वित्तीय शिक्षा अब गाउँ गाउँमा
देशमा भएको राजनैतिक परिवर्तन पछी आर्थिक विकासको काम द्रुत गतिमा बढ्ला भनी आश गरेर बसेका जनता निराश भएका छन् । जनताबाट उठाएको कर सरकारले खर्च गर्न नसकेर सरकारी ढुकुटी मै त्यसै थन्केर बसेको छ । राष्ट्रिय प्राथमिकता पाएका झण्डै २१ वटा आयोजनाहरुमा खासै काम हुन सकेको छैन । सरकारले विकास बजेट खर्च गर्न नसक्नु र निजि क्षेत्र संविधान पर्खेर अर्थतन्त्रमा थप लगानी गर्न नचाहेको स्थितिले देशमा चरम बेरोजगारीको स्थिति सृजना भएको छ ।
देशमा रोजगारीको अभावमा दैनिक सरदर १५०० युवाहरु बैदेशिक रोजगारीको लागी खाडी मुलुकहरुमा जादैछन् । यसरी ३ करोड जनसंख्या भएको मुलुकबाट वर्षेनी ५ लाख ५० हजार भन्दा बढीको संख्यामा नेपाली विदेशीने क्रमले देशको आन्तरिक कृषि तथा औद्योगिक उत्पादन घट्ने क्रममा छ । आन्तरिक श्रम बजारमा उपलब्ध दैनिक रु ५०० को ज्यालालाई अस्वीकार गरी ४५–५० डिग्री को तापक्रम रहने अरब मुलुकमा दैनिक रु १२००।– देखि रु १५००।– को कमाई गर्न गएका नेपालीले पठाएको रेमिन्टासको झण्डै ९५ प्रतिशत रकम उपभोगमा मात्र खर्च भएको अनुमान छ । यसरी श्रम शक्तिको अभावमा एकातर्फ आन्तरिक उत्पादन घट्दै जाने र अर्कोतर्फ आयातीत वस्तुहरुमा अत्यधिक निर्भरता बढदै व्यापार घाटा झन झन फराकिलो हुदै जानुले नेपाली अर्थतन्त्र ज्यादै जोखिममा रहेको स्पष्ट देखिन थालेको छ । अतः आन्तरिक उत्पादन मै नेपाली श्रमलाई लगाउन र वित्तिय शिक्षालाई घर गाउँमा विस्तार गरी आफ्नो सीमित आयलाई उपभोग, बतच र उत्पादनको लागी लगानीमा लगाउनु पर्ने आवश्यकता प्रति उत्प्रेरणा जगाउनु आवश्यक देखिएकोछ ।
गाउँघरमा सुर्ति, गुट्खा, चुरोट, मदिरा आदी सेवनको क्रम बढदै गएको र मोबाइलको अनावश्यक र अनुत्पादक प्रयोगले गाउँले जनताको बचत गर्ने क्षमता न्यून हुँदै गएको अवस्था निकै चिन्ताजनक छ। सूचना प्रवाहको निकै सरल र भरपर्दो साधनको रुपमा मोबाइल हो तर यसको सदुपयोगको सट्टा दुरुपयोग बढी हुन थालेको र यसबाट खासगरी गरिब जनसमुदायले भविष्यको लागी बचत गर्ने क्षमतामा ह्रास आईरहेको स्थिति छ । यसर्थ, वित्तीय शिक्षालाई निरन्तर र नियमित रुपमा गाउँ गाउँमा पु–याई मुद्राको मूल्य, मुद्राको महत्व र मुद्राको उपयोग विषयमा वित्तीय शिक्षाको प्रवाह गर्नु आवश्यक रहेको देखिन्छ।

No comments