जस्तो सोच्छौ, उस्तै देख्छौ !
आइएसी पढ्दाको मसंग धेरै नै मिल्ने सहपाठी हरी शंकर सिंहले पनि नेपाल राष्ट्र बैंकको उक्त विज्ञापनमा निवेदन गरेका थिए । परीक्षा दिन दुवै संगै हिंडेका पनि हौँ तर परीक्षा केन्द्र पुग्न लाग्दा नेपाल राष्ट्र बैंक चोकबाट उनले " भैगो म जाँच दिन्न , तिमी जाउ " भनी फर्केका थिए । परीक्षा शुरु हुनु अन्तिम घडीमा उनको मुड चेन्ज हुनुमा मैले दुई वटा कारणहरु ठम्याएको थिएँ । पहिलो कारण उनले त्यो परीक्षा पहिले देखि नै कार्यरत अस्थायी कर्मचारीहरुलाई स्थायी गराउन देखावटी विज्ञापन गरिएको भन्ने सोच र अर्को कारणमा उनी विस्तार राजनीतितिर ढल्कदै थिए । उनी जागीर तर्फ नलागेर राजनीति तिर लागेकोमा उनको जीवनमा के कस्तो फरक पर्यो मैले उनलाई सोधेको छैन तर उनको त्यो राजनीति यात्रा मेरो लागि भने पछी वरदान सावित भएको थियो ।
वि.सं. २०२९ साल असोज ५ गते नेपाल राष्ट्र बैंकको सहायक पदबाट मेरो बैंकिंग जागिरे यात्रा शुरु भएको थियो । नवनिर्मित शाखा भवनमा रही काम गर्ने आफ्नो चाहना पूरा हुन् पाएन । मलाई मेरो नियुक्ति लगतै वीरगंज भन्सार स्थित विदेशी मुद्रा सटही काउन्टरमा काम गर्न खटाइएको थियो । नेपाल राष्ट्र बैंकको स्थापना र नेपाली नोट तथा सिक्का छ्याप छ्याप्ती चलन चल्तीमा आई सक्दा पनि नेपाली मुद्रा बजारमा द्वयमुद्रा प्रणाली ( नेपाली मुद्रा र भारतीय मुद्रा को चलनचल्ती) कायमै रहनु नेपाल राष्ट बैंकको लागि टाउको दुखाई थियो । त्यसैले नेपाल राष्ट बैंकले नेपाली मुद्रा बजारबाट भारतीय नोटको चलनचल्तीलाई विस्थापित गर्न भारतीय नोट खुला रुपमा चलनचल्ती गर्नेलाई जरिवाना र कैद सम्म हुने नियम लागु गर्दै भारतीय रुपैंया खरिद र विक्री सुलभ सटहीको व्यवस्था गर्न भारतीय मुद्रा प्रवेश गर्ने प्रमुख नाकाहरुमा सटही काउन्टरहरुको व्यवस्था गरिएको थियो । नेपालको भारतसंगको व्यापार र नेपालसंग रहेको भारतीय मुद्राको मौज्दातको आधारमा भारतीय रुपैंयासंग नेपाली मुद्राको विनिमयदर पटक पटक परिवर्तन भईरहने गर्दथ्यो ।
नेपाल राष्ट्र बैंकले "आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकास " को निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरि सोको व्यवस्थापन गर्ने, वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैंकिंग तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिंग तथा वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्सनीयता अभिवृद्धि गर्ने र सुरक्षित तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने जस्ता आफ्ना उदेश्यहरु प्राप्तिका लागि गर्ने कामहरु प्राय जसो नीति निर्माण तथा त्यसको कार्यान्वयन मै आधारित रहने र सिधा ग्राहक वा सर्वसाधारणलाई सेवा प्रदान गर्दैन ।
