झन्डै १० महिना अघि भारतले ५ सय र १ हजार दरका भारतीय नोटहरुलाई चलन चल्तीमा प्रतिबन्ध लगाएपछि नेपाली व्यापारी तथा सर्वसाधारणहरु आफूसंग पहिले देखि रहेको उक्त दरको नोट साट्न नपाएर मर्कामा परेका छन् । नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा पांच सय र हजार दरका नोट तीन करोड ७० लाख भारतीय नोट रहेता पनि सर्वसाधारण तथा व्यापारीहरुसँग ठूलो परिमाणमा यस्ता नोट त्यसै थन्किएर बसेकाछन् ।
भारत सरकारले आफ्ना नागरिकहरुलाई समय सीमा तोकी उक्त प्रतिबन्धित नोट साटी दिएको भएता पनि नेपालीहरुसंग रहेको भारतीय नोट साट्ने कुरामा भारतले ठोस निर्णय दिन सकेको देखिदैन । भारत सरकारले कालोधनलाई दुरुत्साहित वा नियन्त्रण गर्न यस्तो कदम चालेको बुझिएता पनि खुला सिमाना र नेपालीलाई २५ हजार रुपैंया बराबर भारु  बोक्ने छुट भइरहेको अवस्थामा तत्काल प्रतिबन्ध लगाउनु अघि नेपालीहरुसंग रहेको उक्त दरको भारतीय नोट साटिदिनु पर्ने देखिन्छ । उक्त दरको भारतीय नोट बाहक नेपालीले भारतीय पक्षसंगको व्यापार लेनदेन वा घरायसी लेनदेन वा भारतमा काम गरि कमाएको पैसा हुँ सक्ने वा नेपाली बैंकसंग सटही गरि भारत भ्रमण गई फर्केर बचत भएको रकम हुन सक्तछन् । तसर्थ ती नोटहरू सटही गरिदिनु भारतीय रिजर्भ बैंक र नेपाल राष्ट्र बैंक दुबैको दायित्व हो तर नेपाल राष्ट्र बैंक पहल गर्दैछु भन्ने र भारतीय रिजर्भ बैंक अध्ययन गर्दैछु भन्दै १० महिना वितिसक्दा पनि उक्त नोटहरू सटही हुन सकेका छैनन् ।
सटही गरिदिने कार्य जति ढिला भयो यो कार्य त्यति नै जटिल हुँदै जाने र यो विषय उच्च कुटनैतिक पहलबाट मात्र संभव हुने देखिएकाले यसलाई जतिसक्दो छिटो सल्टाउनु जरुरी छ नत्र नेपाली जनताहरु ठूलो मारमा पर्ने निश्चित छ ।
 
No comments