Add

Add

सम्मुनति तर्फ उन्मुख मेरा यात्राहरु !

                                                                                                          - सुदर्शनप्रसाद अधिकारी

                        प्रधानसहायक पदमा मेरो बढुवा भएको केहि समय पछी नै म काम गरिरहेको अनुसन्धान इकाईका हाकिमको सरुवा काठमाडौंमा भएको थियो । सायद उनले मेरो काम प्रतिको लगनशीलता र कामको गुणस्तरलाई नजिकबाट नियालेका थिए र त जाने दिन काठमाण्डौ स्थित केन्द्रीय कार्यालयमा सरुवा आउन मलाइ सल्लाह दिदै मेरो सरुवाका लागि भनसुन समेत गरिदिने भनेर आफ्नोपन देखाएका थिए । मैले पनि उनको सल्लाहमा सहमति जनाउँदै उनलाई बिदा गरेको थिएँ ।
                       काठमाडौंमा स्थानीय कर्मचारीहरुकै चाप रहने हुँदा शाखाबाट केन्द्रीय कार्यालय सरुवा हुनसक्ने सम्भावना निकै नै न्यून रहेको थियो । फेरी भनसुन गर्ने र आफ्नो फाइदाका लागि अरुसंग चाप्लुसी गर्ने जस्ता बानीहरु ममा नभएका कारण काठमाडौं सरुवा हुने आश मभित्र खासै झाँगिएको थिएन । काठमाडौं सरुवा हुने रहरलाई मनको एक अन्तर कुनामा थाति राखेर म आफ्नो कामलाई उस्तै लगनशीलताका साथ् गरिरहेको थिएँ । सायद मेरो राम्रो दिनको सुरुवात हुन लागेर होला ३ महिना पछी नै मेरो सरुवा काठमाडौंमा भएको थियो । साँच्चै त्यतिखेर रहर पूरा भएकोमा खुसीले मन झुमिरहेको थियो भने काठमाडौं गएपछि आउने अनेकौं चुनौतिहरु सम्झिएर मन उसैगरी आत्तिरहेको थियो । तै पनि हार नमान्ने मेरो अटल मानसिकता जस्तो सुकै कठिन परिस्थितिहरुको पनि डटेर सामना गर्न तयार भईसकेको थियो ।
                        नेपाल राष्ट्र बैंकले प्रदान गरेको घरकर्जा कर्मचारी सापटी सुविधाबाट श्रीपुर बीरगंज स्थित त्रिमूर्ति सिनेमा हल जाने बाटोमा बनाएको घर र संचयकोष सापटी र फजुल खर्च नगरी बचत गरिएको रकमबाट बीरगंज बाइपास रोडमा नगर विस्तारले वितरण गरेको एउटा प्लट जग्गा मात्र जोड्न सकेको थिएँ मैले जागिर खाएको १४ वर्ष सम्ममा । सरुवा भए लगतै बीरगंज स्थित आफ्नो घर आफूसंगै बसिरहेका एकजना आफन्तलाई सुम्पिएर म मात्र एक बाकस कपडा र साथमा श्रीमती अनि ६ र ३ वर्षका दुई छोरीहरु काखी च्यापेर नयाँ अवसरको खोजीमा २०४५ भदौ ४ गते देशको राजधानी छिरेको थिएँ ।
                          हुनत राजधानी मेरो पुर्ख्यौली थलो हो र त्यहाँ मेरो पिताश्रीको नाम अनि घर समेत रहेको कुरा मैले कहानी झैँ सुनेको थिएँ आमाको अनि आफन्तहरुको मुखबाट तर ती सबै कुराहरु कहानीमा मात्र सिमित थिए । जीवन्त थिए त मात्र पिताश्रीले आफ्नो जीवन कालमा गर्नु भएका अनेकौं सहयोग/दान/धर्म जस्ता महानताका कथाहरु ! म साँच्चै गर्व गर्थें आफूलाई मानिसहरुको मुखबाट पिताश्रीका बारेमा गरिएका सम्मानपूर्ण तारिफका किस्साहरु सुनेर । बीरगंज स्थित अनुसन्धान इकाईमा काठमाडौंबाट सरुवा भई आएका नयाँ हाकिमले मण्डीखाटार स्थित आफ्नो घरमा २ ओटा कोठा खाली रहेको हुँदा त्यहीं बस्न सल्लाह दिएका थिए । संयोगवश मण्डीखाटारनै मेरो पुर्ख्यौली गाउँ भएकाले त्यहाँ बस्न पाउनु मेरो लागि खुसी र गर्वको कुरा थियो । फेरी त्यहाँ केहि घर अधिकारी बन्धुहरु पनि रहेको कुरा मलाई अवगत थियो भने मण्डीखाटारबाट म सरुवा भई आएको अफिस लघु तथा साना उधोग परियोजनाको कार्यालय पनि जम्मा ४ किलोमिटर टाढा रहेकोले त्यहाँ बस्नु मेरो लागि सुविधाजनक हुने भएकाले पनि म आफ्नो परिवार सहित उक्त भाडाको घरमा प्रवेश गरेको थिएँ ।