विदेशी मुद्रा विनिमय व्यवस्थापन गर्ने क्रममा विदेशी मुद्राको विक्रिमा नियन्त्रण कायमै रहेकाले विदेशी मुद्रा खरिद गर्न भने सर्वसाधारण नेपाल राष्ट्र बैंक जानु पर्ने थियो । दशैंमा नयाँ नोट साट्न नेपाल राष्ट्र बैंकमा सर्वसाधारणको भिड देख्न पाइन्छ । परिवर्त्य विदेशी मुद्रा खरिद गर्न र भारतीय नोट खरिद तथा विक्री दुवै गर्न म भन्सार काउन्टरमा खटिएको थिएँ । । विनिमयदरको ज्ञान नभएका र हिसाब गर्न नजान्ने सोझा साझा सर्वसाधारण सटही काउन्टरमा भारु साट्न आउँथे । विशेष गरेर तिर्थ गर्न हिडेका नेपाली तिर्थयात्रीहरु भारु साट्न आउँदा काउन्टरको झ्यालबाट " यो मेरो, यो मेरो बुढीको, यो मेरो छोरीको, यो मेरो ज्वाईंको, यो मेरो बुहारीको भन्दै ५ वटा मुठा पारेको नेपाली रुपैंया दिदै भारु माग गर्दथे । ती ५ वटै मुठाको पैसा खोली त्यसको हुन आउने भारुको ५ वटै मुठा पारी यो तपाईंको, यो तपाईंको बुढीको, यो छोरीको, यो ज्वाईंको र यो बुहारीको भनेर छुट्टा छुट्टै दिने गर्नु परेको अझै सम्झना छ । सबैको नोटहरू एकै ठाउँमा मिसाएर नोटको दर मिलाएर दिनुस र पाउनु हुने भारु कसको कति आफै भाग लगाएर लिनुहोस भन्नु व्यवहारिक हुँदैन थियो होला ।
६ महिना जति भन्सार काउन्टरमा काम गरेपछि मेरो शाखा कार्यालयमा सरुवा भयो । सटही काउन्टरमा रहँदा क्यास बुक र डिनोमेशन बुक लेख्न र परिवर्तन विदेशी मुद्रा सटही आदिको काम सिकेर शाखामा चेक भुक्तानी काउन्टरमा रही काम गरे । शाखा कार्यालयमा काम गरेको ६ महिना नबित्दै फेरी मेरो सरुवा वीरगंज बजार स्थित सटही काउन्टरमा फेरी भयो ।
नेपाल राष्ट्र बैंकको ढुकुटी सुरक्षा नेपाली सेनाको जिम्मामा हुन्छ तर सटही काउन्टरको कारोबारको अवधिको सुरक्षामा नेपाल प्रहरीलाई खटाईएको थियो । भन्सार कार्यालय स्थित काउन्टरको सुरक्षार्थ खटिएका प्रहरी जवान कारोबार अवधिभर ड्युटी दिएर कारोबार सके पछी आ-आफ्नो घर जान्थे तर बजारमा सटही काउन्टरको कोठा ठूलो भएकाले ३ जवान प्रहरी २४ घण्टा त्यहि काउन्टरमै बस्ने गरेका थिएँ । काउन्टरमा नेपाल राष्ट्र बैंकका सहायक, नोट गन्ने जाँच्ने (नोगजा) र पियन आ- आफ्नो शिफ्टमा काम गर्न शाखा कार्यालयबाट आवश्यक भारतीय नोट र नेपाली नोट टिनको बक्सामा राखी आ-आफ्नो सिफ्टमा काम गर्न आउँथ्यौं । पहिलो शिफ्ट विहान ७ देखि दिउँसो १ बजे सम्म र दोस्रो शिफ्ट दिउँसो १ बजे देखि बेलुकी ७ बजे सम्म हुने गर्दथ्यो । मेरो दिउँसो १ बजे देखि बेलुकी ७ बजे सम्मको शिफ्ट थियो ।
एकदिन भारु साट्न आउनेहरुको भीड अरु दिनको भन्दा निकै बढी थियो । शाखा कार्यालयबाट ल्याएको एक लाख भारु मध्ये आठ हजार पाँच सय रुपैंया मात्र बाकी रहेको थियो । पहिले भारुको क्यास बुक र डिनोमिनेशन लेखि भारु मिलाई आठ हजार पाँच सयलाई एउटा रबरले बेरेर घर्रा भित्र राख्यौं अनि नेपाली नोट मिलाई नेपाली नोटको क्यास बुक र डिनोमिनेशन लेखि टिनको बक्सामा राखेर शाखा कार्यालयको भल्टमा गई राख्यौं । भोलिपल्ट कारोबारको लागि भारतीय नोट साट्नु परेकाले भल्ट खोलि पैसा काउन्टर लैजाने बक्सामा राख्न खोज्दा भारुको सानो प्याकेट नदेखी तत्काल मेनेजरलाई खबर गर्यौं । मेनेजरले के भयो त ? कसरी हरायो भनेर सोद्दा म र नोगजा कर्मचारीले हिजो हतारमा ड्रअरबाट झिकेर बक्सामा राख्न बिर्सेको व्यहोरा बतायौं । उनेल तत्काल काउन्टरमा गई स्थलगत निरीक्षण गरे । पहिलो सिफ्टमा काम गर्ने कर्मचारी तथा त्यहाँ कार्यरत प्रहरीहरुसँग सोधपुछ गरे । उनले स्थलगत छानविनमा एक प्रहरीको हाउभाउ अलि अस्वाभाविक देखेको कुरा सुनाएका थिए । डिनोमिनेशन अनुसार पैसा बाकसमा नराख्नु, शाखा