नेपालको मुख्य विकास
साझेदार एसियाली विकास बैंक (एडीबी) ले यो वर्ष नेपालको आर्थिक वृद्धि दर ६
प्रतिशत नाघ्ने प्रक्षेपण गरेको छ ।यसअघि बैंकले साढे ५ प्रतिशत आर्थिक वृद्धि दर
हुने प्रक्षेपणलाई संशोधन गरी ६.२ प्रतिशतसम्म हुने अनुमान गत मंगलबार सार्वजनिक
गरेको हो । एडीबीको प्रक्षेपण सरकारले लिएको लक्ष्य नजिक देखिएको छ । सरकारले साढे
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यका साथ चालु आर्थिक वर्षका लागि १० खर्ब ४९ अर्ब
रुपैयाँको विस्तारकारी बजेट ल्याएको छ ।
एडीबीले नेपालको
वृहत् आर्थिक परिदृष्य सार्वजनिक गरी न्यूनतम ५.२ देखि ६.२ प्रतिशतसम्म वृद्धि
हुने अनुमान गरेको छ । यो लक्ष्य हासिल गर्न एडीबीले राजनीतिक स्थायित्व, स्थानीय तह चुनाव र
औद्योगिक वातावरणमा सुनिश्चितता हुनुपर्ने बताएको छ । 
कृषि उत्पादनमा अधिक
वृद्धि, भूकम्पपछिको
पुनर्निर्माणले गति लिएको र लगानीको वातावरणमा देखिएको सुधारले विप्रेषण आम्दानीमा
कमी आएर सेवा क्षेत्र खुम्चिएको भए पनि नेपालले यो वर्ष ६.२ प्रतिशतसम्म आर्थिक
वृद्धि हासिल गर्ने बताएको छ । 
औसतभन्दा बढी वर्षा
र रासायनिक मलको उपलब्धताले यो वर्ष कृषि उत्पादन उल्लेख्य वृद्धि हुने सम्भावना
रहेको साथै अनुकूल मौसम, वस्तु आपूर्ति
र व्यापारमा सामान्यीकरण, पुनर्निर्माण, लोडसेडिङ कमी र
स्थानीय निकाय चुनावमा हुने खर्चले आर्थिक वृद्धिलाई सहयोग गर्ने बताएको छ। 
विद्युत् आपूर्तिमा
आएको सुधारले मन्द गतिमा रहेको औद्योगिक उत्पादन बढाउने अनुमान एडीबीको छ ।
विप्रेषण आप्रवाहमा कमी र भारतमा ठूला नोटलाई गरिएको अमौद्रीकरणको सीमान्त असरले
सेवा क्षेत्रलाई खुम्च्याउन सक्ने अनुमान गरिएको छ ।
नेपालमा
मूल्यवृद्धिमा भारी गिरावट आउनुमा सहज आपूर्ति र भारतमा घट्दै गएको मूल्य वृद्धिको
असर नेपालमा परेको एडीबीको ठम्याइ छ । सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि
साढे ७ प्रतिशत हुने प्रक्षेपण गरेकोमा एडीबीले बढीमा साढे ६ प्रतिशतमात्र हुने
अनुमान गरेको छ । 
यस्तै, नेपालले वैदेशिक
लगानी ल्याउन नसकेको एडीबीले जनाएको छ । नेपालले हालसम्म कुल गार्हस्थ्य उत्पादन
(जीडीपी) को १ प्रतिशतमात्र वैदेशिक लगानी ल्याएको छ । वैदेशिक लगानीको विषयमा
अन्य मुलुकको तुलनामा नेपाल पछि रहेको एडीबीले देखाएको छ ।
चालु आवमा उच्च
आर्थिक वृद्धि हासिल गर्न वैदेशिक लगानीले सहयोग नगर्ने भएको छ । वैदेशिक लगानी
भित्र्याउन भिसा दिन र आम्दानी फिर्ता लैजाने प्रक्रियालाई सुधार हुनुपर्ने
एडीबीले औंल्याएको छ ।  
Subscribe to:
Post Comments
                      (
                      Atom
                      )
                    
 
 
 
 
 
 
 

No comments