Add

Add

सपना विनाको जीवन यात्रा


                                                                                                                - सुदर्शनप्रसाद अधिकारी 

२० वर्षको उमेरमा टेक्दै गर्दा युवा युवतीहरुले आफ्नो जीवनको सपना देख्न सुरु गरिसकेका हुन्छन् ।जीवनमा आफूले देखेको सपनालाई यथार्तमा बदल्न गन्तव्यको एउटा मानचित्र कोरेर त्यसतर्फ आफ्ना पाइलाहरु अगाडी बढाईसकेका हुन्छन् । तर मैले जीवनमा यो गर्छु, त्यो गर्छु, ठूलो मान्छे बन्छु अनि धेरै पैसा कमाएर धनी बन्छु जस्ता सपनाहरु कहिल्यै देखिन नत त्यस प्रकारको चाहना नै राखे । म मात्र आफ्नो जीवनयात्राका धरासायी पाटाहरुलाई मिलाउनैमा आफूलाई केन्द्रित गराईरहें र आफ्नो सम्पूर्ण ध्यान आफूले खुब दुख र मेहनत गरेर पाएको जागिरमा दिदै लगनशिलताका साथ् निरन्तर अगाडी बढीरहें । 

त्यसबेला नेपाल राष्ट्र बैंकको प्राथमिकता नेपाली मुद्रा बजारबाट भारतीय मुद्राको चलन चल्तीलाई विस्थावित गर्नु पनि रहेकाले बीरगंज शाखा अन्तर्गतका ६ वटा सटही काउन्टरमै हामी नयाँ सहायक स्तरका कर्मचारीहरुलाई आलोपालो खटाइन्थ्यो । काम र जिम्मेवारीको प्रकृतिको आधारमा कुनै नयाँ नौलो काम गरेर आफ्नो सीप क्षमता देखाउने अवसर पनि त थिएन । मलाई लाग्थ्यो लगनशिलता र इमान्दारिताका साथ् आफ्नो काम गरे जागिरमा उन्नति हुनेछ । साँच्चै त्यतिबेला म भ्रममा रहेछु । लगनशिलता र इमान्दारिताले मात्र जागिरमा उन्नति हुने मेरो भ्रम त्यतिबेला टुट्यो जब स्थायी सहायक पदमा जागिर खाएको १० वर्ष वितिसक्दा पनि मेरो बढुवा हुन सकेन तर मसंगै जागिर खाएका धेरैजसो सहकर्मीहरु बढुवा भएर प्रधान सहायकको पदमा पुगिसकेका थिए । 

नेपाल राष्ट्र बैंकले आफ्नो उदेश्य प्राप्तिका लागि गर्ने विभिन्न कामहरु मध्ये महत्वपूर्ण कामहरुमा मूल्यलाई वन्चित सिमा भित्र राख्नु, वाह्य भुक्तानी ( शोधनान्तर ) स्थितिलाई देशको पक्षमा राख्नु, सरकारको आर्थिक विकासको लक्ष्यलाई सघाउने खालको मौद्रिक नीति तथा वित्तीय नीति अवलम्बन तथा कार्यान्वयन गर्नु, आर्थिक उत्पादन तथा वित्त क्षेत्रहरुको समय समयमा अध्ययन तथा अनुसन्धान गरि प्रतिवेदनहरु प्रकाशन गर्नु, विदेशी विनिमय संचिति तथा विनिमयदरको व्यवस्थापन गर्नु, सरकारको आर्थिक तथा वित्तीय सल्लाहकारको रुपमा काम गर्नु आदि पर्दछन् । यस बाहेक नोट छाप्नु तथा वितरण गर्नु, सरकारी कार्यालय,संस्थान तथा बैंक र वित्तीय संस्थाहरुको खाता संचालन गर्नु साथै मुद्रा विनिमय आदि पर्दछन् । नेपाल राष्ट्र बैंकको शाखा स्तरमा भने नोटहरुको वितरण सुनिश्तित गर्ने, खाता संचालन गर्ने र भारतीय रुपैंयाको विनिमय गरि दिने आदि जस्ता काम नै मूख्य रुपमा गरिन्थ्यो । केन्द्रीय कार्यालय अन्तर्गत एउटा अनुसन्धान इकाई पनि शाखा स्तरमा हुन्थ्यो जसले बजार मूल्य संकलन, विभिन्न आर्थिक तथ्यांक संकलन तथा सर्वेक्षणहरु गर्ने गर्दथ्यो । 

