Add

Add

एक लाखभन्दा बढीको निक्षेपमा मात्र परिचयपत्र

बैंक तथा वित्तीय संस्थामा एक लाख रुपैयाँभन्दा बढी रकम बचत गर्दा मात्र आफ्नो परिचय खुल्ने कागतजात पेस गर्नुपर्ने भएको छ । जतिसुकै रकम निक्षेप गर्दा पनि निक्षेपकर्ताको परिचयपत्र चाहिने यसअघिको राष्ट्र बैंकको निर्देशनले ग्राहकलाई अप्ठयारो परेपछि परिमार्जन गर्दै १ लाख रुपैयाँभन्दा बढीको सीमा तोकिएको हो । कुनै पनि बैंक खातामा सम्बन्धित खाता सञ्चालकबाहेक अन्य कुनै व्यक्तिले १ लाख रुपैयाँभन्दा बढी रकम नगद जम्मा गर्न आएमा व्यक्तिको पहिचान खुल्ने कागजात लिई नगद जम्मा गर्नुको प्रयोजनसमेत खुलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । 
राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थाभन्दै गत साउन १ देखि ग्राहकको खातामा निक्षेप गर्ने व्यक्तिको परिचय खुलाउने कागजात लिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । यो निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले सबै निक्षेपमा ग्राहकबाहेकका व्यक्तिको परिचयपत्र माग्न थालेपछि सर्वसाधारणलाई समस्या परेको थियो ।
यस्तै १० लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न पाइने छैन । तर, कुनै निक्षेपकर्ताले खास कारण देखाई नगद भुक्तानीका लागि दिइएको नगदको व्यहोरा र कारण मनासिव देखिए त्यस्तो निक्षेपकर्तालाई १० लाख रुपैयाँभन्दा बढी नगद भुक्तानी गर्न राष्ट्र बैंकले छुट दिएको छ । बैंक तथा वित्तीय संस्थाले यस व्यवस्थाबमोजिम नगद भुक्तानी दिइएको विवरण मासिक रूपमा अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । 
यसैगरी निर्देशित सीमाभित्र न्यूनतम चुक्ता पुँजी नपुर्‍याउने बैंक तथा वित्तीय संस्थाहरू बाध्यात्मक रूपमा मर्जर वा एक्विजिसनमा जानुपर्ने भएको छ । राष्ट्र बैंकले परिपत्रमार्फत यस्तो व्यवस्था ल्याएको हो । आर्थिक वर्ष ०७३/७४ को बाह्य लेखापरीक्षण गरी सार्वजनिक गरेको वित्तीय विवरण लेखासम्बन्धी टिप्पणीमा तोकिएबमोजिम न्यूनतम चुक्ता पुँजी पुगेको व्यहोरा उल्लेख नभएका वित्तीय संस्थाहरूलाई तोकिएको कारबाही हुने बैंकले  निर्देशन दिएकोछ । 

न्यूनतम पुँजी नपुगेका बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वा बोनस सेयर घोषणा तथा वितरण गर्न रोक लगाउने, निक्षेप संकलन, कर्जा प्रवाह तथा शाखा विस्तारमा रोक लगाउने राष्ट्र बैंकले स्पष्ट पारेको छ । 

No comments

Powered by Blogger.