Add

Add

अनलाइन आवेदन लिन निर्देशन

नेपाल धितोपत्र बोर्डले आस्बा प्रणालीबाट सेयर आवेदन गर्दा लाग्ने शुल्कमा कटौती गरी प्रक्रिया सरलीकरण गरेको छ । सार्वजनिक निष्काशन सम्बन्धि निर्देशिका (आस्बा सम्बन्धि निर्देशिका) २०७३ लाई परिमार्जन गर्दै बोर्डले झनै सहज रुपमा सेयर आवेदन गर्न सकिने व्यवस्था गरेको हो । बोर्डले आफुले आस्बा आवेदन शुल्कको तीन प्रतिशत शुल्क लिने गरेकोमा त्यसलाई खारेज गरेको छ । त्यसै गरी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाले लगानीकर्ताबाट प्रति आवेदन दुई सय ५० रुपैंयासम्म शुल्क लिन पाउने व्यवस्था हटाएर एक सय रुपैंयासम्म मात्र लिन पाउने व्यवस्था गरेको छ । त्यसै गरी सेयर निष्काशन तथा बिक्री प्रबन्धकले प्रति आवेदन १० रुपैंया मात्र शुल्क पाउने व्यवस्था गरेको छ ।
बोर्डले यस अघि तीन वटा निष्काशनको अनुभवका आधारमा आस्बा प्रणालीमा परिमार्जन गरेको हो ।कूल आवेदनको ६० प्रतिशत भन्दा धेरै आवेदन आस्बाबाट पर्न थालेको अवस्थामा लगानीकर्ताहरुलाई राहत दिंदै प्रोत्साहित गर्न बोर्डले अग्रसरता देखाएको छ । 

बोर्डले सरकारी स्वामित्वका वाणिज्य बैंकलाई पनि आस्बा अनुमति दिने भएको छ । यसबाट ७५ जिल्लाका सबै स्थानका शाखाहरुबाट सर्वसाधारणले सेयर आवेदन गर्न सक्ने बोर्डको विश्वास छ । नयाँ व्यवस्थाबाट लगानीकर्ताले छिटो, छरितो रुपमा प्रभावकारी सेवा पाउने विश्वास बोर्डले लिएको छ । बोर्डले निर्देशिका परिमार्जन गर्दै लगानीकर्ताले वेभसाइटवाट सहज ढंगले सेयर दरखास्त फारम प्राप्त गर्न सक्ने व्यवस्थालाई अनिवार्य रुपमा लागू गर्न सम्बन्धित कम्पनीहरुलाई निर्देश गरेको छ ।
निष्काशन भएको धितोपत्र तोकिएको समयावधि भित्र विक्री भए नभएको यकिन गर्ने तथा दरखास्त सम्वन्धी अभिलेखलाई व्यवस्थित, छिटो छरितो र सहज गराउने व्यवस्था बोर्डले गरेको छ । साथै सम्वन्धित वैंक वा वित्तीय संस्थाले समेत दरखास्त साथ प्राप्त कागजात तथा विवरणको आवश्यक जाँचबुझ एवं हितग्राही खाता रुजु गर्न सक्ने व्यवस्था गरी वाँडफाँट समयावधि कम गर्ने निर्देशिकामा उल्लेख छ ।

अहिले प्रचलनमा ल्याइएको आस्बा फारमलाई परिमार्जन गर्दै बोर्डले सरलीकृत फारमको प्रयोग गर्ने व्यवस्था गरेको छ । आस्वा प्रणालीमा सहभागी केही वैंक तथा वित्तीय संस्थाहरुले अनलाइन आस्बाबाट दरखास्त लिने व्यवस्था सुरु गरिसकेको भन्दै अन्य संस्थालाई पनि सो व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ ।

No comments

Powered by Blogger.