कार्यालय स्थित भल्टमा पैसा राख्दा ख्याल नगर्नु हामी दुवै कर्मचारीहरुको हेलचेक्र्याई थियो । हामीलाई कारोबारको लागि जिम्मा दिइएको नगद बढी भुक्तानी भई बैंकको व्यालेन्स कम हुन आएमा वा हराएमा हामीले नै दामासाही तिर्नु पर्ने नियम थियो । हाम्रो ( म र नोगजा) को जिम्मेवारीमा रहेको राष्ट्र बैंकको रकम राष्ट्र बैंकले आकस्मिक निरीक्षण गर्दा घटी भएको पाईएमा हाम्रो बदनियत ठहरिन सक्दथ्यो र हामी कडा सजायको भागीदार हुन सक्थ्यौं तर भूलवश पैसा हराएको वा छुटेको अवस्थामा र हामीले नै कार्यालयलाई जानकारी गराउँदा गराउँदै केन्द्रीय कार्यालयका प्रशासन प्रमुखले के सोचे, के देखे ... तुरुन्त केन्द्रीय कार्यालयबाट छानविन हाकिमहरु आइ हामी दुईको बयान लिई फटाफट हामीलाई निलम्बित गरिदिए । साथै उक्त घटनाको विस्तृत छानविनको लागि डीएसपी कार्यालयलाई लेखि पठाए । एक महिनाको लामो अनुसन्धान पछी डिएसपी कार्यालयले " त्यस कार्यालयका कर्मचारी तथा शंका गरिएको प्रहरीले हराएको उक्त रकम लिएको/ मासेको नदेखिएको " भन्ने प्रतिवेदन पठाए ।
नेपाल राष्ट्र बैंकका प्रशासन प्रमुख यो पदमा आउनु अघि लामो अवधि कानुन विभागमा काम गरेका हुन् । उनले के सोचे, के देखे ! पुन यस घटनाको छानविन गर्न वीरगंज स्थित अन्चालाधिश कार्यालय अन्तर्गतको विशेष प्रहरी शाखामा पठाए । विशेष प्रहरीले म, नोगजा र शंका गरिएको प्रहरीलाई बयान लिन झिकायो । ३ जना संग बयान लिदालिदै साँझ ५ बजे पछी, बयान सकिएन तीनैजनालाई आज थुनामा राखी भोलि फेरी बयान लिने सुनाए ।
सरकारी कार्यालय, प्रहरी चौकी र अदालत कहिल्यै जान नपरोस् मेरो अबोध सोच भएकाले मैले राजनीतिमा लागेका मेरो अभिन्न मित्र हरि शंकर सिंहलाई सहयोगको लागि आफू संगै लगेको थिएँ । उनले आफ्नो र वरिष्ट पत्रकार इश्वर चन्द्र गौतमको ग्यारेन्टीमा मलाई थुनामा बस्न नदिई छुटाएर ल्याएका थिए । नौ महिना लामो अनुसन्धान पछी अन्तत: विशेष प्रहरीले पनि डिएसपी कार्यालयकै फैसला राष्ट्र बैंकलाई बुझायो । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले " हराएको रकम, दुवै कर्मचारीहरुबाट दामासाहीले असुल गर्नु र नीजहरुको निलम्बन फुकुवा गर्नु " भन्ने निर्देशन दियो ।
२०२९ साल असोज ५ गते जुन उत्साह र उमंगका साथ जागिर शुरु गरेको थिएँ त्यसमा आफ्नो सानो भूलको लागि निलम्बन र लामो अनुसन्धानमा तानिनु पर्दा धेरै नै निराश हुन थालेको थिएँ म । त्यसबेला जागिर प्रवेश गरेको ६ महिना मात्र परीक्षणकालको व्यवस्था थियो (अहिले पुरुषका लागि १ वर्ष र महिलाका लागि ६ महिना परिक्षणकालको व्यवस्था छ) यो घटना हुनु अघि मैले परिक्षणकाल पूरा गरेर स्थायी नियुक्ति पाइसकेको थिएँ । परिक्षणकाल भित्रै त्यो घटना घटेको भए मेरो राष्ट्र बैंकको जागिर खोसिने निश्चित प्राय थियो । बैंकिंग एउटा कला हो जसमा आफ्ना कर्मचारी र ग्राहकहरुको उचित व्यवस्थापन गरिन्छ । राम्रो काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गल्ति कमजोरी गर्ने कर्मचारीहरुलाई दण्ड जरिवाना व्यवस्था बैंकको नियम विनियमहरुमा प्रष्टै लेखिएकै हुन्छ । सानातिना घटनाहरुको छानविन गर्ने क्षमता पनि संस्थामै हुन्छ ।


No comments