आन्तरिक बचत १० प्रतिशत
केन्द्रीय तथ्यांक विभागले गत मंगलबार सार्वजनिक
गरेको विवरणअनुसार नेपालीहरूले प्रत्येक एक सय रुपैयाँ आम्दानीमा १० रुपैयाँ २५
पैसा मात्रै बचत गर्ने गरेको पाइएको छ । आम्दानीको अधिकांश हिस्सा बस्तु तथा सेवा
उपभोगमा खर्च हुने गरेको जनाएको छ । विवरणअनुसार
चालू आर्थिक वर्षमा नेपालीहरूले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ८९.७५ प्रतिशत
हिस्सा उपभोगमा खर्च गरेर १०.२५ प्रतिशत मात्रै बचत गर्ने गरेको देखिएको छ ।
नाकाबन्दीको अन्त्यपछि बजार मूल्य नियन्त्रण भएको, पुनर्निर्माणले आंशीक गति लिन थालेसँगै बढी तलबभत्ताका
रोजगारी सिर्जना भएको जस्ता कारणले बचत बढेको साथै स्टक मार्केट बढेपछि ब्याजदरमा
समेत सुधार आएको र यसले रेमिट्यान्स घटे पनि बचत बढेको जानकारहरु बताउँछन् । 
निजी उपभोगमध्ये सबैभन्दा धेरै खाद्यान्नमा भएको छ
। चालू वर्ष खाद्यान्नमा मात्रै १२ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँ खर्च हुने
प्रक्षेपण विभागको छ । कुल उपभोगमा भएको खर्चमध्ये खाद्यान्नमा मात्रै भएको खर्चको
हिस्सा ५५.१६ प्रतिशत छ । यस्तै, गैरखाद्यतर्फ ४ खर्ब ९८ अर्ब ४४ करोड अर्थात्
२१.३५ प्रतिशत र सेवाका लागि १ खर्ब ९५ अर्ब ९३ करोड रुपैयाँ अर्थात् ८.३९ प्रतिशत
खर्चे गर्ने प्रक्षेपण छ ।
गत वर्ष आन्तरिक उत्पादन घट्दा त्यसले समग्र
घरपरिवारको आम्दानी पनि प्रभावित भएको थियो । तर, चालू वर्ष भने आन्तरिक उत्पादनमा सुधार देखिएको छ र चालू वर्ष दुई दशककै
उच्च ६.९४ प्रतिशत आर्थिक बृद्धि प्राप्त हुने प्रक्षेपण विभागको छ । 
चालू वर्ष आन्तरिक उत्पादनमा वृद्धि भएको र
आपूर्ति प्रणाली पनि सहज भएकाले बचतको मात्रा केही बढेको हो । गत वर्षको वार्षिक
औसत मुद्रास्फिति ९.९ प्रतिशत रहेकोमा चालू वर्षको फागुनमा २.९ प्रतिशत छ । जुन
यसअघिको वर्षमा १०.२ प्रतिशत मूल्य बृद्धि थियो ।   
 
 

 
 
 
 
 

No comments