बिमाको सेयर हल्लैहल्लामा बढाइँदै
निरन्तर ओरालो लागेको सेयर बजार
यो साताको सुरुदेखि उच्च अंकले बढेको छ । आइतबार २५ अंकले वढेको नेपाल स्टक
एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार पनि ४२ अंकले बढेर १४२४.३८ अंकमा पुगेको छ । यो
साताका दुवै दिन गरेर नेप्से परिसूचक ६७ अंकले बढिसकेको छ ।
नेप्सेमा भएको दुवै दिनको
सुधारमा बिमा समूहको योगदान बढी छ । आइतबार २४ अंकले नेप्से वढ्दा बिमा समूहको
परिसूचक ३६७ अंकले वढेको थियो । सोमबार ४२ अंकले वढ्दा पनि ५६७ अंकले वढेको छ ।
सोमबार आधा दर्जन बिमा कम्पनीको सेयर मूल्य नै १० प्रतिशतले वढेको छ ।
बिमा कम्पनीको मूल्यमा उच्च
अंकको सुधार हुनका लागि सो क्षेत्रमा कुनै आकस्मिक सुधार भने भएको छैन । बिमा
कम्पनीको चुक्ता पुँजी वृद्धि हुने सूचनालाई लिएर बारम्बार सेयर बजारमा चलखेल भएको
देखिन्छ ।
बजारमा सीमित सेयर भएकाले पनि
ठुला लगानीकर्तालाई बिमा कम्पनीको सेयरमा चलखेल गर्न सहज हुन्छ । बैंकिङ क्षेत्रमा
बिमाको जस्तो चलखेल गर्न खोजेमा आपूर्ति बढी हुने भएकाले ठूला लगानीकर्ताले बिमा
कम्पनीको सेयरलाई प्रयोग गरेको लगानीकर्ताहरू बताउँछन् ।
बिमा कम्पनीहरूको प्रतिफल पनि
राम्रो तथा चुक्ता पुँजी पनि कम भएकाले बढ्ने सम्भावना धेरै भएकाले चलखेल गर्ने
औजार बनेको तर, बिमा
कम्पनीहरूको सेयर जसरी वढेको छ त्यसैगरी घटेको पनि छ साथै धेरै मूल्य आम्दानी
अनुपात भएका कम्पनीको सेयर लगानी गर्दा होसियार हुनु जरुरी छ विज्ञहरु बताउँछन्।
सोमबार नेप्सेमा कारोबार भएका
समूहगत परिसूचकमध्ये बैंकिङ २९.१३, बिमा ५६६.८३, विकास
बैंक ३९.३४, जलविद्युत्
४४.२१, होटल
७६.६३, वित्त
१८.०२ र अन्य समूह १.७३ अंकले वढेका छन् । तर, उत्पादन समूहमात्र ५.१२ अंकले
वढेको छ ।
यसैबीच, नेपाल
स्टक एक्सचेन्ज(नेप्से)ले क्लियरिङ बैंकको रूपमा नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ
बैंक र प्रभु बैंकलाई छनोट
गरेको छ । नेप्सेको संचालक समितिबाट स्वीकृत मापदण्ड र मुल्यांकन तालिकाअनुसार
सीडीएस एन्ड क्लियरिङले ति बैंकलाइ क्लियरिङ बैंकमा छनोट गरेका हुन् ।

No comments