नवीकरण विना संचालित क्रसर उधोग बन्द गरिदै
नविकरण विना नै गत केहि वर्ष देखि संचालन भइरहेका मकवानपुरका क्रसर उद्योगहरु बन्द गरिएको सम्बन्धित निकायले जानकारी दिएको छ । जिल्ला समन्वय समितिका कर्मचारी र स्थानिय प्रशासनको मिलेमहतोमा नविकरण नभएता पनि संचालन हुँदै आएका मकवानपुरका क्रसर उद्योगहरु प्रहरीको एक्लो प्रयासमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कुनैपनि उद्योग, कलकारखाना नविकरण नगरी संचालन गर्न नमिल्ने नियम रहेको भएपनि नविकरण नै नगरी क्रसर उद्योगहरु संचालनमा भइरहेको र विधुतको रकम समेत नतिरेको पाइएकाले बन्द गरिएको मकवानपुरका प्रहरी उपरिक्षकले बताएका छन् ।
सबै क्रसर उद्योगमा प्रहरी खटाएर क्रसर उद्योगका कागजातहरु ल्याउनका लागि निर्देशन दिइएको बताउँदै सबैको जनगुनासो आएकाले क्रसर उद्योगमा प्रहरी खटाएर नविकरण गरेर मात्र चलाउनका लागि निर्देशन दिइएको जिप्रका मकवानपुरले जनाएको छ । एक हप्ता भित्रमा सबै क्रसर उद्योगका कागजपत्र समेत ल्याउन समेत निर्देशन दिईएको बुझिएको छ । नविकरण बिनाका क्रसर उद्योगहरु बन्द गरेसंगै अरु तीन वटा बालुवा उत्पादन गर्ने उद्योग पनि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।
हेटौंडा १४ मयुरधाप, हेटौंडा १६ हटिया र बकैयाको हात्तिसुढेमा रहेको बालुवा उत्पादन गर्ने फिरफिरे उद्योग पनि बन्द गरिएको निकायले जनाएको छ । बालुवा उद्योगको आफ्नै मापदण्ड रहेको छ । त्यो मापदण्ड कसैले पनि पुरा नगरेकाले बन्द गरिएको हो । स्थानिय तहसंगको सहकार्यमा क्रसर उद्योगहरु बन्द गरिएको बुझिएको छ ।
खोला उत्खनन्को बिषयमा स्थलगत अनुगमन समितिले नबिकरण नभएका क्रसर उद्योगहरु बन्द गर्नुपर्ने, क्रसर उद्योगमा थुपारीएका ढुङगा, गिट्टी, वालुवाहरु जफत गर्नुपर्ने, क्रसर उद्योगमा नदिजन्य सामाग्रीहरु लैजान नपाउने भनेर प्रतिबेदन स्थानिय प्रशासनलाई दिएको छ । त्यसको ठिक बिपरित खोला उत्खनन् गरिएपछी अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयले जिल्ला समन्वय समितिका समन्वय अधिकारीलाई अहिले पनि अनुसंधान गरिरहेको सम्बन्धित पक्षले जनाएको छ ।

No comments