               पहिले मण्डीखाटरमा पनि मेरो पिताश्रीको घर थियो पछी उहाँले भतिजोको बिहेमा एकजनासंग ५०० सय सापटी लिएर त्यो घर उक्त व्यक्तिलाई छाडिदिनु भएको रे ! मण्डीखाटारमा पिताश्रीले राम्रो नाम कमाउनु भएको रहेछ । उहाँले यस बस्तीमा पनि धेरैलाई अथाह सहयोग गर्नु भएको कुरा मलाई त्यहाँका बासिन्दाहरुले सुनाउँथे । उहाँको दायाँबायाँ यतिसम्म कि आफ्नै बारेमा सम्म नसोची अरुको सहयोग गर्ने बानीका बारेमा त्यहाँका बुढापाखाहरुले सुनाउँथे । पिताश्री रौतहटको खेतीपातीबाट फुर्सद निकाली मण्डीखाटार आउनु हुँदा गाउँ नै खुसीले झुम्थ्यो रे । भोजभतेर, गीत संगीत, नाँचगान जस्ता रमाइलो माहोलले चाडपर्व आए झैँ भान गराउथ्यो रे । गाउँमा परेको सारो गाह्रोको समाधान गरिदिनु हुन्थ्यो रे पिताश्रीले । साँच्चै मेरो पिताश्रीको त्यो सम्पूर्ण महानताको यथार्थतालाई मैले त्यतिबेला प्रष्टै अनुभव गरेको थिएँ जतिबेला उहाँको छोरा अर्थात् म त्यो गाउँमा आएको छु भन्ने सुनेर प्राय बुढापाखा तथा उहाँको बारेमा सुन्नेहरुकै मुहारमा पनि मलाई भेट्ने उत्साह र खुसी देखेको थिएँ । पिताश्रीको नामसँग मेरो नाम जोडिएकै भरमा मण्डीखाटार बासीहरुले मप्रति जुन सद्भाव,प्रेम र लगाव देखाएका थिए म यथार्थमा अचम्मित थिएँ । मन प्रफुल्लित हुन्थ्यो र शिर गर्वबोधले सगरमाथा झैं उच्च हुन्थ्यो ।
                       म भाडाको घरमा बसेको मण्डीखाटार बासीहरु प्रायलाई मन परेको थिएन । कतिले त आफ्नो जग्गामा घर बनाएर बस्न आग्रह गर्थे । एकजना अवकाश प्राप्त कर्णेलले मलाई भेटेर "बाबु ! मैले तिम्रो बुवासँग पैसा सापटी लिएको थिएँ । तिर्न सकेको थिईन । पछी बाबुहरुलाई मैले भेट्न सकिन । त्यो पैसा फिर्ता गर्न नपाकोमा म धेरै नै दुखी थिएँ" भन्दै ३५० मेरो खल्तीमा जबर्जस्ती हालिदिएका थिए र आमालाई दिन अनुरोध गरेका थिए । वास्तवमा त्यो पैसा माथि मेरो कुनै हक थिएन, त्यो मेरो पिताश्रीको सहयोग गर्ने स्वभावको एक सानो अंश थियो । तै पनि त्यो पैसा लिई मैले मेरो आमालाई दिदा ती बृद्ध कर्नेलको मनले शान्ति पाउने भएकाले मैले उक्त पैसा लिएर मेरी आमालाई दिएको थिएँ । जब मैले उक्त पैसा यथार्थता सहित आमालाई दिएको थिएँ, मेरी आमाको भक्कानिएको मनलाई म प्रष्टै अनुभव गर्न सक्थें । त्यसबेला आमाको नयनबाट खसेका आँसुहरुले मेरो पिताश्री प्रतिको उहाँको सम्मान र आफ्नो पतिको अभाव खड्किएको म प्रष्टै देख्न सक्थें ।
                            म मेरो पिताश्रीको बारेमा अझै सुन्न चाहन्थें । उहाँलाई अझ धेरै नजिकबाट बुझ्न चाहन्थें । उहाँका हरेक किस्साहरुलाई आफूमा समाहित गर्न चाहन्थें र साँच्चै त्यो भन्दा बढी चाहन्थें उहाँलाई नजिकबाट नियालिरहन किनकि मलाई मेरो पिताश्रीको अनुहार नै याद थिएन । पिताश्रीको देहान्त हुँदा म एकदम सानो थिएँ रे । जब म एकान्तमा मेरो पिताश्रीको अनुहार सम्झन खोज्थे तर कुनै प्रष्ट आकार आउँदैनथ्यो मन मष्तिस्कमा तब म आफूलाई संसारको अभागी छोरा सम्झन्थे र भक्कानिन्थें भित्र भित्रै ! फेरी सम्हालिन्थें र गर्वाबोध हुन्थ्यो उहाँ जस्तो व्यक्तित्वको छोरा हुन पाएकोमा र भगवानसँग प्रार्थना गर्थें मेरो पिताश्रीले कोर्नु भएको गोरेटोमा म आफू हिड्न सकूँ भनेर ।
