Add

Add

राप्तीरोड़ रोइरहेछ !!

हेटौंडाको एकमात्र सरकारी अस्पतालको सेवालाई सघाउन दुई दर्जन भन्दा बढी औषधि पसलहरु राप्तीरोडमा नै रहेका छन् । शनिबारको दिन काठमाण्डु,चितवन र बीरगंजबाट आउने अधिकांश विशेषज्ञ चिकित्सकहरुको सेवा राप्तीरोड स्थित मेडिकलहरुबाटै हुने गरेको छ । क्षेत्रफलमा त्यति ठूलो नभएता पनि राप्तीरोडमा रहेका पसलहरुले दैनिक जनजीवनमा आवश्यक पर्ने वस्तु तथा सेवाहरुको आपूर्ति गरिरहेकाछन् । तरकारी,फलफूल,मलखाद,बिउ विजनका पसलहरु राप्तीरोडमा नै पाइन्छन् । कुटानी पिसानी मिल र तोरीको तेल मिल राप्तीरोडमा रहेकाछन् । कपाल काट्ने,जुत्ता मर्मत र पालिस गर्ने,चिट्ठी र डकुमेन्ट पार्सल गर्ने सेवा पनि राप्तीरोडमा नै रहेको छ । भान्सामा चाहिने विभिन्न खाले मसला देखि जुत्ता पसल र तयारी लुगाको फेन्सी पसलहरु राप्ती रोड़ मै यत्रतत्र पाइन्छन् । कस्मेटिक श्रींगार पसल र सूनचाँदीको गहना पसल, कपडा पसल पनि राप्ती रोड़का पुराना पहिचान नै हुन् ।
यी सबै दैनिक जनजीवनलाई आवश्यक पर्ने सेवा र वस्तुहरु एकै थलोबाट जनताले उपभोग गर्दै आइरहेका थिए । तर विडम्बना झन्डै चार दशक अघिबाट आफ्नो पहिचान बनाईसकेको राप्ती रोड़लाई पंचायती सरकारले राजमार्ग घोषणा गरिदियो र जनताको घरजग्गालाई सडकको भनिदियो । त्यसबेला देखि आजसम्म राप्ती रोड़ वासीहरु र सडक विभाग बीच तेरो र मेरो भन्ने जुहारी चल्दै आएको छ ।
सडक विभागले पनि चालिस वर्ष सम्म सडकको दायाँबायाँको पच्चीस मिटर जग्गालाई आफ्नो बनाउन सकेन र जनताले पनि आफ्नो जग्गामा आफूले चाहेको जस्तो घर,पसल,कम्प्लेक्स निर्माण गर्न सकेनन् । यसभित्र अनेक कथा र घटनाहरु रहेकाछन् ।
केहि महिना अघि सडक कार्यालयले पहिले सरकारी कार्यालय र पछी व्यक्तिको निजि घरहरुमा डोजर चलाउन थालेपछि सबैभन्दा पहिले औषधि पसलहरु प्रभावित भए । त्यसपछि अन्य पसलहरु पनि रातारात सटर,झ्यालढोका जोगाउँदै विस्थापित हुन थाले । सबैको रुवावासी भयो । तर अहिले सहर भत्काउने काम रोकिएको छ । यसका लागि सर्वोच्च अदालतमा परेको मुद्धा र स्थानीय तहको चुनावलाई कारण बनाईएको छ ।
विस्थापित भएका औषधि पसल बाहेक अन्य अधिकांश विस्थापित भएका पसलहरु पुन: यथास्थानमा नै फर्केर अर्को पल्ट डोजर नचले सम्मको लागि आफ्नो रोजीरोटी व्यापार व्यवसाय चलाउन थालेका छन् ।

के विकास गर्न एतिहासिक वस्ती र बजार भत्काउनै पर्छ ?यो नभत्काई विकासका अन्य संभावना नै छैन ? चार दशक अघिको कार्यान्वयन हुन नसकेका निर्णयहरुबाट पछी हट्न मिल्दैन ? यी आदि इत्यादि प्रश्नहरुको उत्तर खोजिन थालिएको छ । 

No comments

Powered by Blogger.