राजनीति,व्यवसाय वा जागिर ?
जब हामी हाम्रो जीवनका हरेक बसन्तहरु पार गरिरहेका हुन्छौं, जीवनप्रतिको चाह, बुझाई र रोजाई बदलिने क्रम जारी रहन्छ र यसप्रकारको मानसिक र व्यवहारिक परिवर्तन जीवन सहजताका लागि आवश्यक पनि छ । वास्तवमा जीवनका हरेक आरोह अवरोहहरुले हामीलाई जीवनप्रतिको दृष्टिकोणमा परिपक्वता ल्याइदिने काम गरिरहेको हुन्छ । जीवनका यहि गोरेटोहरुमा हिंड्दै गर्दा नै हो हामीले आफ्नो लक्ष्य अनि गन्तव्यको सहि पहिचान गर्ने । आफ्नो लागि कुन बाटो सहि छ भनेर पहिल्याउने ।
जुनदिन म स्कूलको परिसरबाट निस्किएर क्याम्पसको खुल्ला वातावरणमा प्रवेश गरेको थिएँ , क्याम्पसको माहोल मैले सोचेको भन्दा विलकुल अलग र अपरिचित थियो । कलेज तथा क्याम्पसहरु शैक्षिक स्थल भन्दा बढी राजनैतिक स्थल भएको भान हुन्थ्यो । अधिकांश विधार्थीहरु कुनै न कुनै राजनैतिक संगठनहरुमा आवद्ध भएका हुन्थे र अक्सर विधार्थीको मुखबाट पढाइका भन्दा राजनीतिका कुराहरुको चर्चा परिचर्चा सुन्न पाइन्थ्यो । म क्याम्पसको माहोल देखेर भयवित थिएँ या आफ्नो परिस्थिति देखेर, त्यो कुरालाई मैले छुट्याउन सकेको थिइन ।
म प्रष्टै देख्थें कलेज आउँदा र जाँदा बाटाहरुमा अनि गल्लि,चोक र क्याम्पसहरुमा, एकप्रकारको आक्रोसित नेपालीहरुको भीड, म सुन्थे हरेक हावाहरुसंगै बतासिदै आएका युवाहरुका प्रजातान्त्रिक आवाजहरु अनि म अनुभव गरिरहेको थिएँ २०१७ सालमा राजा महेन्द्रबाट अपहरित गरिएको प्रजातन्त्रलाई फर्काउन अत्तालिरहेका नेपालीहरुको मन ! कांग्रेस तथा कम्युनिष्ट विचारधारा अंगालेका दलका नेता तथा विधार्थी नेताहरु आ आफ्नै रणनीतिका साथ पंचायती व्यवस्थालाई फाल्न आन्दोलित थिए । मैले मैसँग अध्ययनरत समकक्षी साथीहरु मध्ये प्राय साथीहरु राजनीतिक संगठनहरुमा होमिएको देखेको थें।तर मलाई त आफ्नै बाल्यकालमा खोसिएको रहर र खुसी फर्काउने चिन्ता थियो । त्यसैले पनि होला म कहिल्यै कुनै राजनैतिक संगठनहरुमा आवद्ध भईन, नत कसैको उक्साहटमा आएर कुनै दलको झण्डा बोकेर उनीहरुको गुनगान गर्दै हिंडे । अपरिपक्व उमेरमा राजनीतिमा लाग्नु वा कुनै कुराका लागि परिपक्क नै नभई त्यो कुरामा होमिनु उचित लाग्दैनथ्यो मलाई । मेरो अबोध मानसिकताले राजनीतिमा लाग्दा झुट धेरै नै बोल्नु पर्ने र व्यवसाय गर्दा ग्राहक ठग्नु पर्ने र सरकारी कर दस्तुर छल्नु पर्ने पेशाका रुपमा बुझेको थियो ।
एसएलसी पश्चात जब हामी उच्च शिक्षाका लागि आफ्ना पाइलाहरु कलेजर क्याम्पस तिर अगाडी बढाइरहेका हुन्छौं, त्यस बेला देखि नै हामीले आफ्नो जीवनको लक्ष्य निर्धारण गरेर सोहि अनुरुप आफूलाई तयार पार्दै लैजानु उपयुक्त हुन्छ । हाम्रो जस्तो कमजोर आर्थिक अवस्था र वेरोजगारीको भयावह स्थिति रहेको देशमा आवश्यक अध्ययन गरेर मात्र कुनै पेशामा संलग्न हुने वा कुनै अवसर पाएमा जागिर खाँदै