नगद कारोबारको सीमा तोकियो
सरकारले १० लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने
व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ । गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी
साउन १ गतेबाट लागू हुनेगरी नगद कारोबारको सीमा निर्धारण गरिएको हो । यो व्यवस्था लागू भएपछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाख
रुपैयाँ वा सोभन्दा बढीको कारोबार नगदमा गर्न पाउने छैनन् ।  
कुनै सेवा वा वस्तु खरिदबिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा
बैंकिङ उपकरणमार्फत गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गरिएको राजपत्रमा
प्रकाशित सूचनामा उल्लेख छ ।
वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्न, वित्तीय संस्थाबाट लिइएको कर्जा, त्यसको साँवा तथा
ब्याजको भुक्तानी गर्न, वित्तीय
संस्थाहरूबीच नगद कारोबार गर्न नपाइने उल्लेख छ ।
यस्तै, कुनै निक्षेपकर्ताले खास कारण देखाइ नगद
भुक्तानीका लागि दिइएको निवेदनको व्यहोरा र कारण मनासिव देखिएमा त्यस्तो
निक्षेपकर्ता वा बचतकर्ताको खाता रहेको संस्थाबाट निक्षेपकर्ता वा बचतकर्तालाई नगद
भुक्तानी दिन उक्त सीमा निर्धारण गरिएको राजपत्रमा उल्लेख छ । 
अर्थ मन्त्रालयले गत फागुनमा अनौपचारिक लेनदेनले अर्थतन्त्रमा नकारात्मक
असर पुगेको निष्कर्ष निकाल्दै १० लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने
प्रावधानसहितको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको थियो ।  
उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि राजपत्रमा सूचना
प्रकाशित गरेको हो  । यसअघि राष्ट्र बैंकले ५० लाखको सीमालाई ३० लाख रुपैयाँमा सीमित गरेको थियो
। राष्ट्र बैंकको परामर्शमा सम्पत्ति शुद्धीकरण निवारणको प्रयोजनका लागि नगद
कारोबार सीमा घटाइएको अर्थको भनाइ छ । अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न
बनेको यो बाध्यकारी कानुन आगामी साउनदेखि लागू हुने जनाइएको छ ।
 
 
 
 
 
 
 

No comments