथा वित्तीय संस्थाका लागि निकै जटिल हुने विज्ञहरु
बताउँछन् ।
 
 

 
 
 
 
 

No comments