बैंकिंग क्षेत्रमा बढेका पाइलाहरु
वीरगंज स्थित माइस्थान मन्दिर ( गहवामाई ) को ठिक पछाडी वहालको घरमा संचालन भैरहेको नेपाल राष्ट्र बैंक, नवनिर्मित आफ्नै भवन आदर्शनगरमा सर्ने तयारी गरिरहँदा म भने हातमा किताब कापि च्यापेर एक जोर साधारण चप्पल र कपडामा ठाकुराम कलेजमा आइ एस सी अध्ययनका लागि दौडिरहेको हुन्थें । कमजोर आर्थिक अवस्था र पारिवारिक असहजताका बाबजुद पनि भविष्य निर्माणका लागि आफ्ना पाइलाहरु जबरजस्ती गन्तव्यतिर घिसारिरहँदाको मेरो मानसपटमा न पढाई प्रति रुची थियो न त जीवनप्रति कुनै महत्वाकांक्षा नै ! नवनिर्मित नेपाल राष्ट्र बैंकको भवन छेउबाट बैंकलाई नियाल्दै क्याम्पस जानु र फेरी त्यही बाटो फर्किनु २०२८ सालतिरको मेरो दैनिकी बनिसकेको थियो ।
राष्ट्र बैंकलाई नियाल्दै मैले मेरो दैनिकी कटाउँदै गर्दा मलाई मेरो अध्ययन भन्दा पनि प्यारो र महत्व आदर्शनगरको फराकिलो जमिनमा बनेको नयाँ आधुनिक भवनको केन्द्रीय बैंकमा जागिर खानु बनिरहँदा मेरा तिनै रहर अनि आकांक्षाले मनलाई उथलपुथल पार्न थालिसकेको थियो । केन्द्रीय बैंकमा जागिर खाने मेरा सपनाका भर्खरै मात्र टुसाउँदै गरेका पालुवाहरुलाई जतनसाथ् बोकेर त्यहि सडकमा त्यसैगरी दिनहरु व्यतित गरिरहँदा सौभाग्यवश त्यहि वर्ष नेपाल राष्ट्र बैंकले वीरगंज शाखाको लागि १५ जना सहायक पदका लागि खुला तर्फ विज्ञापन आह्वान गरेको थियो । मलाई सम्झना छ अझै, साँचै त्यतिखेर मेरो खुसीको सीमा थिएन । कताकता आफ्नो सपनाका टुसाहरुले पालुवा फेरिरहेको दृश्य आफ्ना नयनहरु सामु देखिरहेको थिएँ । मनमा एकप्रकारको अलग उत्साह र जाँगर भरिएको म प्रष्टै अनुभव गरिरहेको थिएँ ।
उक्त विज्ञापनमा निवेदन दिन न्यूनतम शैक्षिक योग्यता एसएलसी, पूर्व अनुभव नचाहिने, परीक्षा शुल्क नपर्ने, फोटो, रु. १ को टिकट र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि मात्र चाहिने थाहा पाउँदा म झन् फुरुङ्ग परेको थिएँ । राम्रो काम गर्न कसैसंग नसोध्ने मेरो बानीले गर्दा घरमा सल्लाह नै नगरी निवेदन दिएको थिएँ ।
साँचै आइएससी गर्नु मेरो रहर भन्दा नि बाध्यता थियो । त्यतिबेलाको मेरो जीवन र मेरो वरपरको परिस्थितिले मलाई अध्ययन प्रति एकप्रकारको बितृष्णा पैदा गराइसकेको थियो । म क्रमिक रुपमा आफ्नो स्थितिलाई सुधार गर्न, काम र जागिर तिर आकर्षित हुँदै गईरहेको थिएँ । फलस्वरूप मलाई आइएससी पूरा गर्नतर्फ लाग्नु भनेको समय बर्बाद गर्नु हो र केन्द्रीय बैंकमा जागिर खाने आफ्नो सपना साकार पार्ने अवसरलाई छेउ लगाएर अपहेलना गर्नु हो भन्ने लाग्यो । मेरो अगाडी नै आएको यो सुनौलो अवसरलाई खेर जान नदिने अठोट साथ् मैले भित्र भित्रै राष्ट्र बैंकको लिखित परीक्षाका लागि पूरा मेहनत गर्न थालें । गणित, नेपाल परिचय र बैंकिंग विषयको परीक्षा दिनु पर्ने थियो । म गणितमा अब्बल भएकाले नेपाल परिचय र बैंकिंग विषय तिर नै बढी मेहनत गर्न थालेको थिएँ ।
नेपाल राष्ट्र बैंक वीरगंज शाखामा त्यति बेला १५ जना अस्थायी सहायक कार्यरत थिए । त्यहि १५ जनालाई स्थायी गराउन मात्र विज्ञापन गरिएको हो र विज्ञापन मात्र देखावटीको लागि हो भन्ने हल्लाले त्यतिबेला खुब बजार तताएको थियो । तर अटल विस्वास र दृढ संकल्पका साथ परीक्षाको तयारीमा जुटिरहेको मेरो मानसपटललाई त्यो हल्लाले कुनै असर नै गर्न सकेन । परीक्षाको मिति तोकियो । म झन् उत्साहका साथ् तयारीमा जुटिरहें ।
