उपेक्षित कृषि क्षेत्र
अधिकांश
नेपालीहरुको जीवन यापनको आधार अझै पनि  कृषि
क्षेत्र नै हो । देशको वार्षिक ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रले नै प्रमुख
भूमिका निर्वाह गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७३/७४ को आर्थिक वृद्धिदर उच्च
रहनुमा कृषिको महत्वपूर्ण योगदान रहेको थियो । गत वर्ष राम्रो मनसुन वर्षाका कारण
खाधान्न उत्पादन मध्ये धानवालीको उत्पादन निकै राम्रो भएकोले पनि कूल ग्राहस्थ
उत्पादन वृद्धिमा सघाउ पुगेको थियो । तर चालु आर्थिक वर्षमा मनसुनी वर्षा पर्याप्त
हुन नसकेका कारण खासगरी तराईका खेतहरुमा राम्रोसंग धान रोपाईं अझै हुन सकिरहेको
छैन । 
हाम्रो
खेती प्रणाली अझै सम्म पनि मनसुनमा निर्भर रहेको छ भने सरकारले सिचाई सुविधा
उपयुक्त रुपमा बढाउन सकिरहेको छैन । कागज र योजनामा यति सिचाई भयो, यति जग्गामा
सिचाई विस्तार गर्ने योजना भएता पनि तयार भएका सिचाई आयोजनाहरुमा पानी नहुने र
विस्तार गर्ने सिचाई योजनाको पनि कार्यान्वयन तह कमजोर हुने गरेकाले पनि कृषकले
सरकारी सिचाई सुविधाहरुको उपभोग गर्न सकिरहेका छैनन् । विकासे बिउ र रासायनिक मलको
बेलैमा व्यवस्था वा उपलब्धता भएतापनि पानीको अभावमा कृषि क्षेत्रको उत्पादन बढ्न
नसक्ने निश्चित छ । 
नेपाली
ग्रामीण जनजीवनमा जीवनको मूल आधार नै कृषि भएकाले कृषि क्षेत्र र कृषि उत्पादन
बढाउने सरकारी रणनीति कागजमा मात्र सिमित नरहेर अभ्यासमा पनि केन्द्रित हुनु पर्ने
देखिन्छ । साथै अहिले ठूलो संख्यामा कृषि क्षेत्रको श्रम विदेशिएका कारण बुढाबुढी
तथा महिलाहरुमा मात्र कृषि उत्पादन निर्भर रहनु पर्दा कृषि उत्पादन बढाउन सकिरहेको
छैन । मानिसलाई दिनको तीन पटक खानु पर्ने हुन्छ र यो खानेकुरा कृषि क्षेत्रबाटै
उत्पादन हुने हुँदा कृषि क्षेत्रको उत्पादनमा देशको आन्तरिक खपत र विदेश निर्यातको
ठूलो सम्भावना भएका कारण कृषि क्षेत्रको विकासबाटै नेपाली अर्थतन्त्रको विस्तार
हुने हुँदा सरकारले कृषि क्षेत्रको उपेक्षा नगरोस् । 
 
 
 
 
 
 
 

No comments