पूर्व–पश्चिम रेलमार्ग निर्माण हुने
चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व- पश्चिम रेलमार्ग निर्माण हुने भएको छ । रेल विभागले निकुञ्ज छलेर नयाँ एलाइनमेन्टको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न प्रक्रिया अघि बढाएको बुझिएको छ । विभागका महानिर्देशकका अनुसार यहि जनवरीभित्र कन्सल्ट्याण्ट नियुक्त गरेर डिपिआर निर्माणको काम सुरु गर्ने बुझिएको छ । विभागले ६ वटा कम्पनीलाई सर्टलिष्टमा छनोट समेत गरिसकेको जानकारी प्राप्त भएको छ । उक्त कम्पनीमध्येबाट उपयुक्त एउटा कम्पनीले डिपिआर निर्माणको जिम्मा पाउनेछ । १० महिना डिपिआरको फाइनल रिपोर्ट रेल विभागलाई दिनुपर्नेछ । सुरुमा चितवन र पर्सा राष्ट्रिय निकुञ्ज हुँदै रेलमार्गको डिपिआर तयार पारिएको थियो । तर विश्व सम्पदा सूचीमा समावेश राष्ट्रिय निकुञ्ज हुँदै रेल संचालन गर्दा दुर्लभ वन्यजन्तुको वासस्थान नाश हुने भन्दै वन मन्त्रालयले विकल्प खोज्न रेल विभागलाई आग्रह गरेको थियो।
विभागले पुन गरेको अध्ययनले निकुञ्ज छलेर निजगढ हेटौंडा भरतपुरहुँदै नवलपरासी निस्कन सकिने रिपोर्ट दियो । सोही रिपोर्टका आधारमा रेलमार्गका लागि डिपिआर तयार पार्न लागिएको विभागले जनाएको छ । निकुज हुदै रेलमार्ग निर्माँण गर्दा करिव १ सय ८ किलोमिटर हुन्थ्यो भने अब करिव १ सय ३६ किलोमिटर हुने बताइएको छ । पुरानो रुट रौतहटबाट बाराको सिमरा हुदै ठोरी आएर चितवन छिर्थ्यो । अब रौतहटबाट निजगढ हुँदै हेटौडा जाने र त्यहाँबाट चितवनतर्फ नयाँ रुट ल्याएको हो । चितवनको लोथर हुदै छिर्ने रेल टाँडी र सौराहाको वीचबाट वीस हजारी तालको दक्षिणबाट भरतपुर निस्कनेछ । सुरुमा रेलमार्गको डिपिआर तयार पारेको भएपनि वन तथा वातावरणीय हिसावे नमिल्ने भएपछि निकुञ्ज छलेर नयाँ डिपिआर तयार पार्न लागिएको हो । पूर्व पश्चिम ९ सय ४५ किलोमिटर (थपघट हुन सक्ने)रेलमार्गको एक बर्षभित्र डिपिआर फाइनल उनले जानकारी दिए। डिपिआर फाईनल भएपछि मात्रै रेलमार्ग निर्माणको मोडालिटी तयार हुनेछ ।
पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि १० खर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पर्याप्त बजेट र नयाँ प्रविधि प्रयोग भए पाँच वर्षमा रेलमार्ग निर्माण हुने पक्का रहेको विभागले जनाएको छ । यो रेलमार्ग स्ट्याण्डर्ड (एडभान्स) गेजमा निर्माण गर्न लागिएको विभागले जानकारी दिएको छ ।


No comments