भारु साढे चार हजारकै दरले साटिने
प्रतिव्यक्ति ४ हजार ५ सयका दरले
भारतीय रुपैयाँ (भारु) साट्न राष्ट्र बैंकले मन्जुरी दिएको छ । साट्न सुविधाका
लागि मन्जुर भएको सन्देश राष्ट्र बैंकले भारतलाई पठाएको छ । सरकारको निर्देशन बमोजिम
राष्ट्र बैंकले गत बुधबार टेलिफोनमार्फत रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) लाई उक्त
सन्देश पठाएको हो । राष्ट्र बैंकले गत बुधबार मात्र टेलिफोन मार्फत जानकारी
गराएकाले भारतको जवाफ भने प्राप्त भइनसकेको बुझिएको छ । 
यसअघि पछिल्लोपटक प्रतिबन्धित भारु पाँच सय र हजार दरका
नोट सटहीको टुंगो लगाउन नेपाल आएको भारतीय टोलीले प्रतिव्यक्ति (प्रतिखाता) साढे
चार हजारसम्म साटिदिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव राष्ट्र बैंकले
अस्वीकार गरी सीमा बढाउन आग्रह गरेको थियो । दुई दिनसम्म चलेको बैठकमा पनि भारतीय
पक्षले सीमा बढाउन नमानेपछि नोट सटहीको टुंगो नलाग्दै भारतीय टोली फिर्ता भएको
थियो । फर्कंदा भारतीय टोलीले प्रतिव्यक्ति भारु साढे चार हजारभन्दा बढी साट्न
नसक्ने बताउँदै आफ्नो प्रस्ताव मान्य भए खबर गर्न आग्रह गरेको थियो । 
भारतको प्रस्ताव निकै कम भएकाले सटही गर्ने वा नगर्ने
सम्बन्धमा निर्णय दिन राष्ट्र बैंकले सरकारलाई पत्राचार गरेको थियो । सरकारले गत मंगलबार
मात्र राष्ट्र बैंकलाई पत्र पठाएर हाललाई प्रतिव्यक्ति साढे ४ हजार मात्र भए पनि
साट्न निर्देशन दिएकोले  हाललाई साढे ४ हजारकै
दरले साट्ने र थप भारु सटहीका लागि राष्ट्र बैंक र सरकार दुवै तहबाट पहल गर्ने
आशयको पत्र अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पठाएको छ । राष्ट्र बैंकले तयार
गरेको मोडालिटीअनुसार बैंकमार्फत भारु साट्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।
सोही निर्देशनका आधारमा राष्ट्र बैंकले प्रक्रिया अघि
बढाएको हो । तर, भारतले खबर गर्न दिएको समय गत शुक्रबार (चैत १८ गते)
सकिएको थियो । पैसा सटहीको विषयमा सरकारबाट ढिलो मात्र निर्णय आएकाले राष्ट्र
बैंकले निर्धारित समयमा भारतलाई खबर पठाउन सकेको थिएन । तोकिएको समयपछि खबर
पठाउँदा भारतले मान्ने/नमान्ने कुनै टुंगो नभएकाले अहिल्यै केही भन्न नसक्ने
राष्ट्र बैंक स्रोतले जनाएको छ । 
 
 
 
 
 
 
 

No comments