Add

Add

अमेरिकामा नेपाली जनजीवन

                                                                          सुदर्शन अधिकारी




संयुक्त राज्य अमेरिका जाने सपना अधिकांश नेपालीहरुको हुने गरेको पाइन्छ । अमेरिका जान चाहने मध्येहरुमा पनि अधिकांश अमेरिकामा नै बसोबास गर्ने आकांक्षा लिने गरेको पाइन्छ । आफ्ना आकांक्षा पुरा गर्न विधार्थीहरु अध्ययनको बहानामा अमेरिका पुगे र ठूलो संख्यामा डाइभरसिफाई भिसा चिट्ठा प्रथाबाट अमेरिका तर्फ सपरिवार लम्के । म भने अमेरिका हेर्न र बुझ्न २ पटक ३/३ हप्ताको भ्रमणमा गएको थिएँ । पहिलो पटकको भ्रमणमा पश्चिम अमेरिकाको हवाई,क्यालिफोर्निया, लसएन्जलस, सनफ्रान्सिस्को आदि राज्यहरुको भ्रमण गर्ने अवसर पाएँ । यो भ्रमणमा शुद्ध पर्यटकको रुपमा ट्राभल एजेन्टको प्याकेज टुरमा रहेको कारण अमेरिकी सहरहरुको भ्रमण अवलोकन त भयो तर कुनै नेपालीलाई भेट्ने अवसर पाइएन । हालै गरेको भ्रमणमा भने मध्ये पूर्वी अमेरिकी सहरहरु सिकागो,पेन्सीलाभेनिया,भर्जिनिया,डिसी,मेरिलैंड र न्यूयोर्क सहरहरुमा केन्द्रित रह्यो र यसपटक अमेरिकामा रहेका नेपाली नातेदार र साथीहरुसंग अन्तरक्रिया गर्ने अवसर मिल्यो ।
खासमा नेपालीहरु किन अमेरिका जान चाहन्छन् ? मैले बुझेको कारणहरु :- रोजगारी विनिमयदरको सन्तुष्टि, स्वच्छ वातावरण,शान्ति,सुरक्षा र नियम / कानुनको कडा पालना र अन्य अवसरहरु । रोजगारीको कुरा गर्दा अमेरिकामा बस्ने एक साथीले हँसायो नै । उसको भनाई अनुसार "अंग्रेजीको तीनवटा डब्लुहरु( वेदर,वाइफ र वर्क )"को ठेगान हुँदैन, परिवर्तन भईरहन्छ रे ।"
विनिमयदरको कुरा गर्दा त्यहाँ १००० डलर कमाउँदा नेपाली एक लाख कमाएँ भन्ने आत्मसंतुष्टि हुँदो रहेछ । अमेरिकामा धूलो र धुवाँ ज्यादै न्यून रहेकाले स्वच्छ वातावरण छ । शान्ति सुरक्षा र नियम/कानुनको कडा पालना छ तर अपराध छैन भन्ने होइन । सामान्यतया त्यहाँ कसैलाई कसैको मतलव हुँदैन त्यसैले तपाईं रातभरी हिडडुल गर्न सक्नु हुन्छ तर ढुक्कसंग होइन । अमेरिकी केहि राज्यहरुमा आप्रवासीहरुबाट यदाकदा लुटपाट र अपराधिक घटनाहरु भईरहेको पाइन्छ । तर खबर गर्नासाथ घटनास्थलमा पुलिस,एम्बुलेन्स,दमकल तुरुन्त पुग्दछ र अपराधी प्रहरीको नियन्त्रणबाट उम्किन सक्तैन ।
यसकासाथै अन्य अवसरहरु जस्तै :- विभिन्न व्यापार व्यवसायमा लगानी गर्नु भयो भने तपाईंको आर्थिक अवस्था छिटो सुधार हुने प्रवल सम्भावना पनि रहेको पाइन्छ । अमेरिकामा बसोवास गरिरहेका सामान्य नेपालीहरुका लागि घरभाडा महँगो र खाना सस्तो रहेको बुझियो । त्यसैले कम आय भएका नेपालीहरुले एउटै फ्लायटमा २/३ जनाले शेयर गरेर बस्ने परिपाटी रहेको पाइयो । त्यहाँका घरहरु अनेक सुविधायुक्त रहेका छन् । तर दुर्भाग्यवश आगो लागेमा दमकल आउनु अघि नै सबै जलेर नष्ट भईसक्ने देखियो । एकप्रकारको कागजको घर प्रतित हुन्छ ।
मैले एकदुई जना नेपालीहरुलाई सोधेको थिएँ – नेपालमा पनि थुप्रै अवसरहरु छन्, किन अमेरिका आउनु भयो? जवाफ पाएँ – छोराछोरीहरुको भविष्यको लागि । तर मलाई नेपाली छोराछोरीको भविष्य झन् जोखिमपूर्ण छ कि भन्ने डर लाग्यो । हो उसको जोब्रोमा अंग्रेजी भाषा टासिएला तर स्कूल/कलेजमा विविध कल्चरका सहपाठीहरूबाट नराम्रो संगतमा पर्ने जोखिम उच्च देखिन्छ ।
अमेरिकी बैंकहरुले सबैको हातमा एउटा क्रेडिट कार्ड थमाई दिएको हुन्छ । क्रेडिट कार्ड भएपछी तपाईंको खल्तीमा नगद डलर नभए पनि तपाईंको जनजीवन सजिलै चलिरहेको हुन्छ । कुनै वस्तु वा सेवा खरिद गरेर मेशिनमा क्रेडिट कार्ड छिराई दिनुस विक्रेताले भुक्तानी लिन्छ । हो यहि क्रेडिट कार्डको पैसा भर्न र घरभाडा तिर्न अधिकांश नेपालीहरु विहान देखि बेलुकीसम्म अमेरिकामा पसिना चुहाई रहेका हुन्छन् । कमाई अनुसार बढ्दो दरमा कर तिर्नु पर्ने समस्या त छदैछ ।
बच्चा हुर्काएर अमेरिका जानु भएको छ भने तपाईंको अमेरिका बसाई केहि सहज होला तर त्यहाँ गएर बच्चा जन्माउनु भयो भने बाबु वा आमाले बच्चा १३ वर्षको नहुन्जेल एक्लो छाड्न नमिल्ने कडा कानुन रहेको छ । नेपाली बुढाबुढीहरु नाती/नातिना स्याहार्न ठूलो संख्यामा अमेरिका जाने गरेको कारण यहि नै बुझिन्छ ।
अमेरिका ठूलो क्षेत्रफल भएको देश हो र त्यहाँ अझै उपयोग नभएका थुप्रै प्राकृतिक स्रोतहरु छन् जसको उपयोग गरेरै अमेरिका सबैभन्दा धनी देश भएको हो र भरसक सोझासाझा विदेशी श्रमलाई डाइभारसिफाई भिसा दिएर विकास गर्न चाहन्छ तर नेपालीहरु किन अमेरिका पुग्छन् यसको सन्तोषप्रद जवाफ मेरो भ्रमणको क्रममा अनुत्तरित नै रह्यो । मेरो भ्रमणलाई सहज बनाउन सहयोग गर्नु हुने अनमोल अधिकारी,सुमन थापा र पवन झालाई विशेष धन्यवाद दिन चाहान्छु ।


No comments

Powered by Blogger.