वाणिज्य बैंकको मुनाफा वृद्धि
वाणिज्य बैंकहरूले गत आर्थिक
वर्षमा ४५ अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । आर्थिक वर्ष ०७२/७३ को
तुलनामा यी बैंकहरूको खुद मुनाफा करिब २७ प्रतिशतले बढी हो । बैंकहरूले सार्वजनिक
गरेको गत वर्षको वित्तीय विवरणबाट कुल मुनाफा निकालिएको हो ।
वित्तीय विवरण सार्वजनिक गरिसकेका
बैंकहरूमध्ये २३ को मुनाफा १ अर्ब रुपैयाँभन्दा बढी छ । तीमध्ये २ अर्ब
रुपैयाँभन्दा बढी मुनाफा कमाउने ७ वटा र ३ अर्ब रुपैयाँभन्दा बढी कमाउने ४ बैंक
छन् । अघिल्लो आर्थिक वर्ष वार्षिक मुनाफा १ अर्बभन्दा कम रहेका ६ वटा बैंकहरू पनि
गत वर्ष अर्ब कमाउने बैंकको समूहमा उक्लिएका छन् । तीमध्ये केही बैंकहरूको मुनाफा
अन्य वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनको कारणले बढेको छ । हाल २८ वटा वाणिज्य
बैंक सञ्चालनमा छन् ।
अर्थतन्त्रका अन्य क्षेत्रहरूको
तुलनामा वित्तीय क्षेत्र विकसित र पारदर्शी छ । सोही कारण बैंकहरूले असहज
परिस्थितिमा पनि राम्रो मुनाफा कमाउँदै आएका छन् । तर, पछिल्ला महिनाहरूमा बैंकहरूको मुनाफाको आकार बढे पनि
वृद्धिदर तथा सम्पत्तिमा प्रतिफल (आरओई) घट्दै गएको बैंकरले जनाएका छन् । पुँजी
वृद्धिको निर्देशनपछि अधिकांश बैंकहरूले पुँजी वृद्धि गरिसकेका छन् । चार गुणा
पुँजी बढेसँगै बैंकहरूको व्यवसाय पनि बढेकाले कुल मुनाफा पनि बढेको उनीहरूको भनाइ
छ ।
हालसम्म वित्तीय विवरण सार्वजनिक
गर्ने बैंकहरूमध्ये नलिब बैंकको मुनाफा सबैभन्दा बढी ३ अर्ब ६२ करोड रुपैयाँ छ ।
अघिल्लो आर्थिक वर्ष यो बैंकले २ अर्ब ८१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको
थियो । सरकारी स्वामित्वको नेपाल बैंक र निजी स्वामित्वको नेपाल इन्भेस्टमेन्ट
बैंकले क्रमश: ३ अर्ब २१ करोड र ३ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका
छन् । सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा ३ अर्ब ८ करोड रुपैयाँ छ ।
यसैगरी कृषि विकास बैंकले गत
आर्थिक वर्षमा २ अर्ब ७७ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्षको
तुलनामा यो १४ प्रतिशतको वृद्धि हो । यसैगरी हिमालयन र ग्लोबल आईएमई बैंकले पनि २
अर्ब रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षमा हिमालयन बैंकको
खुद मुनाफा २ अर्ब १७ करोड र ग्लोबल आईएमई बैंकको २ अर्ब ३ करोड रुपैयाँ छ ।
आउँदो असोजसम्म वाणिज्य बैंकहरूले
न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
हाल अधिकांश बैंकहरूले चुक्ता पुँजी बढाइसकेका छन् । पुँजी वृद्धिपछि बैंकहरूलाई
व्यवसाय (लगानी) विस्तार गर्न दबाब पुग्यो । यसैकारण ऋण प्रवाह बढयो । अहिले वित्तीय प्रणाली केही सन्तुलित बन्दै गएको राष्ट्र
बैंकले जनाएको छ ।

No comments