नेपाली अर्थतन्त्रमा लचकता
नेपाली अर्थतन्त्रको लचकताका कारण नेपाल छिट्टै
पुनर्बहालीको अवस्थामा आइपुगेको साथै यसबीचमा मौसम पनि अनुकूल रहिदिएकाले कृषिक्षेत्रको
उत्पादन दरलाई माथि उठाएको केन्द्रीय तथ्यांक विभागको विवरणले देखाएको छ । 
चालू आर्थिक वर्षमा करिब ७ प्रतिशतको आर्थिक
वृद्धिदर हासिल हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणले आमनेपालीमा आशाको
सञ्चार गराएको छ । गत वर्ष नेपालको अर्थतन्त्र लगभग अडस्फीतिकै चरणमा पुगेको
विभागकै तथ्यांकले देखाएको छ ।
सरकारी तहबाट हुने खर्च अवस्था कमजोर भए पनि निजी
निर्माणले गति लिँदै गएको देखिएको छ । सँगसँगै नियमित विद्युत् आपूर्तिले गर्दा
औद्योगिक क्षेत्रको उत्पादन दर पनि निकै माथि चढ्यो भने बन्द, हड्ताल नहुँदा त्यसले आर्थिक वृद्धिदरमा निकै
सकारात्मक योगदान पु¥याएको छ । नेपालको आर्थिक वृद्धिदर आउँदा केही वर्षभित्र औसतमा ७ प्रतिशतका
हाराहारीमा कायम रहन सक्ने अहिलेका केही संकेतले देखाएका छन्, तर यस्तो वृद्धि एक आर्थिक वर्षमा कागतालीका
हिसाबले प्राप्त भएको नभई अर्थतन्त्रका वास्तविक मूल्य अभिवृद्धि सिर्जना भएको
अवस्थामा रहनु अपरिहार्य हुन जान्छ । त्यसका
लागि केही आधारभूत सर्त पूरा गर्नुपर्ने हुन्छ । पूर्वाधारमा लगानी व्यापक रूपमा दिनुपर्ने,
संघीयताको कार्यान्वयनसँगै सन्तुलित आर्थिक विकासका लागि आन्तरिक र बाह्य दुवै
लगानी प्रवाहित हुने वातावरण तयार पार्नु पर्ने, कृषिको रूपान्तरण गरिनु पर्ने
साथै औद्योगीकरणमा ध्यान दिनैपर्दछ । यी मध्ये कुनै एक पक्ष छाडेर देश दिगो र उच्च
आर्थिक वृद्धिका पथमा जानै सक्दैन ।
यसका लागि अहिले मुख्य चुनौती रुपमा देखिएको भनेकै
स्रोतको अभाव हो । यदि आर्थिक विकासको गतिलाई स्थायित्व प्रदान गर्ने हो भने
सरकारले विकासमा खर्च बढाउनु पर्ने जानकारहरु बताउँछन् । प्रत्येक तहमा विकास
आयोजनाहरूका अनुगमन र निरीक्षण गर्ने विशेष संयन्त्रहरू खडा गर्नुपर्छ, जसले मासिक, द्वैमासिक, चौमासिक रूपमा अनुगमन गरेर काममा आधारित प्रोत्साहन
र दण्डको व्यवस्था गर्नुपर्ने पनि जानकारहरुको भनाई रहेको छ । 
 
 
 
 
 
 
 

No comments