Add

Add

सुनचाँदी धितोमा बैंकहरूको लगानी



गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा २२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले घरजग्गा, सेयरलगायतका धितोमा हुने लगानीलाई निरुत्साहित गर्ने नीति लिएपछि सुन धितोमा लगानी वृद्धि भएको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले २०७४ असारसम्म सुन र चाँदी धितो राखेर ३७ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेका छन् । 

राष्ट्र बैंकले केही समयदेखि बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा बढेको र यसले जोखिम निम्त्याउने भन्दै केही महिनायता बैंकहरूलाई सचेत गराइरहेको छ । लगानीका क्षेत्रहरूको सिमितता र अनुत्पादक क्षेत्रमा लगानीको कडाइका कारण सुन धितोमा प्रदान गरीने उपभोग्य कर्जा वृद्धि भएको हो ।

सुन चाँदीलाई अप्ठ्यारो पर्दा तुरुन्त रकममा परिवर्तन गर्न सकिने भएकाले बचतका रुपमा समेत लिईने गरिएको छ भने सर्वसाधारणमा सुन किन्ने र आफूलाई अप्ठेरो पर्दा त्यही धितो राखेर ऋण लिने प्रचलन छ । पछिल्लो समयमा लगानीका रुपमा समेत ढिक्का सुन किनेर राख्ने प्रचलन समेत रहेको व्यापारीहरू बताउँछन् । 

बैंकहरूले उपभोग्य शीर्षकअन्तर्गत छोटो समयमा लागि सुन धितो लिएर दिने गरेका छन् । सर्वसाधारणले पनि छिटो प्रक्रियाबाट कर्जा दिने भएकाले सर्वसाधारणले भने आफूलाई अप्ठेरो पर्दा गर्जो टार्न सुन धितो राखेर कर्जा लिने गरेका छन् । ऋण लिने प्रक्रिया सरल भएको र छिटो हुनुका साथै व्याजदर पनि अन्य कर्जाको तुलनामा सस्तो रहेकाले सुनचाँदी धितो कर्जा सर्वसाधारणबीच लोकप्रिय छ ।

घरजग्गामालगायत अन्य सम्पत्ती धितोमा ऋण लिन मूल्यांकनदेखि अन्य लामो प्रक्रिया पूरा गर्नुपर्ने भए पनि सुनचाँदी धितोमा कर्जा छिटो पाइने व्यवस्था छ । बैंकहरूले सुन धितोमा कर्जा लगानी गर्दा बजार मुल्यका आधारमा धितो मूल्यांकन गरी ग्राहक हेरेर ५०–७० प्रतिशतसम्म कर्जा लगानी गर्ने गरेका छन् । अहिले बैंकहरूले सुन धितोमा १० देखि १५ प्रतिशतसम्म व्याजदरमा लगानी गर्ने गरेका छन् । 



No comments

Powered by Blogger.