Add

Add

टिष्टुङ महोत्सव सफल पार्न संस्थागत रुपमा सघाउने


टिष्टुङ महोत्सव सफल पार्न थाहा नगर स्थित कुन्छाल होमस्टे संचालकहरुले संस्थागत रुपमा सघाउने भएका छन् । महोत्सवको विषयमा पर्यटकीय गाउँ कुन्छालमा भएको छलफलमा यस्तो निर्णय भएको बुझिएको छ । महोत्सव मूल आयोजक समितिले ऐतिहाँसिक तथा साँस्कृतिक सम्पादा भएको कुन्छाललाई होमस्टेको गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै महोत्सवको प्रमुख आकर्षणका रुपमा अघि सारेपछि होमस्टे व्यवसायीहरु पनि यस कार्यमा उत्साहका साथ लागि परेको बुझिएको छ ।

मकवानपुरको थाहा नगरपालिका बज्रवाराही (टिष्टुङ) मा संचालन हुने महोत्सवका लागि स्थानीयहरुले नै लगानी गरेर शुरु गर्ने भएका छन् । टिष्टुङको ऐतिहाँसिक तथा पर्यटकीय ‘प्रडक्ट’लाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समारोह समिति २०७५ का संयोजकले जानकारी दिए ।

आफ्नो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउनको लागि थाहा नगरपालिका वडा नं. १, ५ र ६ टिष्टुङका अगुवाहरु आफूआफूबीच पैसा उठाएर महोत्सवकै आयोजना गर्दैछन् । सन् २०१८ का लागि पर्यटकीय गन्तव्यको रुपमा घोषणा भएको कुन्छाल गाउँ समेत रहेको यस क्षेत्रका अगुवाहरुले आफ्नो क्षेत्रको ‘पर्यटकीय प्रडक्ट’ पर्यटन बजारसम्म मार्के्टिङ गर्ने उद्देश्यले महोत्सवकै आयोजना गर्न लागेका हुन् 

प्रारम्भमा महोत्सव संचालनका लागि गठित सचिवालयमा रहेका १५ जनाले जनही २०/२० हजारका दरले पैसा जम्मा गर्ने भएका छन् । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, सम्बृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारा सहित तय भएको महोत्सव अब २४ देखि २७ असोजसम्म टिष्टुङको सरस्वती बजारमा संचालन हुने भएको छ ।

महोत्सव संचालन गर्नका लागि टिष्टुङको बजार क्षेत्रमा हुने उक्त महोत्सवका लागि सबै स्थानीयहरुले आर्थिक रुपमै सघाउने भएकाछन् । सरस्वती बजार व्यवस्थापन समिति र नेपाल संवत् ११३९ को मूल आयोजक समितिको संयुक्त आयोजनामा टिष्टुङ महोत्सव संचालन हुन लागेको हो । महोत्सवमा करिब एकसय ६० स्टल रहने छन् । यि मध्ये अधिकांश स्टल बजारकै पसलहरु हुनेछन् । ‘अरु प्रवद्र्धनात्मक स्टलहरु ६० वटाजति थप्छौं’– मूल आयोजक समितिले  बताएको छ  ।

महोत्सवमा राखिने पसल बाहेकका थप हुने स्टलहरु अधिकांश प्रवद्र्धनात्मक हुने नेपाल संवत् ११३९ मूल आयोजक समितिका संयोजक तथा महोत्सव मूल आयोजक समिति सचिवालय सदस्य प्रमोद जोशीले बताए । टिष्टुङमा लिच्छवीकालिन शिला लेखहरु रहेका छन् । ति शिलाहरुमा टिष्टुङको चर्चा छ । यस कारण पनि यो ठाउँ ऐतिहाँसिक भएको प्रष्ट हुने उनको भनाई छ । टिष्टुङ शहरको रुपमा रहेको यहाँ पुराना दरवार तथा अड्डाहरुको भग्नावशेष रहेकोले अनुसन्धानकर्ताहरुका लागि यो ठाउँको थप महत्व रहेको महोत्सव आयोजक समितिले जनाएको छ । कुल २१ लाख ५० हजार रुपियाँको लागत अनुमान गरिएको महोत्सवमा स्थानीय वित्तिय संस्थाहरु, व्यवशायी, आयोजक समिति लगायत स्थानीयहरु आफै लगानी जुटाउन कस्सिएकाछन् ।




No comments

Powered by Blogger.