v  हामी पछाडीको जीन्दगीमा फर्केर विगतलाई सच्याउन सक्तैनौ तर पहिलेको कमि कमजोरीबात पाठ सिक्दै भविष्यलाई सुनौलो बनाउन अवश्य सक्तछौं ।
v  हामी सबैले जानी नजानी गल्तीहरु गरिरहेका हुन्छौं । गल्तीको सुधार गर्दै अगाडी बढीरहनु नै सफलताको पहिलो मूल मन्त्र हो ।
v  मानिसको ज्ञान सधैं अधुरो हुन्छ । नयाँ ज्ञानको विकाससंगै मानिसको जीवनयात्रा अगाडी बढ्न सकेन भने उ पछाडी पछाडी पर्दै जान्छ । त्यसैले जीवनको यात्रामा कोहि अगाडी कोहि पछाडी देखिन्छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय स्तरबाट सम्पादन हुने मूख्य र महत्वपूर्ण अनुसन्धानात्मक र विकासात्मक कामहरु र शाखा स्तरबाट सम्पादन हुने दैनिकी कामहरुमा संलग्न कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकनको अंकहरुमा निकै फराकिलो अन्तर हुने गर्दथ्यो । बढुवा प्रक्रियामा शैक्षिक योग्यता, अनुभव, तालिम र कार्यसम्पादनमा दिईएको अंक मध्ये शैक्षिक योग्यता र कार्यसम्पादनमा अत्याधिक बढी तथा अनुभव र तालिममा न्यूनतम अंकभार हुने गर्दथ्यो । शाखास्तरमा काम गर्नु र शैक्षिक योग्यता एस.एल.सी मात्र हुनु मेरो लामो अवधि सम्म पनि बढुवा नहुनुको प्रमुख कारण भएको कुरा मैले धेरै पछी मात्र थाहा पाएको थिएँ । त्यसपछि मेरो बढुवाको अवरोध बनिरहेको मेरो न्यून शैक्षिक योग्यतालाई मेरो क्षमतामा परिवर्तन गर्ने अठोट मैले तत्काल गरें र उच्च शिक्षाका लागि कलेज भर्ना हुने निर्णय गरें । तर अपशोचको कुरा के थियो भने त्यतिबेला बीरगंजमा एकमात्र कलेज थियो र त्यहाँ दिउँसो मात्र कक्षाहरु संचालन हुने गर्दथ्यो । दिउँसो कक्षा लिन सक्ने मेरो लागि असम्भवको कुरा भएकै कारण मैले वाध्यतावश सिमावर्ती रक्सौल स्थित रात्रि कलेजामा भर्ना हुनु परेको थियो । 

पटना विश्वविधालय अन्तर्गतको उक्त कलेजमा अध्ययन पूरा गरि परीक्षा दिन बेतिया केन्द्र जानु परेको थियो । बीरगंज शाखा कै एकाउन्टेंट कृष्ण प्रसाद उपाध्यायसंगै नोगजा श्याम किशोर सिंहको बेतिया स्थित दिदिको घरमा बसेर आई ए को परीक्षा दिएका थियौं । आई ए परीक्षा दिंदै गर्दा र पछी पास गर्दासम्म एकप्रकारको पढाईमा लत लागिसकेको थियो मलाई । पछी पटना विश्वविधालय गई आफ्नो मार्कसिट, प्रमाणपत्र र माइग्रेशन सर्टिफिकेटहरु ल्याएर दुई वर्षपछी त्रिभुवन विश्वविधालयबाट प्राइभेट परीक्षार्थीको रुपमा मानविकी तर्फको स्नातक पास गरें । 