                        दिनहरु आफ्नै गतिमा बितिरहे र म आफ्नो काममा उसैगरी निरन्तर लागिरहें । मलाई काठमाडौं बस्न त्यति असहज भएन । बास्तवमा काठमान्डौ अवसर नै अवसरको सहर भएको कुरा मैले त्यति बेला देखि अनुभव गर्दै आएको कुरा हो । भीड बढी जम्मा हुने ठाउँमा नाङ्लोमै पुष्टकारी,चुरोट,सलाई,सुपारी इत्यादि बेचेर वा चिया पसल थापेर पनि आफ्नो परिवार सहजै पाल्न्न सकिन्छ । जहाँ जनसंख्या बढी हुन्छ, त्यहाँ अनेक वस्तु र सेवाको माग बढिरहेको हुन्छ । बढेको माग अनुरुप आपूर्ति गर्ने सीप र जाँगर भएमा पैसा कमाउन सजिलै सकिन्छ काठमाडौंमा ।
उदारवादी राजा वीरेन्द्रले २०३६ सालको जनमत संग्रहमा अभिव्यक्त जनमतको कदर गर्दै राजनीति र आर्थिक नीतिहरुमा केहि खुकुलो गर्न थालेका थिए । वि.सं. २०४१ सालमा निजि क्षेत्रलाई नेपाल अरब बैंक ( हालको नबिल बैंक ) खोल्न दिएर वित्तीय क्षेत्रलाई खुला गरे लगतै नेपाल इन्डोस्वेज बैंक (हालको इनभेष्टमेन्ट बैंक), हिमालयन बैंक, नेपाल एस.बि.आई. बैंक लगायत धमाधम खुल्न थालेका थिए । त्यस्तै, उत्पादन क्षेत्र तर्फ युनिलिभर, डाबर, बोटलर्स, पाल्मोलिभ जस्ता बहुउद्देश्यीय कम्पनीहरुले नेपालमा उत्पादन शुरु गर्न पाएका थिए । देश मिश्रित अर्थव्यवस्थाबाट खुला बजार तर्फ अग्रसर भईरहेको थियो । तर खुला बजार नीतिमा उत्पादनशील क्षेत्रलाई बढी प्रोत्साहित गरिनु पर्नेमा वित्तीय क्षेत्र चाहिँ प्रोत्साहित भयो र क्रमशः बैंक तथा वित्तीय संस्थाहरु च्याउ उम्रे झैं खुल्न थाले ।
                          काठमाडौंको बसाईबाट फाइदा लिदै मैले पनि मेरो थोरै थोरै बचतलाई कम्पनीहरुको प्रथामिक शेयर निष्काशनमा लगानी गर्न शुरु गरेको थिएँ । साधारण बुझाईमा खर्च गरेर बाँकी भएको आयलाई बचत भनिन्छ, त्यसैले कम आय भएकाहरुले बचत गर्न सकिदैन भन्ने आम धारणा छ तर खर्च कम गरेर कम आयबाट पनि केहि बचत गर्न सकिन्छ र त्यो बचतलाई नाफामूलक क्षेत्रमा लगानी गरेर आफ्नो आय बढाउन सकिन्छ भन्ने कुरा मैले बिस्तारै बुझ्न थालेको थिएँ र आफूलाई क्रमिक रुपमा त्यसतर्फ अगाडी बढाईरहेको थिएँ । २०४५ साल सम्म राष्ट्र बैंकको तलबमान त्यति राम्रो थिएन । खर्च कम गरेरै बचत गर्ने स्थिति थियो । नेपाल राष्ट्र बैंकको जागिर छाडेर स्टक ब्रोकर बनेका एकजना साथी मार्फत डिल्लीबजार स्थित शेयरको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जबाट थोरै थोरै शेयर मैले पनि किन्न थालेको थिएँ । 
                        प्राथमिक र दोस्रो बजारबाट आफूले खरिद गरेको शेयरको कम्पनीहरुले नाफा बढाउँदा, माग र मूल्य बढ्दा शेयरमा लगानी गर्न म झन् हौसिन्थें । त्यहि मेरो शेयर प्रतिको आकर्षणले गर्दा नै मैले बीरगंज स्थित बाइपास रोडमा किनिराखेको जग्गा ७० हजारमा बेचेर शेयरमा नै लगानी गरेको थिएँ । त्यतिबेला शेयरको दोस्रो बजारको लगानीमा क्रमशः आकर्षण बढ्दै गरेकाले शेयर मूल्यमापक नेप्से परिसूचक पनि बिस्तारै बढ्ने क्रममा थियो । बचतकर्ताहरुका लागि लगानीको नयाँ विकल्पको रुपमा शेयर बजारलाई हेरिन थालिएको थियो ।

No comments

Powered by Blogger.