Add

Add

वैदेशिक रोजगाररत युवाका परिवार बिरामी भए आर्थिक सहयोग

वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको खण्डमा उनीहरुलाई सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । 
क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा ५० हजार रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।  पहिलो चरणमा पाँच रोगका लागि मात्रै यस्तो सुविधा तय गरिए पनि पछि यसलाई विस्तार गर्दै जाने जानकारी गराएको छ। 
क्यान्सर, मृगौला, मुटुलगायतका रोग लाग्दा राज्यले दिने भनि यसअघिनै घोषणा गरेका सुविधा लिएकाहरुले समेत छुट्टै यो रकम सहयोग स्वरुप पाउनेछन् । बोर्डबाट सुविधा लिएकै कारणले त्यस्ता बिरामीले राज्यबाट पाउने अन्य सुविधाबाट वञ्चित हुनुपर्नेछैन । 
कामदार आफैले पालनपोषण गर्नुपर्ने पतिपत्नी, छोराछोरी, आमाबुबा र महिला कामदारको हकमा निजको सासू, ससुराले समेत यस्तो सुविधा पाउनेछन् । 
कामदारलाई राज्यकातर्फबाट प्रदान गर्ने सेवा, सुविधामा बढोत्तरी गर्दै लैजाने नीति बमोजिम यो सुविधा प्रदान गर्न लागिएको साथै रोगको अवस्थाका आधारमा सामान्य, मध्यम र गम्भीर गरी तीन तहमा विभाजन गरिएको बोर्डले बताएको छ। 
शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा १५ हजार रुपैयाँ, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार रपैयाँ र शल्यक्रिया गरी नियमित औषधि सेवन गर्नुपर्ने अवस्थामा ५० हजार रुपैयाँ उपलब्ध गराइने मापदण्डमा उल्लेख छ । यस मापदण्ड बमोजिम उपचार खर्च पाउन बोर्डको सचिवालयमा सम्बन्धी व्यक्तिले निवेदन दर्ता गराउनुपर्नेछ । 

निवेदन दिँदा कामदारको श्रम स्वीकृतिको निस्साको प्रतिलिपि, कामदारको राहदानीको प्रतिलिपि, बिरामी व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कामदार र बिरामीबीचको नाता प्रमाणित प्रतिलिपि, बिरामीलाई आर्थिक समस्या परेको प्रमाणित प्रतिलिपि, बिरामीको रोग स्पष्ट रुपमा खुल्नेगरी सरकारी अस्पताल वा मान्यताप्राप्त चिकित्सकको प्रेस्किप्सनवा सिफारिसपत्र पेस गर्नुपर्नेछ । कामदारको करार अवधि सकिएको अवस्थामा भने निजको परिवारले उपचार खर्च पाउनेछैन । 

No comments

Powered by Blogger.