वैदेशिक रोजगार बचतपत्रमा लगानीको अवसर
नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुलाई लक्षित
गरी २५ करोड रुपैयाँको पाँच बर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने
भएको छ । राष्ट्र बैंकले आगामी वैशाख ३ गतेदेखि वैदेशिक रोजगारीमा संलग्न नेपाली
नागरिक तथा गैर–आवासीय नेपालीहरुका लागि उक्त बचतपत्र निष्काशन गर्न
लागेको हो । वैदेशिक रोजगार बचतपत्र खरिद गर्ने लगानीकर्तालाई राष्ट्र बैंकले
प्रत्येक ६/६ महिनामा व्याज भुक्तान गर्ने बताएको छ । बचतपत्रको अवधि पाँच बर्षको
रहेको छ ।
बचतपत्र खरिदका लागि वैशाख ३ गतेदेखि २४ गतेसम्म आवेदन खुला गरिने राष्ट्र बैंकले
जनाएको छ । बचतपत्रको निष्काशन भने वैशाख २९ गते हुनेछ ।
उक्त बचतपत्र खरिदकर्ताले आफैँले वा इच्छाइएको व्यक्ति
मार्फत ब्याज भुक्तानी लिन सक्नेछन । आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक
खातामा जम्मा हुनेगरी ब्याज भुक्तानी लिनको निमित्त आफ्नो वा इच्छाइएको व्यक्तिको
खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ । आफूलाई
पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय
संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमार्फत सो
व्याज भुक्तानी लिन सकिनेछ ।
यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक
बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा
आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।
घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले भाग गर्दा
निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिनेछ । यो
बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिने छ
।
आवेदन फारम बिक्री एजेण्ट मार्फत निःशुल्क रुपमा प्राप्त
गर्न सकिन्छ  वा राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गरेर पनि आवेदन गर्न
सकिनेछ  ।
 
 
 
 
 
 
 

No comments