चुनौती भित्र लुकेको अवसर !
वि.सं. २०५० सालमा म प्रधान सहायक पदमा बढुवा भएको ६ वर्ष मात्र पुग्न लागेको थियो । त्यहि सालमा राष्ट्र बैंकले सहायक अधिकृत पदमा बढुवाको प्रक्रिया शुरु गरेको थियो । सहायक अधिकृत पदमा खुला प्रतियोगिताबाट सेवा प्रवेशको ढोका खुला भएकाले कूल रिक्त पदको ५० प्रतिशत मात्र बढुवाबाट पदपूर्ति हुने व्यवस्था थियो । ५० प्रतिशतको कूल संख्याको पनि ७० प्रतिशत मूल्यांकन प्रक्रियाबाट र ३० प्रतिशत आन्तरिक प्रतियोगिताबाट पदपूर्ति हुने व्यवस्था थियो । त्यसबेला  खुला प्रतियोगितामा भाग लिएर अधिकृत बन्न सक्छु जस्तो मलाई अलिकति पनि लागेन । मूल्यांकन बढुवा अन्तर्गत म भन्दा धेरै वर्ष काम गरिसकेका धेरै संख्यामा सिनियरहरु नै लाइनमा भएकाले मेरो बढुवा हुने सम्भावना एकदमै नगन्य थियो । फेरी आन्तरिक प्रतियोगिताबाट बढुवा हुने पद संख्या पनि ३ वटा मात्र भएकाले यो प्रक्रिया मार्फत मेरो बढुवा हुने कुरा लगभग असम्भव जत्तिकै थियो । तरपनि, यसै प्रक्रियाबाट नै बढुवाका लागि सक्दो कोसिस गर्ने मनोसायका साथ् अफिसमा केहि फुर्सदको समयमा पाठ्यक्रम अनुरुपको विषय वस्तुहरु अध्ययन गर्न शुरु गरिरहेको थिएँ । 
एकदिन एउटै विभागमा संगै काम गर्ने म भन्दा झन्डै १२ वर्ष उमेरले कान्छो सहपाठीले दाजु के गर्दै हुनुहुन्छ भनेर सोधे । मैले पनि आफूले आन्तरिक प्रतियोगिताको तयारी गर्दै गरेको कुरा उनलाई बताएँ । उनले ३ वटा मात्र सिट खाली भएको र प्रधान सहायक पदमा प्रवेश गरेका २० भन्दा नि बढी भर्खरै एम.विए गरेका साथीहरु भएको हुँदा मैले उक्त प्रतियोगितामा भाग लिनु बेकार भएको कुरा मलाई फुर्ति लगाउँदै सुनाए । उनको यसप्रकारको कुरा सुनेर मेरो इख मेरो मुखमै आएकाले मैले उनलाई चुनौती स्वरूप हाँसेर जवाफमा " हेर ! तिमीहरु २० जना भए पनि २० सै जना पास हुने होइन, पद त ३ वटा मात्र रिक्त हो र तिम्रा साथीहरु मध्ये १७ जना त फेल नै हुने हुन् भने एउटा म पनि पास हुने भएकाले तिम्रा १८ जना साथी फेल हुने लगभग निश्चित छ " भनिदिएको थिएँ । वास्तवमा यो चुनौती मैले उनलाई भन्दा नि आफूले आफैंलाई दिएको थिएँ । ती २० जना नवयुवाहरु र अन्य करिब २०० जना जति प्रतियोगीहरुसंग ३ वटा पदमा प्रतिस्पर्धा गर्नु मेरो लागि साँच्चै एउटा ठूलो चुनौती भन्दा कम थिएन । 