अध्ययनलाई पनि संगसंगै अगाडी बढाउने भन्ने कुरामा आफू अनुकूल उपयुक्त निर्णय लिन सक्नु आवश्यक छ । कलेज क्याम्पसका अधिकांश टीनएज विधार्थीहरु विभिन्न राजनैतिक संगठनहरुमा आफूलाई संलग्न गराएर राजनीतिमै आफ्नो जीवनको लक्ष्य निर्धारण गर्ने सपना देखिरहेका हुन्छन् । विधार्थी संगठनमा लाग्ने सबै जना राजनीतिमा सफल हुन्छन नै भन्ने पनि त छैन । फेरी हामी नेपालको एकीकरणको अवस्थादेखि गणतान्त्रिक नेपालको नयाँ स्वरुप सम्मको कैंयौं राजनैतिक उथलपुथल, षडयन्त्र, चलखेल,हत्या जस्ता इतिहासबाट पनि त अनविज्ञ छैनौं ।
कुनै पनि काममा सफलता हासिल गर्न समयको सहि सदुपयोग, कडा मेहनत, सहि लक्ष्यकोरकामको छनौट, लक्ष्यप्रति अर्जुन दृष्टि,अनुसन्धानात्मक सोच, आफू र आफ्नो कार्य प्रति विश्वास र इमान्दारिताको खाँचो पर्दछ । हामीले स्कूल जीवन पश्चात ३० वर्ष नकाट्दै आफ्नो लक्ष्य निर्धारण गरि लक्षित गन्तव्यको आधा यात्रा पार गरिसक्ने हो भने हामीलाई सफल व्यक्ति हुनबाट कसैले रोक्न सक्दैन।
म खुब पढ्थें । जीवनमा सफल व्यक्तिहरुका संघर्षका कथाहरु, उनीहरुले सफलता हासिल गर्न गरेका अथक प्रयासहरु । जस्तोसुकै परिस्थितिमा पनि हार नमानी गन्तव्य तर्फ डटेर लम्किरहने उनीहरुका एक एक व्यथाहरु । अनि म आफूलाई उभ्याउँथें उनीहरुको शब्दहरुमा र रमाउँथें उनीहरुको सफलतामा । म सिक्थे त्यहींबाट धेरै ज्ञानहरु र अवलम्वन गर्थे त्यहि कुराहरु मेरो जीवनमा । साँचै ममा भएको केहि गर्ने अठोट र आफ्नो सोचाई र काम प्रतिको विश्वास अनि लगनले नै हो मलाई आज यो स्थानमा ल्याई पुर्याएको ।
विस्तारै मैले बुझ्न थालेको थें, राजनीतिले जनता र समाजलाई सुख सुविधा र समान अधिकार प्रदान गरि राज्यको सम्प्रभुता, राष्ट्रवादिता, शान्ति सुरक्षा, समृद्धि र समानता कायम गर्न ठूलो भूमिका निभाइरहेको हुन्छ भन्ने । साथै बुझ्न थालिसकेको थें व्यवसायले देशको आपूर्ति, वितरण, रोजगारी, राष्ट्रिय आय तथा सामाजिक विकासमा अधिक सहयोग पुर्याइरहेको हुन्छ र यसले वस्तु तथा सेवा प्राप्तिमा नागरिकलाई सहजता प्रदान गर्छ भन्ने ।म स्पष्ट भईसकेको थिएँ, जागिरलाई नै आफ्नो जीवन बनाइरहेका जागिरेहरुले सरल, सहज र नवीनतम विधि र प्रविधिको खोजी गर्दै राजनैतिक र व्यावसायिक दुवै क्षेत्रलाई सफलाताका साथ् सम्पादन गर्न सहयोग गरिरहेका हुन्छन् भन्ने । तर अहिले राजनीतिक व्यक्ति सर्व शक्तिमान, व्यापारी सबैभन्दा धनी र जागिरे शक्तिमान र धनवान दुवै बन्ने जस्ता चाहनाले देश र जनताहरु विभिन्न प्रकारका समस्याहरुबाट गुज्रीरहनु परेको विडम्वना हामी प्रष्टै अनुभव गर्न सक्दछौं ।
आफूमा भएको ज्ञान, सीप, कला र इच्छा अनुरुप आफू कुन क्षेत्रमा जाने भन्ने कुरालाई नै बिर्सिएर छोटो समयमा नै नाम दाम कमाउने होडमा एउटै व्यक्ति विभिन्न क्षेत्रमा एकैपटक होमिइरहेका हुन्छन् । एउटा शिक्षक स्कूल कलेज पढाउने, स्टेशनरीको व्यवसाय खोल्ने साथै राजनैतिक गर्ने र समाजसेवामा पनि अगाडी आउने काम संगसंगै एकै पटक गरिरहेको पाइन्छ । त्यस्तै, एउटा बैंकको जागिरेले विहान क्याम्पस पढाउने, दिउँसो बैंकमा जागिर खाने र बाँकी समयमा सक्रियताका साथ् राजनीति गर्ने गरेको देखिन्छ । यस्तो प्रवृतिले गर्दा आफू संलग्न कुनै पनि क्षेत्रमा आवश्यकता अनुरुपको समय, ज्ञान, सीप र संलग्नता दिन नसकी असफलता व्यहोर्नु पर्ने सम्भावना उच्च देखिन्छ । त्यसैले आफूमा रहेको इच्छा, ज्ञान,सीप र जाँगर अनुरुप कुनै पनि एक क्षेत्रमा पूर्ण समर्पणकासाथ निरन्तरता दिने हो भने सोचे अनुरुपको सफलता हासिल गर्न सकिन्छ ।
मिनबहादुर गुरुङ यसका लागि एउटा सशक्त उदारहण हुन् । पहिले गुरुङ कृषि पेशामा आबद्द थिए । कृषि क्षेत्रमा राम्रो गर्न नसकेको तिक्ततालाई लिएर उनले स्टोर किपरको जागिर खाएका थिए । त्यसबाट पनि आफ्नो चित्त बुझाउन असमर्थ उनले पछी नेपाल बैंकमा जागिर खान थालेका थिए । बिवाह पश्चात उनले २०४१ सालतिर श्रीमती कै लागि भनेर एउटा सटर भाडामा लिई कोल्ड स्टोर खोले । त्यहि व्यापारमा हुन थालेको सफलताबाट उत्साहित र आशावादी भएका उनले नेपाल बैंकको जागिर छोडिदिए र आफ्नो सम्पूर्ण मेहनत र ध्यान आफ्नो व्यापारमा दिन थाले । अथक मेहनत र आफ्नो काम प्रति विश्वास र इमान्दारिताका साथ् अगाडी बढेकै कारण तीन दशकको अन्तरालमा नै उनी अहिले नेपालको ठूला व्यापारीहरुको सूचीमा आवद्द हुन सकेका हुन् । एउटा कोल्ड स्टोरबाट आफ्नो जीवनको व्यवसायीक खुड्किलो टेक्न सुरु गरेका मिनबहादुर गुरुङको अहिले नेपालको प्रमुख व्यापारिक सहरहरुमा दुई दर्जन भन्दा बढी संख्यामा भाटभटेनी सुपरमार्केटहरु रहेकाछन् । उनले कृषि, जागिर र व्यापार संगसंगै गरेका भए सायद यो सफलता उनको सपना मात्र कल्पना मै सिमित हुन्थ्यो कि ?
कमजोर अर्थतन्त्र र अत्यधिक बेरोजगारीको समस्याबाट ग्रसित रहेको हाम्रो देशमा न्यून तलब,ज्याला र पारिश्रमिक मै आफ्नो जीवन गुजार्नु पर्ने बाध्यतासंगै हामीले आफ्नो इच्छा, चाहनाहरुलाई सिमित दायरामा राख्न सकिरहेका हुँदैनौं र दिनानुदिन महत्वाकांक्षी बन्दै गईरहेका हुन्छौं र त्यहि महत्वाकांक्षा हासिल गर्न विभिन्न क्षेत्रमा एकैपटक लागिपरेका हुन्छौं । तर विकसित अर्थतन्त्र भएका मुलुकहरुमा एक व्यक्ति एकभन्दा बढी पेशा वा क्षेत्रमा संलग्न भएको पाइदैन । आफ्नो निर्वाह चल्न नसक्ने र आफ्नो चाहना प्रतिकूलको पेशामा रहेको महसुस भएको अवस्थामा समय र भविष्य बर्बाद नगराई बरु पेशा परिवर्तन गर्नु नै उपयुक्त हुन्छ । वर्तमान वास्तविकतासंग जुझेर सफलता हासिल गर्न नसकेको अवस्थामा हतोत्साहित नबनी नयाँ सोच र कार्यशैली अपनाई अपेक्षित सफलताको शिखरतर्फ आफ्नो पाइला बढाउनु नै बुद्धिमता हुन्छ ।


No comments