Add

Add

आगामी आर्थिक वर्ष सबै स्थानीय तहमा बैंक

सबै स्थानीय निकायमा शाखा खोल्न अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नयाँ संघीय संरचनाको ढाँचाअनुसार बजेट तर्जुमा र स्रोतको बाँडफाँट विषयमा छलफल गर्न मंगलबार बसेको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले हरेक स्थानीय निकायमा शाखा खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका हुन् । यसका लागि आवश्यक व्यवस्था मिलाउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई पनि निर्देशन दिएको जारी विज्ञप्तिमा उल्लेख छ । आगामी आर्थिक वर्षभित्र ७ सयस ४४ वटै स्थानीय निकायमा बैंक शाखा खोल्न निर्देशन दिइएको छ, यसका लागि आवश्यक व्यवस्था गर्न अर्थ मन्त्रालयको वित्त व्यवस्थापन महाशाखालाई आग्रह गरिसकेको छ । 
चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले वृद्ध भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था ल्याएको छ । तर, हाल सबै स्थानमा बैंक खाता नपुगेकाले स्थानीयले समयमा भुक्तानी पाउन सकेका छैनन् । यो समस्यालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थालाई सबै स्थानीय निकायमा शाखा विस्तार गर्न निर्देशन दिएको हो । अधिकांश बैंक तथा वित्तीय संस्था सहर केन्द्रीत भएको गुनासोका आधारमा राष्ट्र बैंकले म्यापिङको काम सुरु गरेको छ । यसका आधारमा वित्तीय संस्थाहरूको संख्या बढी भएको स्थानमा शाखा खोल्न निरुत्साहित गरी कम भएको स्थानमा प्रोत्साहन गर्ने राष्ट्र बैंकको योजना छ । यही समयमा अर्थ मन्त्रालयको यस्तो निर्देशन आएको हो । 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुससम्म मुलुकभर बैंक तथा वित्तीय संस्थाका २ हजार ९ सय ७९ वटा शाखा सञ्चालनमा छन् । 


No comments

Powered by Blogger.