जब म परीक्षा दिन ठाकुर राम क्याम्पस पुगेको थिएँ, उम्मेदवारहरुको भिडले क्याम्पसको माहोल तातिएको थियो मानौं त्यहाँ कुनै मेला लागिरहेको छ । परीक्षा सकियो । नतिजाको प्रतिक्षामा ६ महिना बितेको पत्तै भएन । कडा परिश्रम र आफ्नो मेहनत र सपना माथि विश्वास गरे असम्भव भन्ने कुरै के छ र यो दुनियामा ! म पास भएँ अर्थात् मेरो नाम निस्कियो । मैले मेरो सपनालाई एकदमै नजिकबाट नियालें र यसलाई पूरा इमान्दारिताकासाथ् आफ्नो जीवनको सफलताको खुड्किलो बनाउने अठोटका साथ् जीवनमा पहिलो पटक म खुसीले पुलकित भएर मुस्कुराएँको थिएँ ।
त्यतिखेर लिखित परीक्षाको नतिजा संगै एउटा घटनाले खुबै चर्चा पाएको थियो । नेपाल राष्ट्र बैंकमा कार्यरत एक जना अस्थायी सहायक बि कम गरिसकेका र मेधावी हुँदाहुँदै पनि परीक्षामा फेल भएका रहेछन् । उनले राष्ट्र बैंकमै कार्यरत अध्ययनमा कमजोर एकजना आफ्नो हितैसी साथीलाई परीक्षामा आफ्नो कापीको सबै उत्तरहरु सार्न दिएका रहेछन् । परीक्षकले सार्ने उम्मेदवारको कापी पहिले परीक्षण गरी उच्चतम अंक दिए, त्यसपछि सार्न दिनेको कापी परिक्षण गर्दा पहिलो कापिको हुबहु उत्तर देखेर सार्न दिनेलाई शुन्य अंक दिएका रहेछन् ।
यो घटनाले प्रतिस्पर्धाको परीक्षामा अरु प्रतिस्पर्धीलाई पछी पार्दै आफू अगाडी बढ्ने कुरालाई प्रष्ट पारेको थियो । तर उनले एउटा आफ्नो कमजोर साथीलाई सहयोग गर्ने सहृदयता देखाउँदा आफूले असफलता व्यहोर्नु परेको थियो । तर यो विडम्बनाले उनलाई केहि पाठ सिकायो सायद, र त उनले केहि समय पछी नै एउटा सस्थानको विज्ञापनबाट उच्चा तहकै पदमा प्रतिस्पर्धा गरि सफलता हासिल गरे र नेपाल राष्ट्र बैंकको म्यादी सहायक पदबाट खुसीसाथ बाहिरीए । यो सम्पूर्ण घटनाले जीवनमा जे जति घटनाहरु घटिरहेका हुन्छन्, त्यसका पछाडी केहि कारणहरु लुकेका हुन्छन् र त्यसलाई सकारात्मकताका साथ् बुझेर अगाडी बढे त्यसले जीवनलाई अझ राम्रो बनाउने प्रष्ट परेको छ ।
लिखित परीक्षाको नतिजा संगै मौखिक अन्तर्वार्ताको पनि मिति तोकिएकाले म अन्तर्वार्ताको तयारीमा सामान्य ज्ञान, राष्ट्र बैंकको काम कर्तव्य, उदेश्य चुनौतीहरु तथा ताजा राजनैतिक र आर्थिक घटनाहरु तर्फ पूरा लगनका लास आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न थालिसकेको थिएँ । त्यसैताका राजा महेन्द्रको हृदयघातका कारण चितवनको दियालो बंगलामा स्वर्गारोहण भएको दुखद घटनाले देश भावविह्वल भैरहेको थियो । मैले त्यो घटनाको पनि तिथिमिति र घटना स्थान कण्ठस्त पारेको थिएँ ।
अर्न्तावार्ताको दिन आयो । म पूर्ण तयारीका साथ अन्तर्वार्तामा सामेल भएको थिएँ । अब पालो थियो मेरो सपनाका लागि मैले भोक प्यास र निन्द्रा नभनी गरेको कडा मेहनतको अन्तिम नतिजाको प्रतीक्षा गर्ने । यो पर्खाइ साँच्चै मेरो लागि अत्यन्त कठिन र छटपटीपूर्ण सावित भएको थियो । केहिदिनमै नतिजा प्रकाशित भयो । १५ जना सफल उम्मेदवारमा मेरो नाम उत्कृष्ट ७ मा परेको रहेछ । आफूले गरेको परिश्रमको फल प्राप्त भएकोमा म एकदमै रमाइरहेको थिएँ । अस्थायी रुपमा कार्यरत कर्मचारीहरु मध्ये एक जनाको मात्र नाम निस्किएको थियो भने बाकि अन्य अस्थायी कर्मचारीहरु जागिरबाटै बाहिरिएका थिए । लिखित परीक्षा अगाडी चलेको हल्लालाई राष्ट्र बैंकले गलत सावित गरिदिएको थियो ।
हालसम्म पनि नेपाल राष्ट्र बैंकको खुल्ला तर्फको विज्ञापनमा पूर्ण निष्पक्षता कायम रहँदै आएको पाइएको छ । नेपाल राष्ट्र बैंक जस्तै नेपालका अन्य सरकारी निकाय तथा संस्थानहरुमा खुल्ला प्रतिस्पर्धा अन्तर्गत लिइएको लिखित परीक्षामा निष्पक्षता कायम रहेको पाइएको छ । तर अन्तर्वार्ता वा सिधा अन्तर्वार्ता मार्फत कर्मचारी छनौटको क्रममा केहि स्वेच्छाचारी निर्णयहरु नहुने गरेका भने होईनन् ।
आजको प्रतिस्पर्धात्मक युगमा आफूलाई सधैं अब्बल र योग्य बनाउँदै यस्ता स्वेच्छाचारी निर्णयहरु आफू माथि नाथोपरियोस भन्नको लागि आफ्नै तयारीमा विशेष जोड दिएर अगाडी बढ्नु नै समयको माग रहेको छ।


No comments