परीक्षाको समय एक महिना मात्र बाँकी रहेकाले त्यसै दिनदेखि मैले परीक्षाको तयारी युद्धस्तरमा शुरु गरेको थिएँ । पाठ्यक्रममा भएका सबै विषय वस्तुहरुको पुस्तक तथा लेखहरु संकलन गर्न थालें । संकलन भएका सम्पूर्ण पाठ्य सामाग्रीहरुको अध्ययन गर्ने, विश्लेषण गर्ने र आफ्ना विचारहरु समेत समेटी छोटा छोटा लेखहरु तयार गर्न थालें । बैंकिंग, नेपाल परिचय र समस्या समाधान गरी तीन विषयहरुमा परिक्षा दिनु पर्ने थियो । मैले ३ वटै विषयहरुसंग सम्बन्धित ३ जना विज्ञहरुलाई आफूलाई मार्गदर्शन गरिदिन अनुरोध गरेको थिएँ । आफूले लेखेका नोटहरू म गुरुहरुलाई देखाउने र उहाँहरुको सल्लाह सुझाव अनुसार आफ्नो अध्ययन र नोटहरुलाई परिमार्जित गराउदै लगेको थिएँ  । मैले परीक्षाको तयारीका क्रममा पाठ्यक्रममा उल्लेखित कुनै पनि विषय वस्तु अध्ययन गर्न छुटाएको थिइन । 
बैंकिंग र नेपाल परिचय विषयको परिक्षा २ घण्टामा दिसक्नु पर्ने भएकाले मैले सम्भावित प्रश्नहरु आफैंले तयार गरि तीनका उत्तरहरु समय भन्दा अगाडी नै सक्ने गरि तयार गरेको थिएँ । मैले आफ्नो तयारीमा कुनै कुराको पनि कमि हुन दिएको थिइन । मलाई जसरी पनि त्यो परिक्षामा आफ्नो नाम ३ जना भित्र अटाउने बनाउनु थियो । परीक्षाको दिन पनि आयो । मैले सम्पूर्ण प्रश्नहरुको उत्तरहरु त्यसबेलाको समसामयिक विषय र आफ्ना धारणाहरु समेतलाई उल्लेख गरेर उत्कृष्ट शैलीमा लेखेको थिएँ । परिक्षा मैले सोचे जत्तिकै राम्रो भएको थियो । म अब प्रतिफलको प्रतिक्षामा दिनहरु कटाउँदै थिएँ । 
परीक्षाको नजिता आयो । म लगाएत अरु ९ जनाको नाम पास हुनेको लिस्टमा थियो । त्यसको केहि दिन पछी नै मौखिक अन्तर्वार्ताको मिति तोकिएको थियो । म फेरी उत्तिनै मेहनतले अन्तर्वार्ताको तयारीमा जुटिसकेको थिएँ । संगै जागिरमा प्रवेश गरेका र काठमाडौंमा संगै काम गरिरहेका एकजना शुभेच्छुक साथीले प्रशासन प्रमुख, डेपुटी गभर्नर, गभर्नर आदिलाई भेट्न सल्लाह दिएका थिए । आफ्नो लागि कसैसंग भनसुन गर्ने आफ्नो स्वाभाव नभएकाले म ती मध्ये कसैलाई पनि भेट्न गएको थिइन । सायद पास भएका मध्ये अन्य ८ जनाको सक्रियता भनसुन तर्फ सक्रियता बढी देखेकाले नै होला मेरा ती शुभचिन्तक साथीले फेरी मलाई हाकिमहरुसंग भेट्न सुझाव दिएका थिए । हामी ९ जना मध्ये अन्य ८ जना हाकिमहरुलाई भेट्न र भनसुन गर्न गइरहँदा र म चैं नजाँदा अन्तर्वार्तामा म प्रति हाकिमहरुको नकारात्मक धारणा बन्न गई म फेल हुन्छु कि भन्ने तर्क र चिन्ता उनको रहेको हुन सक्थ्यो । त्यसैले उनले मलाई बारम्बार हाकिमहरुलाई भेट्न जान कर गरिरहन्थे । एकदिन उनकै करकापमा परेर म प्रशासन प्रमुखको कार्यकक्षमा गएको थिएँ । म प्रवेश गर्नासाथ प्रशासन प्रमुखले मेरो नाम सोधे । मैले आफ्नो नाम बताउना साथ् उनले "चिन्ता गर्नु पर्दैन, हुन्छ जानुस" भनेर मलाई फर्काइदिएका थिए । म अलिक ढुक्क भएको थिएँ उनको म प्रतिको प्रतिक्रिया देखेर त्यसबेला । त्यसपछि लगतै फेरी म कनिष्ट डेपुटी गभर्नरको कक्षमा प्रवेश गरेको थिएँ । उनले पनि उसैगरी मेरो नाम सुन्नासाथ "तपाईं भेट्न आईरहनु पर्दैन " भनेर विदा गरेका थिए । त्यसपछि भने म पूर्ण रुपमा ढुक्क भएको थिएँ मैले मेरो परिक्षामा साँच्चै राम्रो अंक ल्याएको रहेछु भनेर । त्यसपछि मैले जेष्ट डेपुटी गभर्नर र गभर्नरलाई भेट्न गइरहनु आवश्यक ठानिन । 
अन्तर्वार्ताको दिन म धेरै उत्साहका साथ आफ्नो बढुवाको अन्तिम पढ़ाव अन्तर्वार्तामा उपस्थित भएको थिएँ । अन्तर्वार्ता लिने मध्येका एक अधिकारीले इतिहासको तिथिमिति सोधेर मलाई हतोत्साहित गर्ने प्रयास गरिरका बेला कनिष्ट डेपुटी गभर्नरले बैंकिंग विषय वस्तुहरुसंग सम्बन्धित ४/५ ओटा प्रश्न सोधेका थिए । मेरो सहि र चित्त बुझ्दो उत्तर पाए पछी मलाई त्यहाँबाट विदा गरिदिएका थिए । विहान भएको उक्त अन्तर्वार्ताको नतिजा साँझमा अफिस बिदा हुने बेलातिर प्रकाशित भैसकेको थियो । प्रकाशित उक्त अन्तिम नतिजामा मेरो नाम वरियता क्रममा २ नम्बरमा परेको देखेर म खुसीले लगभग अनियन्त्रित झैं भएको थिएँ । आफूले गरेको कडा मेहनतको प्रतिफल पाउँदा यथार्तमा म रमाइरहेको थिएँ । त्यसपछि सबै साथीभाई तथा आफन्तहरुको बधाई र शुभकामना पाउँदा मन फुरुङ्ग भएको थियो । 
रमाईलो र अझ खुसीको कुरा के थियो भने मलाई हतोत्साहित गर्ने र नाम निकाल्न सक्नु हुन्न भनेर चुनौती दिने साथीले तेस्रो नम्बरमा नाम निकालेका थिए । उनले भने झैँ उनकै समूहका २० जना मध्येकै एक जना भने नम्बर एकमा पास भएका थिए । यसरी उनले ख्यालख्यालमै दिएको चुनौतीलाई मैले इखमा रुपान्तरण गरि कडा मेहनत नगरेको भए साँच्चै उनले भने झैं मेरो नाम त्यो बढुवाको लिस्टमा हुने थिएन र सबै पास हुनेहरु उनकै समूहका हुने थिए । सायद मैले त्यो चुनौतीलाई स्वीकार गरेर भावुकताका साथ नलिएको भए सहायक अधिकृत पदमा बढुवा हुन् मैले दशौँ वर्ष अझै कुर्नु पर्थ्यो होला । मैले सहि समयमा चुनौती भित्र लुकेको अवसरलाई पहिचान गरी योजनाबद्ध रुपमा उक्त अवसरलाई आफ्नो सफलतामा परिणत गर्न कडा मेहनत गर्न सकेर नै हो मैले आफ्नो सपनालाई समयमा नै हासिल गर्न सकेको । साँच्चै सहि समयमा सहि अवसरको पहिचान गरि त्यसलाई प्राप्त गर्न कडा परिश्रम गर्ने हो भने सफलतालाई चुम्नबाट कसैले वन्चित गराउन सक्दैन । आफूलाई जीवनमा कतातिर अनि कुन उचाइमा लैजाने भन्ने कुरा आफैंमा भर पर्ने रहेछ ।
 
 

 
 
 
 
 

No comments