वि.सं. २०४३ साल अर्थात जागिर प्रवेश गरेको १४ वर्ष पछीको कुरा हो, यसबेला अनुसन्धान इकाईमा रहेर काम गर्दै थिएँ । एकदिन म्यानेजरले मलाई आफ्नो कार्यकक्षमा बोलाए । सिमावर्ती क्षेत्रमा भारतीय रुपैयाको प्रभावबारे अध्ययन गरि प्रतिवेदन शिघ्र पठाउन केन्द्रले शाखालाई निर्देशन गरेको रहेछ र त्यतिबेला अनुसन्धान इकाईका हाकिम लामो विदामा बसेका थिए । म्यानेजरले मलाई त्यो काम तिमीले गर्नुपर्ने भयो सक्छौ ? भनेर सोधेका थिए । मैले त्यो दिनसम्म त्यस्तो कुनै काम पहिले नगरेको भएता पनि नयाँ काम गर्ने अवसर पाएकोमा उत्साहित हुँदै सक्छु भनिदिएको थिएँ । त्यसपछि उनले तत्कालै सिमावर्ती क्षेत्रमा रहेको राष्ट्र बैंकको ४ वटै सटही काउन्टरहरुको भ्रमणमा गई तथ्यांक तथा त्यहाँको वस्तुस्थितिको अध्ययन गरि प्रतिवेदन तयार गरि पेश गर्न अह्राएका थिए । अधिकृत स्तरबाट सम्पादन हुने उक्त काम मैले गर्ने अवसर पाएकोमा हर्षित र उत्साहित भएको म तुरुन्तै स्थलगत अध्ययनका लागि उक्त कार्यस्थल तिर लागेको थिएँ । 

चारवटै सटही काउन्टरहरुमा गई सटही कारोबारहरूको तथ्यांक तथा काउन्टरका कर्मचारीहरु, स्थानीय व्यापारी तथा सर्वसाधारणहरुबाट त्यस क्षेत्रमा भारतीय रुपैंयाको कारोबारको स्थिति अध्ययन गरि पांच दिनपछी बीरगंज फर्कें र बेलुका अबेरसम्म बसी प्रतिवेदन तयार गरेर भोलिपल्ट विहान १० बजे म्यानेजरलाई हस्तलिखित प्रतिवेदन बुझाएको थिएँ । प्रतिवेदन बुझाएको एक घण्टा पछी नै म्यानेजरले बोलाएर खुसी हुँदै धेरै राम्रो प्रतिवेदन बनाउन म सफल भएकोमा धन्यवाद दिएका थिए । त्यो दिन साँच्चै नै म आफूलाई सुम्पिएको उक्त काम सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा निकै खुसी र उत्साहित भएको थिएँ ।

केहि समयपछि नै गभर्नर बीरगंज शाखाको भ्रमणमा आएका थिए । उक्त समय म्यानेजरले गभर्नर समक्ष मेरो बढुवा ढिला भएकोमा गुनासो व्यक्त गरेका रहेछन् । फलस्वरूप गभर्नरले मेरो कार्यकक्षमा आई मेरो बायोडाटा बारे सोधेका थिए । त्यसको केहि महिना भित्रै निस्केको बढुवाको लिस्टमा म पनि परेको देख्दा म मनैदेखि रमाएको थिएँ । कुनै निश्चित सपना र गन्तव्यको मानचित्र बिना नै अगाडी बढिरहेको मेरो जीवन यात्राको यो मोडमा मैले सपना बिना नै यात्राहरुमा रुमल्लिरहनु पर्दाको पीडालाई नजिकबाट नियालेको थिएँ । जीवनमा सपना र उक्त सपना प्राप्त गर्नका लागि कोरिने मानचित्रको महत्व कति हुँदो रहेछ राम्ररी अनुभव गरेको थिएँ । मैले बुझे सपनाको महत्व अनि मैले अझ धेरै महशुस गरेको थिएँ सपना प्राप्तिका लागि आफ्नो शिक्षा,सीप र अध्ययनलाई परिमार्जन गर्दै आफ्नो जिम्मेवारीलाई लगनशिलता र मेहनतका साथ् पूरा गर्दै जानु पर्ने यथार्ततालाई । यदि हामीमा आफूले देखेको र कोरेको सपनालाई हासिल गर्ने आँट र अठोट छ भने एकदिन हामी अवश्य नै सफल हुन सक्दछौं ।

No comments

Powered by Blogger.