Add

Add

कृषि सहकारीको पुँजी कमजोर

व्यावसायिक कृषिमा काम गर्ने उद्देश्यका साथ खुलेका कृषि सहकारीमा सेयर पुँजीको आधार कमजोर देखिएको छ । 
सहकारी विभागको तथ्यांकअनुसार एउटा कृषि सहकारीसँग औसतमा साढे ४ लाख मात्र पुँजी रहेको छ । देशभर ९ हजार ९ सय ६५ कृषि सहकारी दर्ता भएकोमा ४ अर्ब ६८ करोड २७ लाख मात्र पुँजी रहेको छ । देशभरका ३३ हजार ५ सय ९९ सहकारी संस्थामा कुल ७१ अर्ब ३५ करोड ७८ लाख पुँजी रहेकोमा अधिकांश बचत तथा ऋण सहकारीमा रहेको छ । सहकारीमा जम्मा भएको कुल पुँजीको ७५ प्रतिशत अर्थात् ५३ अर्ब ६० करोड पुँजी बचत तथा ऋण सहकारीमा रहेको विभागले जनाएको छ । 
कृषिमा काम गर्ने सहकारी संस्थाकै पुँजी कम भएपछि उनीहरूको उल्लेख्य काम पनि देखिएको छैन । सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सहकारीमा पुँजी लगानी गर्न सर्वसाधारण आकर्षित नहुने र किसानहरूसँग पुँजी पनि नहुने भएकाले कृषि सहकारीमा पुँजी कम भएको हो। बैंक वित्तीय संस्थाको जस्तो सहकारीको सेयर मूल्य नबढ्ने, जति रकम हाले पनि अधिकार बराबर हुने जस्ता कारणले कारोबारको तुलनामा सेयर रकम कमजोर देखिएको हो साथै कृषि सहकारीमा ग्रामीण क्षेत्रका कृषकहरू आबद्ध हुने र उनीहरूले धेरै पुँजी लगानी गर्न नसक्ने काण पनि पुँजी कम देखिएको हो भने नयाँ प्रस्तावित विधेयकमा सेयर लाभांशको व्यवस्था नै नभएकोकाले पनि यस्तो समस्या देखा परेको मन्त्रालयको दावी रहेको छ । 
सरकारले पछिल्लो समयमा बचत तथा ऋणलाई कडाइ गर्दै कृषिलाई प्राथमिकता दिँदै आएको छ । सरकारले कृषि सहकारी दर्ता, सञ्चालनमा सजिलो व्यवस्था गरेको छ भने कृषि सहकारीलाई कृषिजन्य उद्योग सञ्चालन गर्न नगद अनुदान पनि दिँदै आएको छ । 


No comments

Powered by Blogger.