गुणस्तर चिह्न नलिने ग्यास उद्योगलाई कारबाही
सरकारले गुणस्तर चिह्न नलिने ग्यास उद्योगलाई
कारबाही गर्ने भएको छ । खाना पकाउने एलपी ग्यास उद्योगलाई गुणस्तर चिह्न लिन
सरकारले अनिवार्य गरे पनि उद्योगीले अटेर गरेपछि कारबाही गर्न लागिएको बुझिएको छ ।
ग्यासबाट हुने दुर्घटना नियन्त्रण गर्न गुणस्तर
चिह्न अनिवार्य गरे पनि उद्योगीले त्यसको पालना नगरेको बुझिएको छ । नेपाल गुणस्तर
तथा नापतौल विभागले ग्यास उद्योगमा गुणस्तर चिह्न (एनएस ५३३) अनिवार्य गरे पनि
अहिलेसम्म पाँच वटा उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । विभागले सार्वजनिक
सूचना निकालेर २७ माघ ०७३ सम्म सबै ग्यास उद्योगले गुणस्तर चिह्न अनिवार्य गरेको
थियो । तर सरकारले दिएको समय बितेको लामो समय भइसक्दासमेत उद्योगहरुले अझै चिह्न
लिएका छैनन् ।
तिहारपछि अनुगमन गरेर सरकारी मापदण्ड पालना नगर्ने
उद्योगलाई कानुनी दायरामा ल्याउने विभागको भनाइ रहेको छ । विभागका अनुसार नेपाल, मनोज, साइवावा, श्रीकृष्ण र एनएल
ग्यास प्रालिले एनएस चिह्न लिएका छन् । १२ वटा एनएस चिह्न
लिनका लागि निवेदन पेस परेको विभागले जानकारी दिएको छ । अहिले मुलुकभर ५३ वटा ग्यास
उद्योग सञ्चालनमा छन् ।
सरकारले ग्यास प्लान्टमा फायर फाइटिङ, सिलिन्डर परीक्षण
गर्ने हाइड्रोलिक मेसिन, दुर्घटनाबाट
बच्ने सुरक्षा सामग्री, ग्यास
प्लान्टलाई चाहिने पूर्वाधारमा जोड दिएको छ । यस्तै ग्यास भर्नुअगाडि सिलिन्डर
सरसफाइ गर्नुपर्ने, फुटरिङ
गर्न नहुने, सिलिन्डर
गुणस्तर अनुसार मात्रै प्रयोग गर्नुपर्ने सरकारी नियममा उल्लेख छ । तर हाल
सञ्चालनमा रहेका उद्योगमध्ये अधिकांशले मापदण्ड पूरा नगरेको विभागले जनाएको छ ।
एनएस चिह्नका लागि अनिर्वाय मापदण्डभित्र बस्नुपर्ने र मापदण्डका लागि पूर्वाधार
बढाउनु पर्ने कुरामा विभागले स्पष्ट परेको छ ।

No comments